–त्रिपुरा खरेल
परतन्त्रबाट स्वाधीन भएको दिन
आकाशलाई बेलुनले ढाकेको छ
हिलियम ग्यास भरेर
डोरीले मुख बाँधेका स्वतन्त्रताका बेलुनहरू
हावामा कावा खेल्दैछन्
स्वतन्त्रता दिवस ....!
झण्डा र गुब्बाराको भाउ चुलिएर माथि पुग्यो
तल जमिनका टुक्राहरूमा
स्वतन्त्रताका डोरीहरूले
पाता फर्काएका मुर्ख मान्छेहरू
जमीनमा उत्तानो परेका छन्
स्वतन्त्रताको फकुन्डोमा अलमलिँदा
आमाको काख रित्याइयो
उनको आँसुले न्याय पाएन
अर्को जन्ममा न्याय पाउन
आमाको बेदनाले ईश्वर पुकार्दैछ
हिलियम भरिदिएको तिनको मन मुटु
मुख बाँधेको बेलुन सरह भएको छ
स्वतन्त्रताका प्रतीक बनाइएका बेलुनले
मुख थुनिएर निस्सासिनु पर्ने !
बेलुन मात्र होइन
स्वतन्त्रताका प्रतीक फुटबललाई
बुट लगाएका खुट्टाहरूले
चारै दिशामा गुडकाउँदै छन्
बुटभरी हिलियम ग्यासका च्याम्बर छन्
अन्धो फूटबलले भेउ नपाउँदा
बुटहरू ढाडहरूमा बजारिन थालेका छन्
फ्लाइङ् किक यसैलाई भनिदोरहेछ
लुँडोले भाँडा माझ्दै गरेको सानो बालकले
हिलियम ग्यास भरिएको मनले
उडान भरेर
स्वतन्त्रता दिवसको फुटबल हेर्छ
उसले पाएको लात र फुटबलमाथिको प्रहार
उसले हातको मस्को खेलाउँदै तुलना गर्छ
बलात्कृत बालिकाको रक्तस्रावले
सडक रक्ताम्य भएको छ ।
बलात्कारको अर्थ नबुझेकी बालिका
असहनीय पीडाले छट्पटिँदै छे
बालिकाकी आमा स्वतन्त्रता दिवसको दिन
अन्धा बहिरा र लाटा
फुटबल र बेलुनहरूसँग न्यायको भीख माग्छिन्
न्याय ! आफै मुख बाँधेर उडेका बेलुन सरह
हिलियम ग्यासले उडिरहेको छ
नाङ्गा रुगरुगे पहाडहरु
सडकमा गाडिएका झण्डा हेर्दै
आफू चिथारिएर नाङ्गिएको शरीर हेर्छ
स्वतन्त्रताका झण्डा बोकेका
फुटबल र बेलुनहरूले बतासिँदै
ब्ल्याक आउट भएका
शहर परिक्रमा गर्दैछन्
हावामा मिसिएका अश्रुग्यासले
स्वतन्त्रताका बुलन्द आवाजहरूलाई
हिलियम बनाएर बेलुनभित्र थुनेको
स्वतन्त्रताको रमिता हेरेर
खोलाको बगरमा गिट्टी कुट्दै गरेको
पराधीन भएर दीन अवस्थामा रहेको
वृद्धले सहिदको चिहान हेर्दै सोध्छ
सहिद ! तिमीले ल्याएको स्वतन्त्रता
मुख बाँधिएका परचालित
बेलुन र फुटबलका लागि मात्र हो ?
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies