काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको अभिमुखीकरण तालिम तथा स्वास्थ्य परीक्षणमा रहेका कमीकमजोरी हटाउन सरोकारवालाहरुसँग बृहत् प्रतिबद्धता लिएको छ ।
शुक्रबार मन्त्रालयका सचिव केवल प्रसाद भण्डारीले आयोजना गरेको छलफलमा मन्त्रालयको वैदेशिक रोजगार महाशाखा, वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार बोर्ड, नेपाल वैदेशिक रोजगार व्यवसायी संघ, नेपाल अभिमुखीकरण व्यवसायी महासंघ, नेपाल स्वास्थ्य व्यवसायी महासंघलगायतका सरोकारवालाहरुको संस्थागत उपस्थिति रहेको थियो ।
अन्तरक्रियामा पूर्वप्रस्थान अभिमुखीकरण तालिम तथा वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने संस्थाहरुको सम्बन्धमा मन्त्रालयबाट भएको आन्तरिक अनुगमन प्रतिवेदनमा छलफल भएको थियो ।
छलफलपछि मन्त्रालयका प्रवक्ता राजीव पोखरेलद्वारा जारी प्रेस विज्ञप्तिमा पूर्वप्रस्थान अभिमुखीकरण तालिम तथा वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण कार्यमा हाल देखिएका कमी कमजोरी हटाइ सुरक्षित, मर्यादित वैदेशिक रोजगारसँग जोडिएका दुवै कार्यलाई अझ बढी विश्वसनीय र प्रभावकारी बनाउने विषयमा व्यापक छलफल भएको र सरोकारवालाहरुबाट सोही अनुसारको प्रतिबद्धता आएको उल्लेख छ ।
छलफलमा अभिमुखीकरण र स्वास्थ्य परीक्षणलाई प्रभावकारी बनाउन अभिमुखीकरण तालिम संस्थामार्फत आफूसँग सरोकार राख्ने सम्पूर्ण सूचनाहरु नपाइ वैदेशिक रोजगारमा जाने कामदारहरुको संख्यालाई शून्यमा झार्ने र स्वास्थ्य परीक्षण गर्ने मेडिकल सेन्टरहरुले नपुग पूर्वाधार एक महिनाभित्र अनिवार्यरुपमा पु¥याउने प्रतिबद्धता आएको मन्त्रालयले जनाएको छ ।
वैदेशिक रोजगार विभाग तथा अन्य निकायहरुले अनुगमन कार्यलाई प्रविधिको माध्यमबाट अनुगमन गर्ने कार्यलाई तीव्रता दिने र हालै गरिएको अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि २०७६ को दोस्रो संशोधनलाई क्रमशः कार्यान्वयन गर्दै लगेर वैदेशिक रोजगारमा जाने कामदारहरुलाई अनिवार्यरुपमा पूर्वप्रस्थान तालिम दिएरमात्र प्रमाणपत्र जारी गर्ने प्रतिबद्धता पनि सरोकारवालाहरुबाट आएको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी सो बृहत् छलफलबाट आएका प्रमुख ४ वटा विषयहरु कार्यान्वयनका लागि नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आवश्यक सहयोग र सकारात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ ।
नेपाल अभिमुखीकरण व्यवसायी महासंघका अध्यक्ष राजाराम गौतमले अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि २०७६ को दोस्रो संशोधनका प्रावधान आवश्यक रहेको सरोकारवाला सबै पक्षले अनुभूति गरेको र कार्यविधिलाई कार्यान्वयनमा लगेर कार्यान्वयनमा देखिने कमीकमजोरी संशोधन र सुधार गर्दै लैजाने विषयमा सबैको एकै धारणा प्रस्तुत भएको बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies