काठमाडौं : नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालमा लगानीकर्ताका लागि अनुकूल वातावरण बन्दै गएको देखिएको र सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर सँगसँगै काम गरिरहेको बताएका छन् ।
तेस्रो लगानी सम्मेलनको उद्घाटनसत्रमा परिसंघ अध्यक्ष अग्रवालले नेपालमा लगानीका लागि पर्याप्त सम्भावना रहकाले विदेशी लगानीकर्तालाई यहाँ लगानीका लागिसमेत आह्वान गरे । “नेपालको प्रचुर प्राकृतिक स्रोत, सांस्कृतिक विविधता र रणनीतिक अवस्थिति भएकाले नेपालमा लगानीको दिगो प्रतिफल हासिल गर्न सक्ने पर्याप्त ठाउँ छ । पर्यटनदेखि प्रविधिसम्म, पूर्वाधार विकासदेखि नवीकरणीय ऊर्जासम्म, शिक्षादेखि स्वास्थ्य सेवासम्म सम्भावनाका क्षेत्र पहिचान भएका छन्”, उनले भने ।
नेपालले नवप्रवर्तन, उद्यमशीलता र समावेशी आर्थिक विकासको लक्ष्य लिएको धारणा अध्यक्ष अग्रवालले राखे । “नेपालले पहिचान गरेका र प्रस्ताव गरेका लगानी सम्भावनाबाट हामी सबैले लाभ लिन सक्नुपर्छ । यो सम्मेलनलाई लगानी प्रवद्र्धनका लागि अधिकतम सदुपयोग गर्न र यसलाई रोजगारी सृजना, पूर्वाधार विकास र सामाजिक–आर्थिक प्रगतिसँगै जोड्न सहकार्यका लागि आग्रह गर्दछु”, उनले भने ।
नेपालको पर्यटन क्षेत्र, सूचना प्रविधि र जलविद्युत् क्षेत्र पनि लगानीका लागि प्रमुख सम्भावना भएको क्षेत्रका रुपमा रहेको उनको भनाइ छ ।
“नेपालको प्राकृतिक सौन्दर्यले यहाँको साहसिक पर्यटनको सम्भावना र सांस्कृतिक पर्यटन विकासका लागि प्रमुख गन्तव्य बन्नसक्ने सम्भावना देखाउँछ । जलविद्युत् क्षेत्रलाई नेपालमा लगानीको प्रचुर सम्भावना भएको क्षेत्रका रुपमा बुझ्न सकिन्छ । प्रचुरमात्रामा जलस्रोत र स्वच्छ ऊर्जा उत्पादन गर्ने सम्भाव्यतालाई ध्यानमा राख्दै नेपाल लगानीका लागि महत्वपूर्ण क्षेत्र हो”, परिसंघ अध्यक्ष अग्रवालले भने, “जलविद्युत् पूर्वाधारको विकासमा भएको लगानीले नेपालको ऊर्जा सुरक्षामा मात्र योगदान पुर्याउँदैन, छिमेकी देशहरूमा निर्यातको अवसर पनि प्रदान गर्दछ ।”
नेपाल दक्षिण एशियाली क्षेत्रमा उदीयमान सूचना प्रविधि (आइटी हब)का रूपमा आफूलाई स्थापित गर्ने चरणमा रहेको उनले बताए । नेपालले सूचना प्रविधि क्षेत्रबाट निर्यात गर्नसमेत थालिसकेको अग्रवालले बताए । त्यसैगरी, नेपालमा शिक्षा, स्वास्थ्य सेवा, चिया, घरजग्गा र कपडालगायतका विविध क्षेत्रहरूमा लगानीकर्ताहरूको लागि उपयुक्त सम्भावना छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies