गण्डकीः पोखरामा ऐतिहासिक २६ कुरिया फोटोकथा प्रदर्शनी हुने भएको छ । नेपाल बेस्ट मेनेजमेन्टको व्यवस्थापनमा यही भदौ १६ गते रानीपौवा अवस्थित भगवती दलगण प्राङ्गणमा एकदिने २६ कुरिया फोटोकथा प्रदर्शनी गर्न लागिएको कार्यक्रम संयोजक राजन श्रेष्ठले जानकारी दिए ।
१८औँ शताब्दीको शुरुमा कास्कीका अन्तिम राजा सिद्धिनारायण शाहले भक्तपुर (ख्वप)का अन्तिम राजा रणजीत मल्लदेवसँग व्यापार तथा मैत्री सम्झौता गरी २६ कुरिया जग्गा उपलब्ध गराइ भक्तपुर, ललितपुर र काठमाडौंका नेवारहरू ल्याएर पोखरामा बजार शुरुवात गरेको इतिहास छ । त्यही २६ कुरिया अन्तर्गत हाल पोखराका गणेशटोल, नालामुख, भीमसेनटोल, भैरवटोल, मोहरियाटोल र तेर्सापट्टि टोल पर्दछन् ।
तत्कालीन समयमा ल्याइएका नेवार विशेषतः व्यापारी, शिल्पी, कालीगढ रहेको र शुरुमा करिब एक सय ५० जनालाई बसोबास गराइएको दस्तावेजमा उल्लेख छ ।
विक्रम संवत् १८२६ मा भक्तपुरका राजा रणजीत मल्लयुद्धमा हारेपछि ठूलो सङ्ख्यामा नेवार पोखरामा आएको र उक्त सङ्ख्या सात सय पुगेको छ । पोखरा आएका २६ कुरियामा बसोबास गर्ने नेवार आफ्ना मौलिक कला, परम्परासँगै जात्रा, पर्व मनाएर व्यापार विस्तार गर्ने गरेको र उनीहरु पोखरामा आएसँगै यहाँको सामाजिक, आर्थिक, धार्मिक एवम् सांस्कृतिक विकासले गति लिएको मान्निछ ।
पोखराका यिनै ऐतिहासिक सत्य तथ्यलाई फोटो कथाका माध्यमबाट देखाउन खोजिएको कार्यक्रम संयोजक श्रेष्ठले जानकारी दिए । पोखराको तत्कालीन इतिहासको कल्पना गरेर आयुुष श्रेष्ठले तयार गरेका २० वटा फोटाकथा प्रदर्शनीमा राखिने उल्लेख गर्दै उनले यसअघि काठमाडौंमा पनि प्रदर्शन गरिएको बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies