तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : नेपाल मगर संघ शाखा कतारको आयोजनामा आगामी शुक्रबार माघ्या सकराटी-२०२४ बृहत् वनभोज तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ l उक्त कार्यक्रममा सांगीतिक प्रस्तुति दिन नेपालबाट चार जना कलाकार कतार आउने क्रम शुरु भइसकेको छ l जसमध्ये लोक दोहोरी गायक तथा हास्य कलाकार अर्जुन कुँवर केही दिन पहिले नै कतार आइपुगेका छन् भने बुधबार बिहान लोक तथा दोहोरी गायिका रुसमा सिजांली मगर (रुपी) र मोडल तथा डान्सर अस्मिता राना मगर कतार आइपुगेका छन् ।
आमन्त्रित कलाकारहरूलाई स्वागत गर्न संघका अध्यक्ष, महासचिव सहित कार्यसमितिका पदाधिकारीहरू हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए । शुक्रबार बिहान १० बजेबाट अल अरबी स्पोर्ट्स क्लबमा सञ्चालन हुने कार्यक्रममा मगरहरूको ऐतिहासिक दौडेर बाङ (राजा) छान्ने परम्परालाई निरन्तरता दिइने भएको छ l महिलाहरूका लागि म्युजिकल चेयर र पुरुषहरूका लागि डोरी तान्ने खेल समेत खेलाइने भएको छ l कार्यक्रममा मगर समुदायको मौलिक नाच सालै जो, कौराह, झ्याउरे, हुर्रा, भुम्या तथा लोकदोहोरी मगर फिल्मी र आधुनिक गीतहरूमा नृत्य तथा गायन प्रस्तुत गर्ने आयोजक संघले जनाएको छ l कार्यक्रममा आउन जानको लागी कतारको दोहा, सनैया, अल्खोर, सहानिया तथा अन्य स्थानहरूबाट निःशुल्क यातायातको व्यवस्था समेत गरिएको छ l
नेपालबाट आमन्त्रित अर्का चर्चित गायक सर्जक तथा संगीतकार डोलराज बार्हघरे नेपाल मगर संघ शाखा यूएईले आयोजना गरेको माघ्या सकराटी मेला तथा सांस्कृतिक साँझ २०८० मा सांगीतिक प्रस्तुति दिएर यूएईबाट बुधबार राति दोहा आइपुग्ने जानकारी कार्यक्रम संयोजक देवी कुमारी मगरले मध्यान्ह दैनिकलाई जानकारी दिइन् l बाह्रघरे कतार आएसँगै कार्यक्रमको तयारी पनि पूरा हुने उनको भनाइ छ l
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies