–लोकनारायण सुवेदी
पछिल्लो केही महिनायता गाजा क्षेत्रमा सीमित रहेको इजरायल–प्यालेस्टाइनबीचको नरसंहारकारी युद्धले क्षेत्रीय युद्धको रूप लिने खतरा टड्कारो बनेको छ । अमेरिकाले इजरायलसँग मिलेर सीरिया र इराकलगायतमाथि बमबारी सुरु गर्न थालेको छ । अमेरिकाले आफ्ना तीन जना सैनिकहरूको मृत्युको बदला लिनका लागि भन्दै पूरै मध्यपूर्वमा युद्ध थोपर्दै छ । यतिबेला अमेरिकी प्रशासन के दाबी गरिरहेको छ भने ऊ इरानसँग युद्ध गर्न चाँहदैन । तर, उसको पछिल्लो कारबाही यस कुराको ठीक विपरित छ ।
आश्चर्य के देखिएको छ भने अमेरिका र पश्चिमा देशहरू गाजामा हजारौं हजार बालबालिका र महिलाहरूको मृत्युलाई केही पनि होइन जास्तो नजरअन्दाज गरेर हेर्दै आएका हुन् । तर, उसले आफ्ना केही सैनिक मारिएको बाहानामा पूरै मध्यपूर्वमा युद्ध थोपर्दैछन् । त्यति मात्र पनि होइन, हेग स्थिति अन्तर्राष्ट्रिय न्यायालयमा इजरायललाई खडा गरिएपछिको स्थितिमा पश्चिमा देशहरूले संयुक्त राष्ट्र संघ र त्यसका एजेन्सीहरूका बिरुद्धको दुष्प्रचारपूर्ण फत्तुरलाई तीव्र पारेका छन् । आफ्नो ज्यान जोखिममा पारेर गाजाका मानिसहरूलाई मानवीय सेवा–सहायता उपलब्ध गराइरहेका ती एजेन्सीका कार्यकर्ताहरूलाई अपराधी तथा आतंकवादी करार गरिरहेका छन् । संयुक्त राष्ट्रका राहत कार्य गर्ने एजेन्सीहरूको लागि दिइनु पर्ने कोषको रकम पनि उनीहरूले यतिबेला रोकिराखेका छन् ।
गाजा क्षेत्रमा अत्यन्तै ठूलो परिमाणमा बर्बादी र रक्तपातबाट इजरायललाई के हासिल भयो ? सुरक्षा विशेषज्ञहरू त्यसको हिसाव किताब अर्थात् लेखाजोखा गरिरहेका छन् । इजरायल आफ्नो घोषित कथित उद्देश्यहरू जस्तो कि हमासको समाप्ति र त्यस क्षेत्रमा असैन्यिकरण हासिल गर्नमा असफल साबित भएको छ । तर, उसको त्यो कथित ‘उपलब्धी’का लागि पश्चिमा देशहरूमा वाहावाही चलिरहको देखिन्छ । यसैबीच हमासको उद्देश्य भने अझ सबल हुन पुगेको ठानिदै छ ।
हमासका नेताहरू के सोचिरहेका छन् भने योभन्दा त्रासदीपूर्ण र ठूलो बर्बादी उनीहरूका लागि अरु के हुन सक्छ । यसै कारणले गर्दा नै हमास युद्ध बिरामको प्रस्तावप्रति धेरै उत्साही देखिँदैन । केही समयका पछिल्ला अस्थाई युद्ध बिरामका अनुभवहरू पनि त्यति आशाकारी र उत्साहप्रद देखा परेनन् । बरु इजरायले अझ दोब्बर शक्तिका साथ ती युद्ध बिरामपछि जोडदार र सर्वनाशी आक्रमण गरेको कुरा विश्वले देखेको हो । त्यसैले त्यत्रो अपूर्व त्रासदी र सर्वनाश व्यहोरेको हमास फेरि त्यसको पुनारावृत्ति होस् भन्ने सायद चाहँदैन ।
अमेरिकासमेत पश्चिमी देशहरू गाजाको घटना क्रमको भावी परिणामको जसरी उपेक्षा र अनदेखा गरिरहेका छन्, त्यो उनीहरूका लागि पनि अत्यन्तै घातक सिद्ध हुन सक्ने अनुमान पर्यवेक्षहरूले लगाइराखेका छन् । तिनले संगठित या छिटफुट किसिमका हमलाहरू व्यहोर्नुपर्ने स्थिति र भिन्न खतराको सामना गर्नुपर्ने अवस्था आउन सक्ने आकंलन उनीहरू गरिरहेका छन् । जो मासिनहरू प्यालेस्टिनहरूको समर्थनमा पश्चिमा देशहरूका विभिन्न नगरहरूमा दिनदिनैजसो प्रदर्शन गरिरहेका छन्, तीमध्येका कतिपय संगठनहरूले आक्रामक हमलाको सहारा लिन सक्छन् भन्ने उनीहरूका अनुमान छ । विभिन्न सर्वेक्षणहरूले के कुरा प्रकाशमा ल्याएका छन् भने अमेरिकी विश्वविद्यालयकै विद्यार्थीलगायत यूवा समुदायले इजरायललाई अपराधी मान्दछ । अमेरिकी प्रशासनले हालैमा अमेरिकाको हार्डभर्ड र एमआईटी विश्वविद्यालयलगायतमा विद्यार्थीहरूमाथि मात्रै होइन, प्राध्यापकहरूमाथि पनि कारबाही शुरु गरिसकेको छ । तिनको आर्थिक सहायता पनि रोकिदिन थालेको छ । अमेरिकाको इतिहासमा सम्भवतः यो पहिलो अवसर हो, जतिबेला शिक्षण संस्थाहरूलाई यसरी तारो बनाइएको छ ।
अभिव्यक्तिको स्वतन्त्रतलाई दबाउने प्रयत्न गरिन थालेको छ । बिडम्बना त के भने तिनै पश्चिमा देशहरू एशिया, अफ्रिका र ल्याटिन अमेरिकी देशहरूलाई अभिव्यक्ति स्वतन्त्रताको खुब उपदेश दिने गर्दै आएका छन् र गर्दछन् । अर्कोतिर, यस पूरै त्रासद, अमानवीय र नरसंहारकारी प्रकरणमा ब्रिक्स जस्ता संगठनहरूको भूमिका भने निकै नै निराशाजनक रहेको पनि विश्लेषकहरू औंल्याइरहेका छन् । पछिल्लो समय अर्थात् हालै ब्रिक्समा पाँच नयाँ देशहरूलाई पनि सामेल गरिएको छ । ब्रिक्सले नयाँ विश्व ब्यवस्था कायम गर्ने दाबी गर्दै आएको छ ।
तर, पश्चिम एशियाको अहिलेको अत्यन्तै बिग्रँदो अमानवीय घटनाक्रमका बारेमा ब्रिक्सको तर्फबाट भने त्यस्तो कुनै पहल गरेको पटक्कै देखिएको छैन । मानिसहरूले विश्वभरी नै के अपेक्षा गरेको देखिन्छ भने ब्रिक्सका शक्तिशाली देशहरू रुस, चीन र भारतले समेत यदि विभिन्न अन्तराष्ट्रिय मञ्चहरूमा पश्चिम एशियाको गम्भीर समस्याका बारेमा दृढ प्रवृत्ति मात्रै दर्शाएको भए पनि त्यो इजरायलका लागि र प्रकारान्तरले पश्चिमा शक्तिहरूकै लागि पनि एउटा कडा सन्देश हुने थियो । ब्रिक्समा केवल दक्षिण अफ्रिका मात्रै एउटा अपवाद रहन पुगेको छ, जसले विश्व मानवताको पक्षमा सशक्त आवाज बुलन्द गरेको देखिएको छ ।
अनि अरब र मुस्लिम देशहरूले देखावटीरूपमै भए पनि दक्षिण अफ्रिकाको त्यो सत् प्रयासप्रति आफूलाई जोड्न पुगेका छन् । तर, उनीहरूको दब्बूपन जग जाहेर हुन पुगेको छ । के पनि दुर्भाग्यपूर्ण मानिदै छ भने प्यालेस्टिनी घटनाक्रमलाई पनि सुन्नी र शियाको धार्मिक विभाजनतिर धकेलेर चर्काउने किसिमको रूप प्रदान गर्ने प्रयत्न गरिएको छ । इरानको तर्फबाट पाकिस्तानमा आतंकवादी अखडालाई निशाना बनाइएको कुरालाई पनि यससँग जोडेर हेरिँदैछ । पाकिस्तानका एक जना प्रसिद्ध पत्रकार नजम सेठीले यस कुरालाई अन्यत्र मोड्न र जनतालाई गुमराह गर्न खोजेको आरोप पनि लागेको छ । यसरी प्यालेस्टिनी समस्याको सही समाधान खोज्ने आन्दोलनलाई विभिन्न किसिमले कमजोर पार्ने खेल र चलखेल चल्नुले पश्चिमा शक्तिहरू गोला बारुद वर्षाएर प्यालेस्टिनीहरूमाथि अत्याचार मात्र मच्चाइरहेका छैनन् भावी दिनमा प्यालेस्टिनी मुक्ति र स्वाधीनताको आन्दोलको पक्षमा उठ्न सक्ने विश्वव्यापी सबल एकतालाई भाँजो हाल्न पनि प्रत्यक्ष परोक्ष भूमिका खेलिरहेका छन् भन्ने तथ्यहरू पनि यसरी उद्घाटित भइरहेका छन् ।
यस प्रकार अधिकांश निर्दोष र निहत्था बालबालिका, महिला र आम नागरिकको बर्बर नरहत्याको श्रृंखला चलिरहेको र त्यसमा परेर कालकलबित हुनेको संख्या ३० हजार पुग्दै गर्दा पनि यसको कुनै निकास निस्कने सुरसार अझै देखिएको छैन । बरु यो संघर्ष क्षेत्रीय संघर्षको रूपमा अझ फैलिने खतनाक स्थिति सिर्जना गरिँदै रहको देखिन्छ ।
यो २१औं शाताब्दीको दोस्रो दशकको मध्यबिन्दूमा विश्व पुग्न लाग्दा पनि स्वाधिनता, स्वतन्त्रता र मानवीयताको सम्मान हुने वातावरण फेरि पनि बन्न नसकेको क्रूर यथार्थ विश्व सामु ठिङ्ग उभिएको छ । यसरी प्यालेस्टिनीहरूको संकट आज विश्व मानवकै एउटा अभिन्न संकटकोरूपमा खडा हुन पुगेको छ । तर, विभाजित विश्वले यसको उपचार कहिले खोज्ला प्रश्न कायमै छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies