काठमाडौं : गीतकार सुक बहादुर गुरुङ आफैंमा सरल जनमानसको भाषालाई उनेर उत्कृष्ट गीत लेख्ने सर्जक हुन् । उनले हालै मौलिक संस्कृतिलाई समेटेर "मन त बुढो हजुर हुन्न रैछ नि" बोलको कौडा (चुट्का) गीत सार्वजनिक गरेका छन् ।
गीतकार गुरुङले आफ्नो सांगीतिक यात्रामा धेरै सुगम आधुनिक गीतहरु दिई सकेका छन् । गुरुङको महसुस-१ , महसुस-२ गीति एल्बमका साथै धेरै ख्याति प्राप्त गायक गायिकाहरुले उनको गीतमा स्वर दिएका छन् । गीति एल्बमलाई निरन्तरता दिने क्रममा उनले यसपटक मौलिक संस्कृतिलाई अनुभूत गराउने कौडा गीतलाई महसुस-३ मा समेटेका छन् ।
"मन त बुढो हजुर हुन्न रैछ नि" गीतमा गीतकार गुरुङले सबैको जीवनमा घटिरहने तथा मानव अन्तरमनको भावनालाई गीतमार्फत मिठो शैलीमा प्रस्तुत गरेका छन् । जसमा प्रख्यात वरिष्ठ गायक राजेश पायल राई, चर्चित गायिका तारा श्रीष मगरलगायत गायक गायिकाहरुको मिठो स्वर सजिएको छ । कौडामा आधारित यस गीतमा कुशल गायक तथा संगीतकार राम कुमार गुरुङ (आर के) को सुमधुर संगीत रहेको छ ।
यस गीतलाई मनाङ गुरुङले निर्देशन गरेका छन् भने सन्तोषी गुरुङको रोचक नृत्यको कोरियोग्राफी देख्न सकिन्छ । जसमा गुरुङ फिल्मका चर्चित वरिष्ठ कलाकारहरु माओत्से गुरुङ र राजनी गुरुङको सशक्त अभिनयले गीतको भिडियो सुन्दर बनेको छ । गुरुङ संस्कार संस्कृति झल्किने पोशाकसहित तमु समाज तनहुँ काठमाडौंको आमा बाबाहरुको सहभागीताले नेपाली मौलिकताको नमूना मुखरित भएको छ । छायाँकारमा नवराज उप्रेती छन् भने विष्णुहरी तिमल्सिनाले भिडिओ सम्पादन गरेको छन् । समग्रमा गीतले धेरै दर्शक स्रोताहरुको मन जित्न सफल हुनेमा गीतकार गुरुङ विश्वसत छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies