पोखरा : सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको चौथो प्रतियोगिता, सूर्य नेपाल वेस्टर्न ओपनको पहिलो दिन भुवन नगरकोटीले एक स्ट्रोकको अग्रता बनाएका छन् । पोखरास्थित पार–६९ को हिमालयन गल्फ क्लबमा पूर्व नम्बर एक प्रो भुवन ३–अण्डर ६६ को स्कोरमा शीर्ष स्थानमा रहेका हुन् । एमेच्योर खेलाडी सदभाव आचार्य २–अण्डर ६७ मा खेल सकाउँदै दोस्रो स्थानमा रहे । रवि खड्का र निरज तामाङले इभन–पार ६९ को स्कोरमा तेस्रो स्थान बाँडे ।
१–ओभर ७० सहित धन बहादुर थापा पाँचौं स्थानमा रहँदा दीपक आचार्य र टंक बहादुर कार्की २–ओभर ७१ सहित संयुक्तरुपमा छैटौं स्थानमा रहे । बलभद्र राई, भुवन कुमार रोक्का, दीपक मगर, दिनेश प्रजापति तथा एमेच्योर सुन्दर राई ३–ओभर ७२ को स्कोरमा संयुक्तरुपमा आठौं स्थानमा रहे ।
लिडर भुवनले दोस्रो होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइनमा १–अण्डर ३३ मा पूरा गरे । यसपछि तीन बर्डी खेलेका उनले एक बोगी खेप्दा ब्याक नाइन २–अण्डर ३५ मा सकाए । भुवनले ११औं, १५औं र १८औं होलमा एक–एक सट बचाउँदा १२औं होलमा बोगीको सामना गरे ।
सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता, सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि विजेता सदभावले फ्रन्ट नाइन १–अण्डर ३३ र ब्याक नाइन १–अण्डर ३४ मा सकाए । उनले तेस्रो होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन बोगी रहित खेले । यसपछि १२औं होलमा बोगी खेपेका सदभावले १३औं र १५औं होलमा बर्डी प्रहार गरे ।
पूर्व नम्बर एक प्रो रविले फ्रन्ट नाइन इभन–पार ३४ मा सकाए र ब्याक नाइनमा इभन–पार ३५ खेले । चौथो र आठौं होलमा बर्डी प्रहार गरेका रविले छैटौं होलमा डबल बोगी खेपे । यसपछि १०औं होलमा बर्डी प्रहार गरे भने रविले १८औं होलमा एक सट खेर फाले ।
निरजले फ्रन्ट नाइनमा बोगी रहित १–अण्डर ३३ खेल्दा ब्याक नाइनमा १–ओभर ३६ खेले । उनले तेस्रो होलमा बर्डी प्रहार गरे । यसपछि निरजले १३औं र १५औं होलमा बोगी खेपे भने १४औं होलमा एक सट जोगाए ।
तीन दिनसम्म चल्ने प्रतियोगिता ५४ होलको हुनेछ । काठमाडौं बाहिर हुने दुई प्रतियोगिता मध्ये एक, सूर्य नेपाल वेस्टर्न ओपनमा ३५ प्रोफेसनल र १५ एमेच्योर खेलाडीको सहभागिता रहेको छ ।
डिफेन्डिङ च्याम्पियन तथा नेपाल नम्बर एक गल्फर शुक्र बहादुर राई र सुवास तामाङ भारतीय गल्फ टुरमा व्यस्त रहेकाले यस प्रतियोगितामा उनीहरुले सहभागिता जनाएका छैनन् । गत महिना धरानमा सम्पन्न सूर्य नेपाल इस्टर्न ओपनको उपाधि जितेर शुक्र भारतीय गल्फ टुरमा सहभागिता जनाउन गएका हुन् । पूर्व नम्बर एक एमेच्योर गल्फर सुवासले प्रोफेसनल गल्फ टुर अफ इण्डियाको क्वालीफाइङ स्कुलमा दोस्रो हुँदै भारतीय गल्फ टुरको २०२४ सिजनको लागि कार्ड प्राप्त गरेका हुन् ।
३६ होलको समाप्तीमा कट लागू हुनेछ । जहाँ २१ टप प्रोफेसनल खेलाडीले अन्तिम १८ होलका लागि स्थान बनाउनेछन् । एमेच्योर खेलाडीको हकमा पनि प्रोफेसनल खेलाडीको कटमा पर्नेले मात्र अन्तिम दिन प्रतिस्पर्धा गर्न पाउनेछन् ।
कूल ८ लाख ४० हजार नगद पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले १ लाख ४० हजार, तथा दोस्रो र तेस्रो हुनेले क्रमशः ९६ हजार र ७२ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । चौथो र पाँचौं स्थान प्राप्त गर्ने प्रोफेसनल खेलाडीले क्रमशः ५९ हजार र ५० हजार हात पार्ने छन् । साथै उत्कृष्ट २१ मा पर्न सफल अन्य गल्फरले नगद हात पार्ने छन् ।
प्रतियोगिताको अन्तिम दिन शनिबार प्रो–एम प्रतियोगिता हुनेछ । सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गत जारी सिजनमा कूल आठ प्रतियोगिता रहेका छन् । जसमा कूल ६५ लाख नगद पुरस्कार रहेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies