नेपाली सांगीतिक क्षेत्रमा पछिल्लो समय चर्चामा रहेको नाम हो बेनिशा पौडेल । उनले गाएका अधिकांश गीतहरु चर्चामा रहेका छन् । ‘नछुटोस्’, ‘पर्दैन पर्दैन मलाई फकाउन’, ‘पटुकी बेरेको’, ‘जहाँ छुन्छु’लगायत दुई सयभन्दा बढी गीतमा आवाज भरिसकेकी बेनिशाले आधा दर्जनभन्दा बढी फिल्मका गीतमा समेत स्वर दिएकी छन् । फिल्म ‘चुरीफुरी’को टाइटल गीत उनैले गाएकी हुन् । त्यस्तै नाईँ नभन्नु लको ‘क बाट कछुवा’, गत साता प्रदर्शनमा आएको फिल्म ‘गणपति’को ‘ख्याल ख्यालमा’लगायत उनको गीतहरु चर्चामा रहेका छन् । गायिका पौडेलले विभिन्न रियालिटी शोमा भाग लिएकी छन् । उनले सन् २०१६ कि सुरशाला आइडलमा प्रतिस्पर्धा गरेकी थिइन् भने सन् २०२२ मा नेपाल आइडलमा टप सेभेनबाट आउट भएकी हुन् । उनै प्रतिभाशाली गायिका बेनिशा पौडेलसँग मध्यान्ह दैनिकका लागि सानु श्रेष्ठले गरेको कुराकानीको सम्पादित अंश :
नयाँ के ल्याउँदै हुनुहुन्छ ?
मेरो नयाँ गीतहरु रेकर्ड भइरहेका छन् । तीजका लागि ३–४ वटा गीतहरु पनि लिएर आएको छु । पछिल्लो समय म आफ्नै युट्युब च्यानलमार्फत पनि आफ्ना गीतहरु पस्किरहेको छु ।
गीतसंगीतको क्षेत्रमा लाग्नुको कारण ?
गीतसंगीतमा लाग्नुको कुनै कारण नै छैन । म चार वर्षको हुँदा नै दमकमा भएको महोत्सवबाट गीत गाउन थालेको थिएँ । स्कुलमा पनि गीत गाउने, घरमा पनि गीत गाउने भएकाले गीत संगीतमा नै रस भिज्यो । त्यसैको प्रभावले अहिले गायनमा आएको हुँ । यसको अर्को कुनै कारण नै छैन ।
कस्तो रचनाले स्रोतालाई रिझाउँछ जस्तो लाग्छ ?
मन छुने र गहकिला शब्दहरु भएको गीतहरुले दर्शक स्रोतालाई रिझाउँछ जस्तो लाग्छ । गीतका लागि सबैभन्दा महत्वपूर्ण भनेको गीतका शब्द हुन् । शब्द संगीतको संगम भएको खण्डमा गीत राम्रो बन्छ । अर्को कुरा गीतले कुनै कथा पनि बोकेको हुनुपर्छ जस्तो लाग्छ मलाई ।
अहिले स्रोताका लागि मात्र गीत बनाएर पुग्दैन । दर्शकका लागि पनि भिडियो बनाउनुपर्ने अवस्था छ । लगानी कसरी जुटाउनु हुन्छ ?
यसका लागि गीतमा लगानी गर्ने लगानीकर्तालाई थाहा हुन्छ । हामीले भने गीत गाउने मात्रै हो । हामीले त अडियो बनाउनका लागि मिहिनेत गर्ने हो ।
नेपाली गीतसंगीत डिजिटल बजारमा प्रवेश गरिसकेपछिको अवस्थालाई कसरी लिनुभएको छ ?
यो त एकदमै सकरात्मक भएको जस्तो लाग्छ । पहिला सिडी क्यासेट बोकेर रेडियो, टेलिभिजन जानुपथ्र्यो भने यसैको बिक्रीको आधारमा गीत चलेको नचलेको थाहा हुन्थ्यो । अहिले त दर्शकले हेरेको भरमा कुन गीत कति चल्यो भन्ने थाहा हुन्छ । त्यस कारण पनि मलाई डिजिटल बजार राम्रो लाग्छ । डिजिटल पारदर्शी पनि छ ।
डिजिटल प्लेटफर्मले मात्र लगानी उठाउन सम्भव छ त ?
राम्रो गीत भएको खण्डमा मज्जाले सकिन्छ । गीत राम्रो भएको खण्डमा लगानी उठाउन त्यति गाह्रो छैन ।
नेपाली गीतको बजार र प्रमोसनमा आएको बदलावप्रति तपाईंको धारणा ?
समयअनुसार हरेक कुराहरु परिवर्तन हुँदै आएका छन् । यसको प्रभाव गीत संगीतमा पनि परेको देखिन्छ । नेपाली गीत संगीतको प्रमोसन पछिल्लो समय सभा सम्मेलन तथा प्रेसमिटको साटो टिकटक, युट्युब तथा सामाजिक सञ्जालबाट पनि भइरहेको पाउँछु । यसलाई पनि एउटा सकरात्मक पाटोका रुपमा मैले लिएको छु । किनभने समय र प्रविधिको प्रयोग गर्न जान्नुपर्छ जस्तो लाग्छ ।
पछिल्लो समय टिकटकले पनि प्रमोसनमा साथ दिएको छ, तपाईंलाई के लाग्छ ?
टिकटक कलाकारहरुका एउटा डिजिटल प्लेटफर्मका रुपमा राम्रो माध्यम बनेको छ । यसबाट युट्युबमा आफ्नो गीत आएको भनेर आफ्ना स्रोता तथा दर्शकमाझ मज्जाले कुराकानी गर्न सकिन्छ । यसबाट गीत रिलिज भएको कुरालाई दर्शकमाझ जानकारी दिन सकिन्छ भने टिकटकमा लाइभ बसेर आम्दानी पनि गर्न सकिन्छ । म पनि कहिलेकाहीँ टिकटक चलाउँछु । यसबाट राम्रो तरिकाले प्रमोसन ग¥यो भने राम्रै हुन्छ भन्ने मलाई लाग्छ ।
पैसा तिरेर मिलियन फलोअर्स या भ्युजको फुर्ति लगाउनेहरुलाई के भन्न चाहनु हुन्छ ?
शुरु शुरुमा मान्छेहरुका रहर हुन्छन् । पैसा तिरेर थुप्रै भ्युज किनौं भन्ने । तर मलाई के लाग्छ भने त्यसले उसलाई आत्मसन्तुष्टि दिँदैन । यस कारण मलाई यो ठिक लाग्दैन । दर्शकले हेरिदिएर मन पराएको भ्युज जस्तो किनेको जस्तो हुँदैन ।
तपाईंका चर्चित गीतहरुको नाम लिनुपर्दा ?
मेरो थुप्रै गीतहरु चलेका छन् । मैले शुरुवातको समयमा गाएको गीत ‘हाम्रो यो माया कहिलै नछुटोस्’, ‘पर्दैन पर्दैन मलाई फकाउन’, ‘जहाँ छुन्छु त्यहि पाउँछु’लगायत थुप्रै रहेका छन् । मलाई फिल्म ‘नाई नभन्नु ल ६’ को ‘क माने कछुवा’, यही फिल्मको अर्को गीत ‘दिउँला माया’, अहिले रिलिज भइरहेको फिल्म ‘गणपति’मा समावेश ‘ख्याल ख्यालमा’ पनि मन पर्ने गीत हो । यिबाहेक अरु थुप्रै रहेका छन् ।
तपाईंले कस्तो खालको शब्द रोज्ने गर्नुभएको छ र अहिलेसम्म कस–कसको सिर्जनामा स्वर दिनुभयो ?
मेरो रोजाईमा सन्देशमूलक र स्टोरी वेशका गीतहरु पर्छन् । कुनै पनि गीत गाउँदा मान्छेको मन छुने शब्द होस् भन्ने चाहान्छु । अहिलेसम्म मैले नेपालमा नाम चलेका थुप्रै संगीतकार तथा गीतकारहरुको गीत गाएको छु । मैले उर्ग्रेन दोङ, दीपेश शर्मा, वसन्त सापकोटालगायत थुप्रैसँग सहकार्य गरेको छु ।
यो क्षेत्रमा टिकिरहन कत्तिको कठिन छ ?
सबैभन्दा राम्रो त आफ्नो वेश बनाउनुपर्ने हुन्छ । मलाई के लाग्छ भने घर बलियो बनाउनका लागि जसरी हामी वेश राम्रो बनाउँछौं, त्यसरी नै यसमा पनि राम्रो वेश बनाउन जरुरी हुन्छ । जति राम्रो तरिकाले आफूलाई चिन्दै र राम्रा गीतहरु गाउँदै गयो त्यति नै गीतसंगीतबाट जीविका चलाउन सकिन्छ । यदि आफूले राम्रो वेश बनाउन सकिएन भने त कठिन हुन्छ जस्तो लाग्छ । राम्रा गीतका शब्द, संगीत र स्वर भएको खण्डमा कालान्तरसम्म गीतहरु चलिहरन्छन् । जस्तै नारायण गोपालका गीतहरु अहिले पनि उस्तै राम्रा र मिठास छन् । किनभने त्यो समयमा उहाँको शब्द छनोट र संगीतहरु राम्रा थिए । हामीले पनि त्यसरी नै लाने हो भने यो क्षेत्रमा टिक्न गाह्रो छैन ।
समग्र गीतसंगीतको विकास र प्रवद्र्धनका लागि के गर्नुपर्ला ?
अहिले बजारमा आइरहेका छाडा र विकृति विसंगतिका गीतहरु विस्तापित गर्दै राम्रा र सन्देशमूलक गीतहरु निर्माण ग¥यौं भने अवश्य पनि गीत संगीतको विकास हुन्छ जस्तो लाग्छ । यसका लागि संगीतका सिर्जनाकर्ताहरुले राम्रा गीतहरु नै उत्पादन गर्न जरुरी छ । गीत संगीत राम्रो भएको र मेलोडी मिलेको खण्डमा आफैं गीतले उचाई लिन्छ भन्ने मेरो विश्वास हो । यसका लागि राम्रो गीतको सिर्जना र मिहिनेत गर्नुपर्ला जस्तो लाग्छ ।
अन्त्यमा आफ्ना स्रोताहरुलाई केही भन्न चाहानुहुन्छ ?
जतिले मलाई बेनिशा पौडेल भनेर चिनिदिनुभएको छ र मेरो गीतसंगीतलाई माया गरिदिनुभएको छ, अझै पनि माया गरिदिनुहोला भन्न चाहान्छु ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies