–खगेन्द्र पौडेल
अहिले प्रतिपक्षीको रुपमा रहेको नेकपा (एमाले)ले ‘मिसन चौरासी’ सक्यो । नेकपा (माओवादी केन्द्र)को ‘विधान अधिवेशन’ पनि सकियो । नेपाली कांग्रेसले पनि विभिन्न एजेण्डा देखाउँदै ‘महासमिति बैठक’ डाकेको छ । अहिले तिनै पार्टी विभिन्न गतिविधिका नाममा क्रियाशिल देखिएका छन् । तर, गतिविधिका नामहरू फरक भए पनि यी सबैको उद्देश्य एउटै छ, त्यो हो पार्टीलाई कसरी बलियो बनाउने ? कसरी अरुलाई पछार्ने ? अनि कसरी तलदेखि माथिसम्मको सत्तामा आफूहरूलाई आशिन गराउने ।
मूलतः यिनै स्वार्थहरूलाई मध्यनजर राखेर यी दलहरू यसो जनताप्रति सहानाभूतिशील भएको पनि देखाउँछन् । आ–आफ्ना विकास–निर्माणका योजना पनि बनाई टोपल्छन् र राष्ट्रहितका गफ हाक्न पनि छाँड्दैनन् । यिनले गर्ने यस्ता कुराहरू जनता र राष्ट्रप्रति समर्पित भावना भएर हैन, सत्ता र शक्तिप्राप्त गर्न यस्ता सूत्रहरू उपयोगी हुने भएर मात्रै हो । जुन विगतदेखि जारी छ ।
यिनीहरूलाई एक–अर्कालाई सक्दो गाली पनि गर्छन् । परिवर्तन विरोधी, राष्ट्रघाती, विदेशीको दलाललगायतका उपमा पनि दिइहाल्छन् । कार्यकर्तालाई लडाइ पनि रहेका हुन्छन् । गम्भीर प्रकृतिका लडाइँ पनि देखिन्छन् । गाउँघरमा उनीहरूको प्रशिक्षणको प्रभाव दाजुभाई भिन्न पार्टी हुँदा बोलचालसमेत गर्दैनन् । वारपारको सम्बन्ध बनाएका हुन्छन् । नातागोतामा विश्वासको वातावरण बनेको हुँदैन । तर, उनीहरू माथि जे पनि गर्छन् ।
आज एकअर्काविरुद्ध बाहिर सत्तोसराप गरेका उनीहरू भित्र चिया र सियाको मिटिङ्गमा बस्छन् । सँगै डिनर गर्छन् । घण्टौ परिवारका बारेमा गफ गर्छन् । उनीहरूबीच खासै टाढाको सम्बन्ध हुँदैन । तर, बाहिर देखाउँदा निकै कटु आलोचक बन्छन् । सिद्धान्त र नीतिका कुरा फलाक्छन् । समर्थकलाई विभाजित बनाइदिन्छन् ।
सत्तामा सहकार्य पनि गर्छन् । प्रत्येक भागवण्डामा पनि छलफल गर्छन् । सत्तामा सँगै रहेका होस् वा बाहिर रहेका मिलेरै भागवण्डा गरेका हुन्छन् । यद्यपि, बाहिर देखाउँदा उनीहरूबीच निकै भिन्नता देखिन्छ । नाममात्रै होइन, वादमै भिन्नता देखिन्छ । उनीहरूका पार्टी कार्यालयहरू भिन्न छन् । उनीहरूका डेरा भिन्न छन् ।
तर, यी सबै बाहिर देखाउने विषय हुन् । उनीहरू कुत्सित स्वार्थ पूर्तिका लागि नाममा फरक वादी हुन् । उनीहरूले देखाउने ब्राण्डको रुपमा स्थापित गरेका छन् । लत्ता कपडा, श्रृंगारका सामान वा अन्य उपभोग्य वस्तुमा जसरी ब्राण्डको लेपन लगाएर मानिसलाई झुक्याइन्छ, एउटै तौल, एउटै गुणस्तर र एउटै स्वादको वस्तुलाई फरक देखाइन्छ, राजनीतिमा पनि उनीहरू विभिन्न चीनलाई जोडेर फरक देखाउँछन् । उनीहरू त्यही ब्राण्डलाई बेचेर धन्दा चलाउँछन् ।
बिपी कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहलगायत कांग्रेसका लागि देखाउने पात्र हुन् । मृत्युपर्यत्न उनीहरूको सन्तान हुँ भन्दै उनीहरूले व्यापार गरिरहेका छन् । उनीहरूले चार तारे झण्डा र रुख चिन्हलाई आस्था जस्तो बनादिएका छन् । यदि यी सबै खोस्ने हो भने कांग्रेसको व्यापारमा ठूलो असर गर्नेछ । यता, एमालेको पनि हालत उही छ । पुष्पलाल श्रेष्ठ र मदन भण्डारीलाई मृत्युपर्यत्न स्वदेशी ब्राण्ड एम्बेस्डरको रुपमा अघि सारेका छन् । उनीहरू काल माक्र्स र लेनिनलगायतको फोटो पनि टाँग्ने गर्छन् । जसले राम्रै ब्राण्डको काम गरेको छ । उनीहरूले नेता तथा कार्यकतालाई कम्युनिष्टको अन्तराष्ट्रिय पुराणहरू पनि पढेर सुनाउँछन् ।
यता, पछिल्लो समय स्थापित बनेको माओवादी केन्द्रको पनि शैली करिब एमालेको जस्तै छ । उनीहरूले विशेषगरी स्वदेशी ब्राण्ड एम्बेस्डरको रुपमा पुष्पलाल श्रेष्ठ र विदेशी ब्राण्ड एम्बेस्डरको रुपमा कार्ल माक्र्स, लेनिन, स्टालिन, माओलगायतको फोटो बेचिरहेको छ ।
यी तीन पार्टी मात्रै होइन, अन्यको स्थिति पनि करिब उस्तै छ । राजावादी भनेर भन्ने राप्रपा पनि भेटाएसम्म भागवण्डामा पुग्छ । यता, नवरास्वपाको हालत पनि उही हो । फरक वादका कुरा गर्ने, देखाउँदा फरक बन्ने तर, यी सबै उद्देश्यमा समान वादी छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies