लक्ष्मण यादव/मध्यान्ह
सर्लाही : सर्लाहीको सदरमुकाम मलंगवाको तीनबिघे खेल मैदानमा जारी जिल्लास्तरीय टी–२० शहीद कप प्रतियोगितामा आइतबार भएको खेलमा चक्रघट्टा गाउँपालिकालाई ४० रनले हराउँदै बसबरीया गाउँपालिका सेमिफाइनलमा प्रवेश गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गर्न मैदानमा उत्रेको बसबरीयाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६८ रन बनाएको थियो । १६९ रनको लक्ष्य पछ्याउँदै चक्रघट्टाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन मात्र जोड्न सक्यो ।
बसबरीयाको तर्फबाट ४ ओभरमा ११ रन मात्र खर्चेर ३ विकेट हासिल गर्न सफल टिमका कप्तान समेत रहेका चिरञ्जीवी कुमार यादव म्याद अफ दि म्याच बनेका छन् । उनलाई बसबरीया गाउँपालिका अध्यक्ष राम सिंहासन राय र चक्रघट्टा गाउँपालिकाका अध्यक्ष किसुनदेव रायले संयुक्तरूपमा म्यान अफ दि म्याचको ट्रफी प्रदान गरे । साथै पालिकाका खेलाडीहरुको हौसला बढाउन गाउँपालिका अध्यक्ष रामसिंहासन रायले १० हजार र निमित्त प्रमुख प्रसाशकीय अधिकृत चुनचुन प्रसाद यादवले ५ हजार रुपैयाँ नगद खेलाडीहरुलाई प्रदान गरेका छन् ।
यस जितसँगै बसबरीया सेमिफाइनलमा प्रवेश गरेको छ भने चक्रघट्टा प्रतियोगिताबाट बाहिरिएको छ । यसअघि गोडैता नगरपालिका र बिष्णु गाउँपालिका सेमिफाइनलका लागि छनोट भइसकेको छ ।
सोमबार मलंगवा नगरपालिका र ब्रह्मपुरी गाउँपालिकाबीच हुने खेलमा विजयी हुने टिम पनि सेमिफाइनलमा प्रवेश गर्नेछ । त्यसपछि सेमिफाइनलमा प्रवेश गरेका ४ वटा टिममध्ये २ टिम फाइनल खेल्नेछन् र फाइनलमा विजय हुने टिमले नगद १ लाख रुपैयाँ र प्रमाणपत्र पाउनेछ भने पराजित हुने टिमले उप–विजेताको रुपमा नगद ५० हजार रुपैयाँ र प्रमाणपत्र पाउने आयोजक समितिका उपाध्यक्ष विश्वनथ ठाकुरले जानकारी दिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies