काठमाडौं : प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब, लुम्बिनी प्रदेश र मधेश प्रदेशले विजयी शुरुवात गरेका छन् । शनिबारबाट शुरु भएको प्रतियोगितामा बागमती प्रदेशलाई हराउँदै पुलिस, गण्डकी प्रदेशलाई हराउँदै लुम्बिनी तथा कोशी प्रदेशलाई हराउँदै मधेशले विजयी शुरुवात गरेका हुन् ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा पुलिसले बागमतीलाई ६८ रनले पराजित गरेको हो । पुलिसले पहिला ब्याटिङ गर्दै ८ विकेट गुमाएर २८२ रन बनाएको थियो । जवाफमा बागमतीको टोली ४२.३ ओभरमा सबै विकेट गुमाएर २१४ रनमा समेटियो ।
बागमतीका लागि आषुतोश घिरैयाले सर्वाधिक ९२ रनको अर्धशतकीय पारी खेले । उनले ८७ बलमा ९ चौका र ४ छक्का प्रहार गरे । त्यस्तै इसान पाण्डेले ४४ रन बनाउँदा सोनु देबकोटाले १९ रन जोडे । पुलिसका लागि सागर ढकालले तीन विकेट लिए । त्यस्तै करण केसी, राशिद खान र दीपेन्द्र सिंह ऐरीले दुई–दुई विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २८२ रन बनाएको थियो । पुलिसका लागि राशिद खानले १०६ रनको शतकीय पारी खेले । उनले ११२ बलमा ९ चौका र ६ छक्का प्रहार गरे ।
त्यस्तै आरिफ शेखले ५७ रनको अर्धशतकीय पारी खेले । पुलिसका कप्तान दिपेन्द्र सिंह ऐरीले २१ रन बनाउँदा सुनिल धमला र अर्जुन साउदले २०–२० रन बनाए । बागमतीका रिजन ढकाल र सुर्य तामाङले तीन–तीन विकेट लिए । त्यस्तै गौतम केसी र सोनु देवकोटाले १–१ विकेट लिए ।
यस्तै भैरहवाको सिद्धार्थनगर मैदानमा भएको खेलमा लुम्बिनीले गण्डकीलाई ४ विकेटले पराजित गरेको हो । बाक्लो हुस्सुका कारण निर्धारित समय भन्दा ढिला गरी शुरु हँदा खेल ४२ ओभरमा झारिएको थियो । जसमा टस हारेर पहिला ब्याटिङ गरेको गण्डकी प्रदेशले ३४.४ ओभरमा सवै विकेट गुमाएर जम्मा १११ रन बनायो । गण्डकीका लागि करण पंगेनीले सर्वाधिक २८ रन बनाउँदा कृष्ण एरले १९ रन जोडे । त्यसैगरी अमृत गुरुङले १३ रन बनाउँद समीर कँडेलको ब्याटबाट पनि १३ रन बनेको थियो । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाएनन् ।
लुम्बिनीका अजय चौहानले सर्वाधिक ५ विकेट लिए । मोहमद हुसेनले २ विकेट लिँदा कृष्ण कार्की, अभिषेक गौतम र नर शार्कीले एक एक विकेट हात पारे ।
११२ रनको सामान्य लक्ष्यसहित मैदान उत्रिएको लुम्बिनीले २८.२ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको थियो । लुीम्बनीलाई जिता दिलाउन मृनल गुरुङले ४७ रनको पारी खैल्दा मोहमद हुसेनले २१ रन बनाए । गण्डकीका कृष्ण कार्कीले ३ विकेट लिँदा कमल परियारको नाममा पनि ३ विकेट नै रह्यो ।
त्यस्तै मुलपानी मैदानमा भएको खेलमा मधेश प्रदेशले काशी प्रदेशलाई ७ विकेटले पराजित गरेको हो । कोशी प्रदेशले दिएको १२८ रनको लक्ष्य पच्छाएको मधेश प्रदेशले २०.१ ओभरमा ३ विकेट गुमाउँदै जित निकाल्न सफल भयो ।
मधेश प्रदेशलाई जिताउन अनिल साहले सर्बाधिक ८८ रनको योगदान गरे । यसैगरी कप्तान हरि शंकर साहले २४ रन बनाउँदा निरज यादव ९ तथा पवन शर्राफ २ रनमा नटआउट रहे । कोशीका लागि सोनु मण्डलले २ तथा सुजन थपलियाले १ विकेट हात पारे ।
टस हारेर पहिला ब्याटिङ गरेको कोशी प्रदेशले ४१ ओभरमा सवै विकेट गुमाएर जम्मा १२७ रन बनाएको थियो ।
कोशीका लागि फिर्दोश अन्सारीले ४१ तथा कप्तान अंकित सुवेदीले ४० रन बनाउँदा अरु कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाएनन् । मधेशका प्रदीप पासवानले सर्वाधिक ३ विकेट लिँदा राजेश यादव, रञ्जित कुमार र पवन सर्राफले २–२ विकेट लिए । विशाल पटेलले एक–एक विकेट लिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies