निस्ता कार्की/मध्यान्ह
कालीकोट : कालीकोटको पलाँता गाँउपालिका वडा नं. ९ निवासी फुटबलका पुराना खेलाडी धिरेन बम अहिले भावी पुस्तालाई फुटबल खेलाडी बनाउन लागिपरेका छन् । २०६० सालमा १५ वर्षको उमेरमा कैलालीमा हुने वीरेन्द्र कप फुटबल खेलेका उनले अहिले फुटबल एकेडेमी र फुटसल सञ्चालनमा ल्याएका छन् ।
आफ्ना दाइ युद्ध शाहीसँगको सहकार्यमा बमले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं ४ मा फुटबल एकेडेमी र फुटसल सञ्चालनमा ल्याएका हुन् । उनी भन्छन्, ‘विगतमा मैले फुटबल खेलें, अहिले भावी पुस्तालाई खेलाउँछु भनेर दाइसँगको सहकार्यमा फुटबल एकेडेमी सञ्चालनमा ल्याएको हुँ ।’
उनले कर्णाली प्रदेशमै फुटबलप्रति आकर्षण बढाउने र खेलाडी उत्पादन गर्ने उद्देश्यले फुटबल एकेडेमी सञ्चालन ल्याएको बताए । उनले भने, ‘हरेक नागरिकलाई स्वस्थ राख्न र बालबालिकाहरुलाई कुलतबाट जोगाउनका लागि खेलप्रति आकर्षण गारउने मुख्य उद्देश्य हो । मेरो दाइ युद्ध शाही त्रिभुवन आर्मी क्लवबाट विगत १७ वर्षदेखि फुटबल खेलिरहेको खेलाडी हो । त्यसैले यो एकेडेमी सञ्चालनमा उहाँले सहयोग गर्नुभयो ।’
सानैदेखि फुटबलप्रति रुची राख्ने बम आफ्नो जन्मभूमि कालीकोटमा त्यतिबेला भलिबलमात्र खेल हुने सम्झन्छन् । तर आफू सानैदेखि कैलालीको टिकापुर बस्ने भएकाले फुटबल खेल्न अवसर मिलेको उनी बताउँछन् । त्यतिबेला गाउँमा ‘काम नपाएर खेल खेल्छन्’ भन्ने भाष्य रहेको उनी बताउँछन् । तर आफू टिकापुर बस्ने भएकाले फुटबल खेल्न परिवारबाट कहिल्यै अवरोध नभएको उनी बताउँछन् । तर पनि आमाले राम्रो पढेर सरकारी जागिर खाए हुनेथियो भनेर आफूसँग गुनासो गर्ने गरेको उनी सम्झन्छन् । उनका दाइ दिपक बम पनि फुटबलका राम्रा खेलाडी थिए । दाइले विभिन्न प्रतियोगितामा मेडल ल्याएको देख्दा आफूलाई पनि फुटबलमा केही गरेर देखाउने सोच आएको उनी बताउँछन् ।
उनी भन्छन्, ‘२०६० सालबाट २०६६ सालसम्म टिकापुरमै रहेर लगातार मैले फुटबल खेलें । त्यसपछि ११ र १२ काठमाडौंमा पढें । फाट्टफुट्टरुपमा मैले खेल खेलिरहें । २०६८ सालमा म कालीकोट फर्किएँ । मैले कालीकोट आउँदा जिल्लामा फुटबल खेललाई स्थापित गर्नुपर्छ भन्ने सोच बनाएँ ।’
कालीकोटमा फुटबल खेलको प्रतियोगिता थालनी गर्ने खेलाडी बमले अगाडि भने, ‘२०६८ सालबाट कालीकोटको विकट क्षेत्र पलाँताको थिर्पुमा बसेर घाटा चौरमा फुटबल ग्राउण्ड आफैं निर्माण गरी खेल खेल्ने र खेलाउन थालें । त्यसपछि जिल्लामै पहिलो २०७१ सालमा घाटा चौरमा दशैं र तिहारको उपलक्ष्यमा जिल्लास्तरीय खुला फुटबल प्रतियोगिता आयोजना गरें ।’
गाँउमा खेल खेल्ने मान्छेलाई राम्रो नमान्ने समाजमा आफूले ठूलो प्रतियोगिता आयोजना गरेको उनले बताए । त्यस प्रतियोगितालाई धेरैले सहयोग गर्न पनि नरुचाएको उनले बताए । तर पनि शानदाररुपमा उक्त प्रतियोगिता सम्पन्न भएको उनी बताउँछन् । जसले आफ्नो फुटबल जीवनमा थप उत्साह जगाएको उनले बताए । उनी भन्छन्, ‘२०७१ र २०७२ सालमा घाटा चौरमै खुला फुटबल प्रतियोगिता सम्पन्न भयो । त्यसबाट मैले जिल्लाबाट उत्कृष्ट खेलाडीका रुपमा क्षेत्रीय स्तरका प्रतियोगितामा भाग लिने अवसर पाएँ । खेल खेल्दै गर्दा मैले बेलायती र भारतीय सेनाका लागि पनि प्रयास नगरेको होइन । तर सफल हुन सकिनँ । त्यसपछि मैले फुटबलमै लाग्ने योजना बनाएँ ।’
उनले अगाडि भने, ‘२०७१ सालदेखि २०८० सालको असोजसम्म निरन्तर फुटबल खेलें । राष्ट्रिय स्तरको फुटबल प्रतियोगितामा प्रदेशबाट पनि खेलें । फुटबलसँगै एथलेटिक्स, ट्रायाथलन खेलमा पनि भाग लिएँ । तर मेरो स्वास्थ्यको समस्याका कारण खेल जीवनलाई पनि निरन्तरता दिन नसक्ने अवस्था आएपछि २०८० साल असोजमा जिल्लामा आयोजना भएको प्रेम स्मृति गोल्डकप खेलेर सन्यास लिएँ । मैले २०६० सालदेखि २०८० सम्म २० वर्ष फुटबल खेलमै समय बिताएँ । अहिले अन्य क्षेत्रमा लाग्न मन पनि भएन ।’
उनले सुर्खेतमा अहिले फुटसलसँगै भारतीय र बेलायती आर्मी भर्तिका लागि युवाहरुलाई तालिम दिने काम पनि गरिरहेका छन् । उनले भने, ‘म आफू भर्ति हुन सकिनँ । तर अरु युवाहरुलाई भर्ति हुन सहयोग पुगोस् भनेर कर्णाली वारियर्स नामक तालिम केन्द्र दर्ता गरी सञ्चालनमा ल्याएको छु । हालसम्म कर्णाली वारियर्सबाट ५८ जना भारतीय सेना र एक सय जनाभन्दा बढी नेपाली सेनामा भर्ति भएका छन् ।’
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies