सिनेमा क्षेत्रका बहुआयामिक व्यक्तित्व हुन् काजी लिम्बू । चलचित्र, टेलिचलचित्र, विज्ञापन, वृत्तचित्र, लघु चलचित्र जुनसुकै विधामा अब्वल काजी लिम्बू निर्देशकका अलवा लेखक र सम्पादक समेत हुन् । कामलाई कामकै रुपमा लिने उनले कहिले सानो ठूलो काम भनेनन् निरन्तर कर्मप्रति इमान्दारिताका साथ लागिरहे । ‘आफ्नो मान्छे’ सिनेमाबाट स्थल सहायकको रुपमा उनको यात्राको शुरुवात भयो । त्यसपछि प्रावधिक हुँदै सहायक निर्देशक, मुख्य सहायक निर्देशक हुँदै ठुलो पर्दाको सिनेमा निर्देशकसम्मको पहिचान बनाउन सफल लिम्बूले गौंथली, अजम्बरी माया, आफनोपन, जंगेमा प्राविधिकको रुपमा काम गरिसके पश्चात उनले जेठोकान्छो, नौडाँडापारी, चित्कार, रमझम, समर्पण, ग्रहण, अहंकार जस्ता सिनेमामा सहायक निर्देशक, मुख्य सहायक निर्देशकको रुपमा काम गरिसकेका छन् । हिन्दी र पाकिस्तानी सिनेमामा समेत काम गर्न भ्याएका छन् । दर्जन बढी विज्ञापन तथा वृतचित्र एवम् म्युजिक भिडियो निर्देशन गरिसकेका युवा निर्देशक काजी लिम्बूले मध्यान्ह दैनिकका लागि सानु श्रेष्ठसँग गरेको कुराकानीको सम्पादित अंश :
चाडपर्वको मेसोमा नयाँ के गर्दै हुनुहुन्छ ?
चाडपर्वको बेला मैले यो पटक धेरै भन्दा धेरै बाह्य भाषाका सिनेमा हेर्ने र त्यसमा प्रयोग भएका प्रविधिको अनुशरण गर्न आफूलाई प्रेरित गर्छु भन्ने प्रण गरेको छु ।
चलचित्र, टेलिचलचित्र, विज्ञापन, वृत्तचित्र, लघु चलचित्र जुनसुकै विधामा काम गर्नुहुन्छ, समय कसरी मिलाउनुहुन्छ ?
सबै विधामा फरक–फरक तवरले समय निर्धारण गरिएको हुन्छ । त्यही अनुसार माइन्डलाई सेटअप गर्छु र विषयवस्तुमाथि केन्द्रित गर्ने गर्दछु, त्यही भएर सजिलो नै भएको छ ।
यति धेरै विधामा काम गर्नुहुन्छ, आफूलाई सहज लाग्ने काम चाहिँ कुन हो ?
म लेख्दा एउटा अमूर्त स्केच लिएर बसेको हुन्छु भने निर्देशन गर्दा त्यही अमूर्त स्केचलाई मूर्त कसरी गराउने हो भन्ने सोचमा हुन्छु । सम्पादनमा बस्दा त्यो स्केचलाई कसरी जीवन्त बनाउने भनेर घोत्लीरहेको हुन्छु । मलाई सबै काम प्यारो लाग्छ ।
सिने क्षेत्रका बहुआयमिक व्यक्तित्व हुनुहुन्छ, कसरी सम्भव भयो जस्तो लाग्छ ?
वास्तवमा म चलचित्रमा निर्देशक बन्न आएको थिएँ, लेखनमा रुची भएको र नाटक पनि लेख्ने भएको हुँदा सिनेमा लेखनतर्फ ढल्किएँ । केही फिल्ममा लेखन सहयोगीको रुपमा काम पनि गरें । २०६२–६३ को बृहत् जनआन्दोलनपश्चात नेपाली सिनेमा क्षेत्र आमूल परिवर्तन आयो, न्यु स्कुल र ओल्ड स्कुल प्रत्यक्ष प्रभाव देखियो । त्यो बेला अहिलेजस्तो जिजिविषाको अन्य माध्यम कम हुने गथ्र्यो । अतः मैले टेलिभिजनमा प्रोगाम प्रोडुसरका रुपमा अनुबन्धित भइ काम गर्न थालें । फेरि नयाँ अध्याय शुरु भयो । त्यहीँबाट प्रोगाम प्रोडुसर, कार्यक्रमको–कोर्डिनेट, कन्टेन्ट राइटर, सम्पादक हुँदै फेरि सिनेमामा नै फर्किएको छु । यो अनुभवले पनि हो भन्ने लाग्छ ।
नाटक लेखन, निर्देशनमा पनि कुनै समय सक्रिय देखिनु भयो, अहिले के छ ?
मैले व्यावसायिक नाटक लेखन निर्देशन नगरेको धेरै भयो, अहिले त्यातातिर ध्यान दिएकै छैन ।
सिनेमा लेखन र निर्देशनमा के भिन्नता छ ?
एकदमै गहन विधा हुन् दुबै । लेखनमा भाषाको दख्खल भएको हुनुपर्छ, चाहे त्यो क्लिष्ट होस् या सरल । निर्देशनमा भिजनको गहिराइता हुनै पर्दछ । लेखन र निर्देशकीय क्षमता, मानवीय संवेगता र सम्वेदना छुन सक्ने हुनु पर्दछ ।
सिनेमामा आवश्यक सबै विषयको प्राविधिक ज्ञान भएको व्यक्ति तपाईं, अहिलेको प्रविधिलाई कसरी लिनु भएको छ ?
हिजोको एनालगदेखि आजको डिजिटालाइजेसनसम्मको अनुभवलाई हेर्दा प्रविधिले ठूलो फड्को मारेको छ । नयाँ, नयाँ प्रविधिहरु आइरहेका छन् । हाम्रो प्राविधिक तथा मेकरहरु पनि प्रविधिमैत्री हुन थालेका छन् । रेड सिरिज, एरी सिरिजका अत्याधुनिक क्यामराहरु र त्यसलाई अपरेट गर्न सक्ने प्राविधिकि हाम्रो इण्डष्ट्रिजमा हुनु सम्पन्नताको लक्षण हो ।
सबै कुराले सम्पन्न भएपनि नेपाली सनेमा उद्योग किन निरन्तर ओरालोतिर छ ?
वर्षमा ५–६ सिनेमाबाहेक अन्यले पानी भन्न पाउँदैनन् । समस्या के छ भने हामी २१औं शताब्दीमा छौं । सूचना र प्रविधिले सिंगो संसार नै एउटा गाँउघर झैं भइसक्यो, हरेक राष्ट्रका सिनेकर्मीले नयाँ–नयाँ कथा र प्रविधिको एक्सपेरिमेन्ट गरेर सिनेमा बनाउन थालेका छन् । तर हामी भने उही घिसापिटा कथा वस्तु उही फर्मुलावाला सिनेमा बनाउन नै व्यस्त छौं । यहिँनेर हामी चुक्छौं र असफल हुन्छौं । तर सफल हुने फिल्मकर्मी पनि छन्, जस्ले दर्शकको रुची अनुसार अनुसन्धान गरेर सिनेमा बनाउँछन् ।
नेपाली चलचित्रले किन अन्तर्राष्ट्रिय बजार अहिलेसम्म पाउन नसकेको होला ?
विश्व सिनेमाको बजारको आयातन निकै ठूलो छ । तर हाम्रो उपस्थिति भने तपाईंले भने झैं न्यून छ । यसमा हामी मेकरले कसरत गर्न त्यतिकै जरुरी देख्छु । मेरो विचारमा हामीले बाह्य बजारको प्रविधि र प्राविधिकसँग प्रतिस्पर्धा गर्न कठिन छ । अतः मौलिक विषयवस्तुको छनोट गरेर यथार्थपरक हिसाबले प्रस्तुति दिन सकेमा पक्कै पहिचान मिल्नेछ भन्नेमा विश्वस्त छु । र, राज्यले नेपाली सिनेमा, कला, संस्कृति र कलकारलाई राष्ट्रको गहना ठान्छ भने विभिन्न मुलुकसँग समन्वय र सहकार्य गरी नेपाली सिनेमालाई प्रदर्शन गर्ने मार्गचित्र येथेष्टरुपमा बनाउन पर्छ । अनिमात्र नेपाली रजतपटले फड्को मार्न सक्छ ।
अन्त्यमा के भन्न चाहनु हुन्छ ?
सबै नेपाली फिल्म चल्नुपर्छ भन्ने मान्यता राख्ने मान्छे हो म, सबै मेकरको फिल्म चलोस् । संसारभरिका सिनेमाले नेपाली सिनेमा क्षेत्रसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आओस् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies