काठमाडौं : दक्षिण अफ्रिकामा जारी यु–१९ विश्वकप क्रिकेटमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । बुधबार दक्षिण अफ्रिकाको इस्ट लण्डनमा भएको खेलमा पाकिस्तासँग पराजित भएसँगै नेपालले लगातार दोस्रो हार व्यहोरेको हो । पाकिस्तानले नेपाललाई ५ विकेटले पराजित गरेको हो ।
जितका लागि १९८ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले ४७.४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । पाकिस्तानको जितमा आजन आविस ८२ बलमा ६ चौकासहित ६३ रनमा नट आउट रहे ।
पाकिस्तानका ओपनरद्वय शमयल हुसेन र शाहजइब खानले समान ३७–३७ रन जोड्ने क्रममा ८० रनको ओपनिङ साझेदारी गरे । अराफत मिनहस भने आठ रन बनाउँदै पेभेलियन फर्किए । कप्तान साद बेग भने खाता खोल्नुअघि नै पेभेलियन फर्किए । अहमद हसनल २९ रन जोडे । नेपालका आकाश चन्दले २ विकेट लिँदा सुवास भण्डारी र आकाश त्रिपाठीले एक एक विकेट लिए ।
त्यसअघि दक्षिण अफ्रिकाको बफेलो पार्कमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ५० ओभरमा १९७ रनमा अल आउट भएको थियो । नेपालका विपिनले ६८ बलमा ४ र्चौका र १ छक्कासहित सर्वाधिक ३९ रन जोडे । नेपालले शीर्षक्रमका दुई ब्याटर अर्जुन कुमाल र आकाश त्रिपाठीलाई ६–६ रनमै गुमाएको थियो । कप्तान देव खनाल ३७ बलमा ३ चौकासहित २३ रन बनाउन सके । उत्तम थापा मगर ४, दीपेश कँडेल १७ बलमा २ चौकासहित १३ र दीपक डुम्रे १ छक्कासहित २६ रनमा आउट भएका थिए ।
आकाश चन्द ११ बलमा १ चौका र १ छक्कासहित १६ रनमा नट आउट रहे । सुवास भण्डारीले २४ बलमा २० रन बनाए । नेपालले २६ रन एक्स्ट्रा पाएको थियो । गुलशन झाले ४७ बलमा १८ रन बनाए । देव, गुलशन र अर्जुन प्रमुख ब्याटर चल्न नसकेपछि बलियो योगफलमा पुग्न सकेको थिएन ।
पाकिस्तानका स्पिनर अरफत मिन्हासले १० ओभरमा ३ मेडनसहित २३ रन खर्चेर ३ विकेट लिए । उनले पाकिस्तानको सिनियर टोलीबाट समेत खेलेका छन् । अहमद हसन र उबेद साहले २–२ विकेट लिए ।
पहिलो खेलमा न्युजिल्याण्डसँग पराजित भएको नेपाल अर्को चरणमा पुग्नका लागि अब अफगानिस्तानसँगको नतिजा कुर्नु पर्ने छ । यो समूहबाट न्युजिल्याण्ड र पाकिस्तानले भने अर्को चरणको यात्रा तय गरेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies