प्रदिप ज्ञवाली/मध्यान्ह
सैनामैना : रुपन्देही जिल्लाको सैनामैना नगरपालिका वडा नं ५ मा प्रथम वडा कप २०८० शुरु भएको छ । "स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद" भन्ने मूल नाराका साथ प्रथम वडा कप शुरु भएको हो । "युवाहरुमा दिगो विकास, सकारात्मक परिवर्तनमा सक्रियता, सैनामैना -५ युवा क्लबको प्रतिबद्धता" भन्ने मन्त्रलाई आत्मसाथ गर्दै स्थापित यस क्लबले प्रथम वडा कप खेलकुद कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा सैनामैना नगरपालिकाका प्रमुख फडिन्द्र प्रसाद शर्माले खेलाडी उत्पादनको नर्सरी नै वडा कप भएको बताउँदै कुलतबाट सत्मार्गमा ल्याउन पनि युवा क्लब र यस्ता कार्यक्रमले भूमिका खेल्ने बताए । कार्यक्रममा नगर उपप्रमुख विना रानाले नगरपालिकाले 'एक वडा एक व्यवस्थित खेल मैदान र एक पालिका एक व्यवस्थित रंगशाला' भन्ने नारा निकै पहिलेबाट अगाडि बढाएको भन्दै वडाको संयुक्त क्लब बनाएर काम गर्दा पालिकालाई सहयोग गर्न सहज हुने र कार्यक्रम गर्न वडालाई पनि सहज हुने बताइन् । क्लबले खेलकुदसँगै सामाजिक काम पनि सञ्चालन गर्नुपर्ने र सामाजिक रुपान्तरण प्रमुख एजेन्डासहित परिवर्तनशील कार्यको सुत्रपात गर्नुपर्ने बताइन् ।
वडामा भएका युवाको खेलकुदका क्षेत्रमा रहेको क्षमता चिन्दै अवसर प्रदान गर्ने र खेलकुदमार्फत असल आचरण सिकाउने ध्येय राखेर कार्यक्रम गरिएको सैनामैना ५ का वडा अध्यक्ष धन प्रसाद पाैडेलले बताए । सैनामैना खेलकुद समिति संयोजक खिम श्रेष्ठले खेलकुदका क्षेत्रमा वडाले नविन कार्यक्रम सञ्चालन गरेको भन्दै यस्ता कार्यक्रम नगरपालिकाले गर्ने राष्ट्रपति रनिङ शील्ड भन्दा अगाडि गर्न सुझाव दिए ।
वडाभित्रका युवामा खेलकुदको विकास गर्दै खेलाडी उत्पादनमा यस वडा कप कोसेढुंगा सावित हुने युवा सञ्जाल सैनामैनाका अध्यक्ष राजेन्द्र घिमिरेले बताए ।
वडा कप तथा खेल सप्ताह अन्तर्गत विभिन्न विधामा खेल हुनेछन् । जसमा तेक्वान्दो र ब्याडमिन्टन सेरुवामा हुनेछ । महिला र पुरुष भलिबल गडवामा, फुटबल बक्सडमा र क्रिकेट बयरकट्टीमा हुनेछ ।
कार्यक्रम सैनामेना ५ मा रहेको युवा सञ्जालको आयोजना तथा सैनामैना ५ वडा कार्यालको समन्वयम हुन लागेको हो । औपचारिक कार्यक्रम क्लबका अध्यक्ष राजेन्द्र घिमिरेको अध्यक्षता, सैनामैना नगरपालिकाका प्रमुख फडिन्द्र शर्माको प्रमुख आतिथ्यता, उपप्रमुख विना रानाको विशिष्ट आतिथ्यता, वडा अध्यक्ष धन प्रसाद पाैडेल, कार्यपालिका सदस्य एवम् वडा सदस्य मनकुमारी राई, अन्य जनप्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधिलगायतको आतिथ्यता रहेको थियो । कार्यक्रम क्लबका उपाध्यक्ष मेघराज अर्यालको स्वागत एवम् सचिव विजय सुनारको सञ्चालनमा पशुपति सामुदायिक भवन सेरुवामा सम्पन्न भएको हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies