काठमाडौं : सामाखुसी क्षेत्रमा कार्यालय स्थापना गरेका वैदेशिक रोजगार व्यवसायीलाई घरधनीहरुले साथ दिएका छन् । काठमाडौं महानगरपालिकाको ७ दिनभित्र कार्यालय हटाउनुपर्ने उर्दीपछि भएको म्यानपावर व्यवसायी र घरधनीहरुबीचको छलफलमा घरधनीहरुले म्यानपावर कम्पनीहरुले घर छोड्नुपर्ने पक्षमा आफूहरु नरहेकाले ट्राफिक व्यवस्थापन गरेर पूर्ववतरुपमा कार्यालय सञ्चालन गर्न आग्रह गरेको विस्डम ह्युमेन रिसोर्स प्रा.लि.का सञ्चालक भेष केसीले जानकारी दिए ।
महानगरपालिकाले ७ दिनभित्र कलकारखानासहित म्यानपावर कम्पनीका कार्यालय आवासीय क्षेत्र बाहिर सार्न माइकिङ गरेपछि वैदेशिक रोजगार व्यवसायी एकता समितिले वडाध्यक्षलगायतसग महानगरपालिकाले गरेको माइकिङका सम्बन्धमा छलफल गरेको थियोे । छलफलमा वडाध्यक्ष ख्यामराज तिवारीले म्यानपावर कम्पनीको कार्यालय राख्न नदिने वा दिने भन्ने कानूनमा स्पष्ट नभएको, तर आवासीय क्षेत्र छुट्याइएको अवस्थामा आवासीय क्षेत्रमा मापदण्डअनुसार हुनुपर्ने मध्यमार्गी धारणा सार्वजनिक गरेका थिए ।
व्यवसायी केसीले महानगरपालिको उर्दीपछि पहिलेदेखि नै कार्यालय सार्ने योजना बनाएका बाहेक उर्दीकै कारणले कुनै पनि म्यानपावर कम्पनी नसरेको जानकारी दिए । व्यवसायीहरुले कार्यालय सार्न वैदेशिक रोजगार विभागको अनुमतिसहित अन्य कानूनी प्रक्रिया पूरा गर्नुपर्ने भएकाले महानगरपालिकाले भन्नेबित्तिकै कार्यालय सार्न नसकिने बताएका छन् ।
काठमाडौं महानगरले माइकिङ गर्दै उक्त क्षेत्रमा सञ्चालनमा रहेका म्यानपावर कम्पनीसहित उद्योगहरु ७ दिनभित्र स्थानान्तरण गर्न निर्देशन दिँदै ७ दिनको अवधिमा स्थानान्तरण नगरेमा कानूनी कारबाही गर्ने बताएको थियोे । तर त्यसपछि महानगरपालिकाबाट थप कुनै निर्देशन आएको छैन । व्यवसायी केसीले वैदेशिक रोजगार व्यवसायीहरुबीच पार्किङको समस्यालाई समाधान हुने गरी पार्किङ तथा अन्तर्वार्ताका गतिविधि सञ्चालन गर्ने सहमति भएको र सोही अनुसार पार्किङ र अन्तर्वार्ताको कामहरु भइरहेको बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies