–डा. दिबाकर वशिष्ठ
कुनै एक कर्मचारीलाई वर्षमा चार पटक सरुवा गर्ने प्रवृतिले उनीहरूको कार्यक्षमता र विज्ञतामा ह्रास आएको देखिन्छ । कामको आधारमा कुन व्यक्तिको विशेषज्ञता कहाँ उपयुक्त हुन्छ भन्ने भन्दा पनि को व्यक्ति आफू अनुकुल कार्य गर्दछ भन्ने राजनीतिक सोचका कारण सानो तहदेखि सचिवसम्मका कर्मचारीमा उत्प्रेरणाको कमी देखिएको छ । ‘राइटमेन, राइट पिपुल, राइट टाइम’ भन्ने कुरा नारामा मात्रै सीमित देखिन्छ । नेपालमा विगत समय अर्थात् परापुर्वकालदेखि नै मन्त्रीहरूले आफूअनुकुल कर्मचारी रोज्ने परिपाटीले सुशासनलाई गिज्याइरहेको छ । स्मरणहोस् प्रशासन सुधार समितिले वि.सं. २०७० सालमा दिएको प्रतिवेदनअनुसार सरुवाको स्वचालित प्रावधान राखिएता पनि आफूअनुकुल नहुने भएपछि हालसम्म पनि यसको कार्यान्वयन हुन सकेको छैन । कर्मचारीमा पनि काम गरेर तलब लिनेभन्दा पनि त्यसको दशौं गुणा अन्य फाइदा लिने, कार्यालयको स्रोत र साधनको दोहन गर्ने, आफ्नो मानिसलाई जागिर लगाउने, सधैँ मालदार अड्डामा बस्न खोज्ने, कार्यालयको सामान घरायसी काममा प्रयोग गर्ने र कार्यालयमा पछिसम्म नबुझाउने प्रवृति झाँगिदै गएको देखिन्छ । नेता वा मन्त्रीले आफूखुसी निर्णय गराउन कर्मचारी प्रयोग गर्ने भएको हुँदा उनीहरूले पनि बदलामा मालदार अड्डा रोज्ने प्रवृति पछिल्लो समय थप मौलाउँदै गएको कारण भ्रष्टाचारका घटना र सुशासनमा प्रश्नसमेत बेलाबखत उठ्ने गरेको पाइन्छ ।
सही समयमा, सही व्यक्तिलाई, सही ठाउँमा भर्ना गरी संगठनको क्रियाकलापहरूलाई प्रभावकारीरूपमा संचालन गर्न तय गरिएको व्यवस्थापकीय क्षेत्रलाई मानव संशाधन भनिन्छ । संगठनको उद्देश्य प्राप्त गर्ने कुशलता र कार्य क्षमता भएका व्यक्तिहरूको छनोट र व्यवस्थापन अपरिहार्य छ । सबै उत्पादनका साधनमध्ये मानव संशाधन महत्वपूर्ण साधन हो, जसले कुशलता र मितव्ययी तरिकाले संगठनको कार्य संचालन गर्दछ । संगठनमा मानिसहरूको सीप, क्षमता र दक्षताको प्रयोग गरी संगठनको उद्देश्य हासिल गर्नु पर्दछ । त्यस्तै, कर्मचारीको योजना, छनोट, दक्षता र योग्यता अभिवृद्धि, उत्प्रेरणा, तालिम, वृतिविकासलगायत कार्यद्वारा संगठनको उद्देश्य हासिल गर्न मन्त्रीदेखि तल्लो तहसम्म लाग्नुपर्दछ । भर्ना, छनोट, सरुवा वढुवा, घटुवा, अवकास, तालिम तथा विकास, उत्प्रेरणा, पारिश्रमिक, स्वास्थ्य एवम् सुरक्षा जस्ता कर्मचारीसँग सम्बन्धित क्रियाकलापहरूलाई कुशलतापूर्वक व्यवस्थापन गर्न सकेमा मात्र विकास आयोजनाहरू समेत समयमा सम्पादन हुन सक्दछन् ।
कर्मचारी र राजनेता वा मन्त्रीको उद्देश्य भनेको संगठनमा उपलब्ध स्रोत र साधनहरूको प्रभावकारी प्रयोग गर्दै जनशक्तिको भर्ना योजना बनाउने, छनोट गने र भर्ना भएका कर्मचारीलाई संगठनको बारेमा सामाजकीकरण गर्नु हो । संगठनका कर्मचारीलाई तालिम दिने, उत्प्रेरणा जगाउने र संगठनप्रति गतिशिल बनाउने र कर्मचारीको विकास गर्नु हो । कर्मचारीलाई उनीहरूको योग्यता र दक्षता र चाहाना एवम् संगठनको लक्ष्यअनुरूप काममा लगाउने र कामको मुल्यांकनसमेत निष्पक्ष ढंगबाट गरे मात्र सुशासनमा सुधार आउन सक्छ । कर्मचारीको काम, पद र योग्यता एवम् कार्य सम्पादन मुल्यांकनको आधारमा पुरस्कार, तलब र दण्ड सजायलगायतमा उचित ध्यान दिनुपर्दछ । तालिम तथा उत्प्रेरणाद्वारा कर्मचारीको अनुशासन र उत्पादकत्व वृद्धि गर्ने कार्य परिवर्तित वातावरण अनुरूप गर्नुपर्दछ ।
संगठनको दिगो विकासको लागि उचित व्यक्तिको खोजी गर्ने र छनोट गर्ने, संगठनले वर्तमान अवस्था र भविष्यको अवस्थासमेतलाई विचार एवम् मुल्यांकन गरी कम लागतमा दक्ष जनशक्तिको पहिचान गर्ने कार्यमा चुक्नु हुँदैन । संगठनको परिवेशमा भर्नाका विभिन्न स्रोतहरू हुन्छन्, यद्यपि प्रचलित स्रोतको रूपमा आन्तरिक स्रोत जस्तै ः बढुवा, सरुवा, कार्य परिवर्तनलगायत छन् भने बाह्य स्रोतमा कसैको सिफारिस, प्रत्यक्ष भेटघाट, रोजगार एजेन्सी, तालिम केन्द्र तथा शैक्षिक संस्थाहरू र ट्रेडयुनियनहरू आदि भएको हुँदा क्षमता, प्रतिभा, व्यक्तित्व, चाख र इमान्दारितालाई प्रमुख मापदण्डको रूपमा लिई कर्मचारी हेर्ने मन्त्रालय वा निकायले कर्मचारी भर्ना गर्न सकेका कर्मचारी प्रशासनका बेथिति केही हदसम्म हटेर जानेछ ।
नयाँ कर्मचारीको रूपमा संगठनमा प्रवेश गरेका कर्मचारीहरू वा कार्यरत कर्मचारी एक ठाउँबाट अर्को ठाउँमा सरुवा हुँदा वा कामको प्रकृति परिवर्तन हुँदा दुवै अवस्थामा कर्मचारीलाई संगठनको संरचनाको बारेमा, कर्मचारीहरूको बारेमा, नीति नियम, क्षतिपूर्ति, तलब सुविधा, दण्ड सजायलगायत सम्बन्धमा र कार्य प्रकृतीको बारेमा जानकारी दिने परिपाटीमा प्रभावकारिता छैन । तसर्थ, सामाजिकरण संगठनका सबै गतिविधिमा सम्बन्धित कर्मचारीलाई जानकारी दिलाउने महत्वपूर्ण कडि भएको हुँदा उच्च मनोबलका साथ कर्मचारीलाई यसप्रति उत्प्रेरित गर्नुपर्दछ । यसबाट कर्मचारीमा सकारात्मक भावनाको सिर्जना एकातर्फ हुने देखिन्छ भने अर्कोतर्फ कार्य सम्पादनको विकास हुन्छ । वातावरणको अध्ययन सहज हुन्छ, सहभागितामुलक वातावरण बन्छ र संगठनको शाखमा वृद्धि हुन्छ ।
राजनीतिक नेतृत्व वा मन्त्री र कर्मचारीको बिचमा घनिष्ट सम्बन्ध कायम हुन्छ । कुनै पनि कर्मचारीको सीप र दक्षता अभिबृद्धि गर्नको लागि तालिम अपरिहार्य हुन्छ । तालिमले व्यक्तिको व्यवहारमा परिवर्तन ल्याउने हुँदा यसलाई नियमित कार्यान्वयनमा लैजानु पर्दछ । संगठनमा कार्यरत कर्मचारीमा ज्ञान, दक्षता र सीपमा अभिवृद्धि जरुरी भएको हुँदा वातावरणीय परिवर्तनअनुरूप संगठनका कर्मचारीले काम गर्न सक्ने क्षमताको विकास, जिम्मेवारीवोध, उत्तरदायी भावना र कर्तव्य परायणताको विकास गर्न तालिमको आवश्यकता पर्दछ । यसलाई व्यवस्थापनले रिफ्रेशमेन्ट र मनोरन्जनको रूपमा दिनु हुँदैन ।
कुनै कर्मचारी वा समूहको कार्य विवरण सम्बन्धमा भएको सबल तथा दुर्बल पक्षहरूको वैज्ञानिक विवरण कार्य सम्पादन मूल्यांकन हो । कर्मचारीलाई प्रदान गरिएको जिम्मेवारीमा उसले निकालेको परिणामका आधारमा यो कार्य गरिन्छ । यो प्रक्रियाले कर्मचारीको सामान्य मूल्यांकन मात्र नगरी कर्मचारीको कामप्रतिको अभिरुची उत्पादकत्व र सिर्जनशीलतामा महत्वपूर्ण भूमिका गर्ने हुँदा यसप्रति सम्बन्धित निकाय बेलैमा सचेत हुन जरुरी छ । कार्य सम्पादन मूल्यांकनको उद्देश्य तथा कार्यहरूलाई हेर्दा कामको नियन्त्रण, कार्यकुशलताको विकास, वृति सम्भावना पत्ता लगाउनु, तालिमको आवश्यकता पहिचान, बढुवाको सम्भाव्यता पत्ता लगाउनु, कार्य प्रेरणा जगाउनु, दण्ड तथा संजायको लागि, सरुवाको लागि, जिम्मेवारी हेरफेर आदि भएको हुँदा निष्पक्ष कार्यसम्पादन मूल्यांकन आजको आवश्यकता हो ।
कर्मचारी, व्यवस्थापक र मालिकबिचको त्रिपक्षीय सम्बन्ध हुनु जरुरी छ । कर्मचारी र प्रबन्धक वा कार्यालय प्रमुखको बिचमा अशल सम्बन्धको जरुरी पर्दछ । संगठनको उद्देश्य र लक्ष्य हासिल गर्नको लागि कर्मचारी एक सम्वाहक भएको हुँदा उनीहरूलाई खुसी तुल्याउनु मन्त्री, सचिव वा प्रबन्धकको दायित्व हो । कर्मचारीले व्यवस्थापनको र व्यवस्थापकले कर्मचारीको समस्या बुझ्न सकेको खण्डमा मात्र सम्बन्ध अपेक्षित हुन सक्दछ र अपेक्षित परिणाम प्राप्त हुन सक्दछ । जुन संगठनमा सुशासन कायम हुन्छ, सो संगठनमा राम्रो सम्बन्धको विकास हुन्छ । यसलाई ओद्योगिक शान्तिको रूपमा पनि लिइन्छ । नेपालमा खुलेका विभिन्न संघ सगठन चाहे मन्त्रालय, विभाग होस् वा सरकारको स्वामित्वमा होस् वा निजी क्षेत्र दुवैमा कर्मचारी संगठनहरूको बाहुल्यता भएको हुँदा नेतृत्व र कर्मचारी सम्बन्ध हालका दिनहरूमा चुनौतीपूर्ण बनेको छ । कार्यालयमा काम गर्ने र विभिन्न राजनीतिक दल निकट कर्मचारी संगठनमा काम गर्नेहरू हाराहारी देखिनुले प्रति कर्मचारी उत्पादकत्व ह्रास भएको छ र संगठनको लक्ष र उद्देश्य समयमा प्राप्त हुन सकेको छैन ।
कर्मचारी बिनाको संगठनको कल्पना गर्न सकिँदैन । आधुनिक युगमा संगठनका कर्मचारीलाई उचित स्थान दिनुपर्दछ । आर्थिक, व्यवस्थापकीय र राजनीतिक कारणबाट आजभोलि कर्मचारी र नेतृत्व अर्थात् व्यवस्थापनबिचमा सम्बन्ध राम्रो नभएका घटनाहरू प्रशस्त देख्न पाइन्छ । कर्मचारी र नेतृत्वबिचको सम्बन्ध गतिशिल हुनु जरुरी छ । कामदार, रोजगारदाता र समाजलाई संगठनको नायक भनिन्छ । तर, मुख्य नायक त कर्मचारी नै भएको हँुदा संगठनात्मक उत्पादकत्व वृद्धि र परिवर्तनको लागि उनीहरूलाई सधैँ जागरूप बनाउनु राजनेता, मन्त्री र सचिव एवम् उच्च तहका कर्मचारीको दायित्व हो भन्नुमा कसैको दुईमत नहोला । कर्मचारीमा देखिने स्वार्थ भनेको उच्चतम पारिश्रमिक एवम् सुविधा, उच्चतम कार्य सुरक्षा भएको हुँदा उनीहरूसँग नेतृत्व वा प्रबन्धकले सामूहिक मोलमोलाई गरेर, गुनासोको व्यवस्थापन गरेर, मेलमिलाप गरेर, मध्यस्थता तथा न्यायिक उपचारद्वारा कर्मचारीको मनोबल वृद्धि गर्नुको कुनै विकल्प छैन । एक मानव संशाधन विज्ञ मोडी र नोइको भनाईमा गुनासो कर्मचारीहरूको एउटा असन्तुष्टी वा व्यक्तिगत अन्यायको महसुस हो, जुन उसको रोजगारसँग सम्बन्ध छ । तसर्थ, गुनासोको राम्रो सुनुवाई मात्र भएको खण्डमा कर्मचारी र व्यवस्थापन बिचमा सदा सुमधुर सम्बन्धको विकास हुन सक्ने र विज्ञता, क्षमताको उपयोग हुनुको साथै, उनीहरूको वृति विकाससमेत हुने कुरामा कसैको विमति नरहला ।
संगठनको उद्देश्य निर्धारण, नयाँ धारणाको विकास, अरुबाट सिक्ने, उत्पादनको गुणस्तर सुधार, पुरस्कृत उद्योगको निरिक्षणबाट सिक्ने, तालिम, नेतृत्व, डर हटाउने, आपसी समन्वय, नारा र कुरा मात्र नगर्ने काम गर्ने, संख्यात्मक कोटा मात्र निर्धारण नगर्ने, अवरोध हटाउने, कामदारलाई शिक्षा र तालिम नियमित गर्ने र परिवर्तनको लागि सधैँ तयार रहने जस्ता मूलभुत सिद्धान्तलाई व्यवहारमा लागु गर्न सकियो भने संगठनको विकासको साथै, देशको आर्थिक विकाससमेत टाढा छैन । संगठनले कर्मचारीको उन्नती योजनाको उद्देश्य मात्र लिएर हुँदैन यससँग सम्बन्धित स्रोत तथा साधनहरू जस्तैः तालिम, अवलोकन भ्रमण, इन्र्टनसीप, पुस्तकालय तथा पत्रपत्रिकाको व्यवस्था, कार्य अवस्थामा विभिन्न शैक्षिक डिग्रीको व्यवस्था आदि गनुपर्दछ । नेपालको सन्र्दभमा हेर्दा, उन्नती योजनाको गति मन्द छ । बेरोजगारीको दर एकातर्फ बढिरहेको छ भने अर्कोतर्फ बदलिँदो परिवेशअनुरूप शिक्षा, तालिम र अवसरको अभाव छ । राम्रोभन्दा हाम्रो भन्ने परिपाटीको विकाससँगै नातावाद र कृपावादले जरो गाडेको छ । यसको अन्त्य नभएसम्म देशको विकास एवम् प्रशासनिक सुधार एवम् कर्मचारी उत्प्रेरणा हुन सक्दैन र कर्मचारी व्यवस्थापनलाई सेवाग्राही मैत्री बनाउन पनि सकिँदैन भन्नुमा कसैको दुईमत नहोला ।
(लेखक सार्वजनिक प्रशासनका ज्ञाता हुन् ।)
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies