काठमाडौं : अमेरिका लैजाने प्रलोभनमा पारेर ११ जना भारतीयलाई काठमाडौंमा बन्धक बनाउने ९ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा ८ जना भारतीय नागरिक र एक जना नेपाली नागरिक रहेका छन् । बुधबार राति पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।
प्रहरीले बन्धक बनाउने गिरोहका चरण जित सिंह, अशोक कुमार, अब्दुल रहिम, इन्दु सिंह यादव, निपुन गुप्ता, मनिष कुमार मल्होत्रा, रवि मिवदे र राम चन्द्र शर्मालाई सार्वजनिक गरेको छ । प्रहरीका अनुसार यादव बन्धक प्रकरणका मुख्य योजनाकार हुन् । नेपाली नागरिकको भने नाम खुलाइएको छैन । उनले नक्कली कागजात बनाएर भारतीयहरुलाई सहयोग गर्ने गरेको प्रहरीको दाबी छ ।
गिरोहले विभिन्न देशका नागरिकलाई युरोप, अमेरिका, अष्ट्रेलिया, क्यानडालगायतका देशमा पठाउने प्रलोभनमा पारेर नेपाल ल्याइ बन्धक बनाउने गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका भारतीयहरुले बन्धक बनेकाहरुका परिवारलाई भ्रममा पार्न मेक्सिकोको भाषा, संस्कृति, संगीत आदिसँग मिल्ने खालको कृत्रिम वातावरण सिर्जना गरी भिडियो कलमार्फत आफन्तलाई देखाएर ठूलो रकम माग गर्ने गरेकोे खुलेको प्रहरीले बताएको छ ।
नेपालीसहित विश्वका विभिन्न देशका नागरिकलाई मेक्सिको, ग्वाटेमाला, पानामा सिटी हुँदै अवैधानिकरुपमा अमेरिकासम्म पुर्याउने गरेकोे यसअघि पटक–पटक सार्वजनिक भएको थियोे । भारतीयहरुले बन्धक बनाएका भारतीय नागरिकका परिवारका सदस्य अमेरिकाको दक्षिणी छिमेकी देश मेक्सिको पुगेकाले भारतीय रुपैयाँ ४० लाख भारतमा रहेका एजेन्टहरुलाई दिन बाध्य पारेको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।
प्रहरीले पक्राउ परेकाहरुबाट मेक्सिको र ब्राजिलको समय निर्धारण गरिएको घडी, विभिन्न देशका मुद्रा, विभिन्न एयरलाइन्सका नक्कली बोर्डिङ पास, पीडितहरुको पासपोर्ट, शारीरिक यातना दिन प्रयोग हुने पाइपलगायतका सामान बरामद भएको बताएको छ । उनीहरुविरुद्ध मानव बेचबिखन तथा ओसारपसार र अपहरण तथा शरीर बन्धक कसुरमा अनुसन्धान गरी मुद्दा चलाउने प्रहरीले बताएको छ ।
यसैबीच वैदेशिक रोजगारीका लागि रुस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । एक लाख ६५ हजार ठगी गरेको अभियोगमा उदयपुरको उदयपुरगढी गाउँपालिका–९ ध्वासे फूलबारी घर भइ हाल काठमाडौंको स्वयम्भू बस्दै आएका ३० वर्षीय मिलन तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
तामाङले दुई जनालाई वैदेशिक रोजगारीका लागि रुस पठाइ कन्स्ट्रक्सनमा मासिक एक लाख रुपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक–पटक गरी उक्त रकम ठगी गरेको प्रहरीले बताएको छ ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरी टोलीले सामाखुसीबाट पक्राउ गरेको हो । तामाङलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies