तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : कतारमा गायन र नृत्य विधामा हुन लागेको गैरआवासीय नेपाली तारा सिजन चारको डिजिटल अडिसन बुधबारबाट खुला गरिएको छ । ‘नेपाली कला संस्कृतिको सम्मान गरौं, प्रवासमा रहेको प्रतिभाको खोजी गरौं’ भन्ने मूल नाराका साथ राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ गैरआवासीय नेपाली संघ कतार र तमु (गुरुङ) समाज कतारको संयुक्त आयोजनामा सम्पन्न हुन लागेको कार्यक्रमको डिजिटल अडिसन खुला गरिएको हो ।
गायन र नृत्य गरी दुई विधाबाट अलग अलग विजेता छानिने प्रतियोगीतामा पहिलो अडिसन डिजिटलरूपमा लिइने छ । डिजिटल अडिसनबाट ४०/४० जना तथा समूहलाई दोस्रो राउन्डमा लगिने कार्यक्रमका निर्देशक रोशन अर्यालले मध्यान्ह दैनिकसँगको कुराकानीमा बताए । डिजिटल अडिसनका लागी प्रतियोगीहरूले बिना ट्र्याकमा बढीमा ३ मिनेटसम्मको कुनै पनि विधाको गीत र नृत्य विधाका प्रतियोगीहरूले ४ मिनेटसम्मको गीतमा प्रष्ट भिडियो खिचेर ३३४३१३७१ नम्बरको ह्यासपमार्फत पठाउनु पर्नेछ । गीत नेपाली भाषामा हुनुपर्नेछ ।
डिजिटल अडिसनबाट छनोटमा परेकाहरूको नतिजा फोन र सूचनामार्फत जानकारी दिइने भएको छ । १ डिसेम्बर शुक्रबार सनैयामा अवस्थित फूलबारी रेस्टुरेन्टमा पहिलो चरणको प्रतिस्पर्धा गराइनेछ । दोस्रो चरण २२ डिसेम्बर, तेस्रो चरण १२ जनवरी २०२४ र ग्राण्ड फिनाले २ फेब्रुअरी २०२४ मा सम्पन्न गर्ने कार्यतालिका रहेको छ । दोस्रो, तेस्रो र ग्राण्ड फिनालेका लागि स्थान र समयका बारेमा एक हप्ता अगाडि सूचनामार्फत जानकारी गराइने अर्यालले बताए ।
गायन विधाका विजेताले १ लाख ८१ हजार र नृत्य विधाका विजेताले १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी प्राप्त गर्नेछन् भने उपविजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । कार्यक्रमबाट भएको मुनाफाको ६५ प्रतिशत रकम राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरिने आयोजकले जानकारी दिएको छ ।
यसभन्दा अगाडि सन २०१०/११ र १५ मा सफलतापूर्वक प्रतियोगिता सम्पन्न भइसकेको अवस्थामा सिजन ४ पनि भव्यरूपमा सम्पन्न हुने विश्वास आयोजकको रहेको छ । डिजिटल राउन्डमा गायन विधाबाट छनोट भएका प्रतियोगीहरूले कतारी रियाल १५१ र नृत्य विधाबाट छनोट भएका प्रतियोगीहरूले कतारी रियाल १०१ दर्ता शुल्क लाग्नेछ ।
डिजिटल चरणमा निर्णायकका रूपमा कतारमा नृत्य तथा गायन विधामा ख्याती कमाएका अग्रज व्यक्तित्व रहेका छन् भने दोस्रो चरण प्रवेशसँगै नेपालका चर्चित कलाकारहरूसहितको निर्णायक टिम रहने भएका छन् । आयोजक दुवै संस्थाको मंगलबार साँझ बसेको बैठकले मूल आयोजक समिति सहित विभिन्न उपसमिति गठन गरेको छ । मध्यान्ह राष्ट्रिय दैनिक उक्त प्रतियोगिताको सञ्चार सहयोगीका रूपमा रहेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies