सिलगढी, दार्जिलिङ : युगेन्द्र-लक्ष्मीकान्त अन्तर्राष्ट्रिय अनुवाद पुरस्कार गुठी सिलगढी, भारतले प्रदान गर्न लागेको युगेन्द्र क्षेत्री अनुवाद अन्तर्राष्ट्रिय पुरस्कार वरिष्ठ अनुवादक एवम् साहित्यकार डा. अभि सुवेदीलाई प्रदान गरिने भएको छ । यो पुरस्कारमा नगद भारु २१ हजार राशिसहित स्मृति चिह्न प्रदान गरिनेछ । गुठीका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले सुवेदीलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
यसैगरी गुठीले लक्ष्मीकान्त जोशी राष्ट्रिय अनुवाद पुरस्कार अनुवादक एवम् वरिष्ठ सर्जक डा. गोकुल सिन्हालाई प्रदान गर्ने निर्णय गरेको छ । यो पुरस्कारमा नगद भारु ११ हजार राशिसहित सम्मानपत्र र स्मृति चिह्न प्रदान गरिनेछ । संवाद सञ्जाल परिवार चयन समितिको सिफारिसमा सिन्हालाई पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो । सो समितिमा ललिता जोशी, लतिका जोशी, युवराज काफ्ले, जीवन राणा, शरद छेत्री, शुक्रराज दियाली र खेम सापकोटा रहेका छन् ।
युगेन्द्र क्षेत्री अनुवाद अन्तर्राष्ट्रिय पुरस्कार आफ्ना श्रीमान युगेन क्षेत्रीको नाममा र लक्ष्मीकान्त जोशी राष्ट्रिय अनुवाद पुरस्कार आफ्ना पिता लक्ष्मीकान्त जोशीका नाममा सूचना संवाद सञ्जालकी सम्पादक साहित्यकार ललिता क्षेत्रीले स्थापना गरेकी हुन् ।
कविता, नाटक, निबन्ध र कला चेतनाका सन्धिस्थल डा. सुवेदी प्राज्ञिक चेत भएका व्यक्ति हुन् । नेपाली शिक्षा, सिर्जना, र प्राज्ञिक वृत्तमा उनको उपस्थिति रहेको छ । अराजकजस्तो जिन्दगी बिताउने डा. सुवेदी समालोचक, चिन्तक र समीक्षक हुन् । सफल अनुवादकका अलावा उनी कवि, नाटककार र निबन्धलेखक पनि हुन् ।
अंग्रेजी र नेपाली भाषामा बराबर कृतिका लेखक डा. सुवेदीको मूलतः समालोचना मुख्य विधा हो । उनी नेपाली भाषामा पाश्चात्य समालोचनाका नवचिन्तनलाई भित्राउनेमध्ये एक हुन् । यसैले उनलाई नवीन चेतनाको अग्रदूत पनि भनिन्छ । डा. सुवेदीका नेपाली लिटरेचर ब्याकग्राउण्ड एण्ड हिस्ट्री, पाश्चात्य काव्य सिद्धान्त, सिर्जना र मूल्यांकन, निबन्धमा उत्तरवर्ती कालखण्ड, साहित्य र आमवृत्त, निबन्ध र टुँडिखेल, कार्पेट टाँगिएको आकाश, माध्यम र रचना, अग्निको कथालगायतका कृतिहरू प्रकाशित छन् ।
यस्तै उनले अरस्तुको काव्य सिद्धान्तको नेपालीमा अनुवाद गरेका छन् । यस्तै उनले अंग्रेजी भाषामा विभिन्न फुटकर रचनाको अनुवादका अलावा ५१ कविका अंग्रेजीमा 'पोयमस् अफ द सेन्चुरी'को अनुवाद गरेका छन् । यस्तै उनका काठमाडौं ओडेसी, ड्रिम्स काठमाडौं, ड्रिम अफ पिच ब्लुसम्सलगायतका अनुवाद कृतिहरू प्रकाशित छन् ।
अर्का पुरस्कृत वरिष्ठ सर्जक एवम् अनुवादक डा. गोकुल सिन्हा सन् १९४० मा खरसाङ, दार्जीलिङमा जन्मिएका हुन् । कविता, लघुकथा, निबन्धमा कलम चलाउने डा. सिन्हाले बाइबल, गीताको नेपाली भाषामा अनुवाद गरेका छन् भने नेपाली रामायणको पहिलोपटक अंग्रेजी भाषामा अनुवाद गरेका छन् । ।
द रामायणा अफ भानुभक्त (२०१५) उनको प्रकाशित अनुवाद कृति हो । नेपाली, हिन्दी र अंग्रेजी भाषामा साहित्य सिर्जना गर्ने डा. सिन्हाको बिसाइड घलिब (१९८७), टेगोर (१९९७), द कुरान (१९८०, द फर्स्ट एभर इन नेपाल), द बाइबल (२००० र २००२, इन एशोसिएसन विथ द वर्ल्ड बाइबल ट्रान्सलेसन सेन्टर) र गीता (२००८, इन झ्याउरे, अ नेपाली फोल्क मिटर) रहेका छन् । यस्तै उनले अन्य थुप्रै फुटकर रचनाहरूको पनि अनुवाद गरेका छन् । उनका विभिन्न विधाका २५ पुस्तक प्रकाशित रहेका छन् ।
यसअघि युगेन्द्र क्षेत्री अन्तर्राष्ट्रिय अनुवाद पुरस्कारबाट प्रा. डा. गोविन्दराज भट्टराई र लक्ष्मीकान्त जोशी राष्ट्रिय अनुवाद पुरस्कारबाट जीवन नामदुङ पुरस्कृत भएका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies