तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : गैरआवासीय नेपाली संघ (एनसीसी) कतार र तमु (गुरुङ) समाज कतारको संयुक्त आयोजनामा आयोजित ‘गैरआवासीय नेपाली तारा सिजन ४’को दोस्रो चरणको अडिसन शुक्रबार फितलो व्यवस्थापनका बीच सम्पन्न भएको छ । गायन र नृत्य विधाबाट अलग अलग गैरआवसीय नेपाली तारा चुन्ने लक्ष्य लिएर आयोजना गरिएको कार्यक्रमको दोस्रो चरणको कार्यक्रम निकै खल्लो भएको छ । यद्यपि गायन प्रतिस्पर्धाबाट १९ जना र नृत्य प्रतिस्पर्धाबाट १० जना तेस्रो चरणमा प्रवेश गरेका छन् ।
मेघा अडिसनमा देखिएका केही कमजोरी भन्दा दोस्रो अडिसनमा झनै बढी फितलो व्यवस्थापन देखियो । प्रतिस्पर्धीले निकै आकर्षक प्रस्तुति दिएको कार्यक्रमका लागि मेघा अडिसनदेखि दोस्रो अडिसनसम्म तयारी गर्न ३ हप्ताको समय राखेको आयोजक कार्यक्रमका लागि सुविधा सम्पन्न र सहज हलको व्यवस्थापन गर्नबाट चुक्यो । कार्यक्रममा पर्यवेक्षक पनि पुरै समय बसेनन् भने केही समयमै आएनन् ।
कतार च्यारिटीले करिब सय जना अट्ने हल निःशुल्क बिहान ९ बजेदेखि २ बजेसम्मका लागि उपलब्ध गराइदियो । तर कार्यक्रम निर्धारित समयभन्दा डेढ घण्टा ढिलो शुरु गरेका कारण उक्त हलमा कार्यक्रम समापन गर्न आयोजकले सकेनन् । कार्यक्रमलाई स्थानान्तरण गरेर च्यारिटीको हलबाट नज्माको अफगान ब्रोदर रेस्टुरेन्टमा पुर्याउन पर्यो । एक दर्जन प्रतिस्पर्धीले प्रस्तुति दिन बाँकी रहँदा हल स्थानान्तरण गर्दा कार्यक्रम अशोभनीय मात्र बनेन बिहान समयमा कार्यक्रम शुरु नगर्नुको नमिठो अनुभव पनि बटुल्यो । कार्यक्रममा आयोजक संस्थाका कार्यसमितिका केही र प्रतिस्पर्धी बाहेक आयोजकले गठन गरेको मूल आयोजक समिति र एक दर्जन उपसमितिका जिम्मेवार मानिसहरू पनि अनुपस्थित रहे l
लोभलाग्दो उपस्थितिसहित कार्यक्रम सम्पन्न गर्न चुकेको आयोजकले च्यारिटीको हलमा प्रतिस्पर्धीलाई उपलब्ध गराउने समय पनि फरक-फरक किसिमको थियो । कसैलाई ३ मिनेट तथा कसैलाई २ मिनेटमा सक्न आग्रह गरिएको थियो । कतार च्यारिटीको हलमै कार्यक्रम सम्पन्न गर्न निकै कोसिस गरेको आयोजकले कार्यक्रम हुने हलका लागि सूचना पनि ४८ घण्टा पहिले मात्र निकालेको थियो । जबकि यो प्रतियोगिताका बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रत्येक चरणको प्रतिस्पर्धा हुनुभन्दा एक हप्ता पहिले सामाजिक सञ्जाल र फोनमार्फत हलका बारेमा जानकारी दिने प्रतिबद्धता जनाइएको थियो ।
यति ठूलो र प्रवासकै निकै फरक कार्यक्रममा आयोजकले आफ्नै प्रतिबद्धता पूरा मात्र गर्न सकेनन् आयोजकका कारण प्रतिस्पर्धीलगायत स्वयं आयोजकले समेत झमेला ब्यहोरेका थिए । आयोजक समितिले यातायात संयोजकका रूपमा जिम्मेवारी प्रदान गरेपनि शुक्रबारको कार्यक्रमपश्चात नज्माबाट प्रतिस्पर्धी ट्याक्सी चढेर निवासतर्फ लागेका थिए भने एनसीसी कतारका अध्यक्ष रमेश भट्ट आफैंले समेत यातायातका लागि सहजीकरण गरिरहेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies