–टंककला तिमिल्सेना
कुनैपनि देशको नागरिक अपवाद बाहेक विदेश यात्रा गर्दा आवश्यक पर्ने प्रमुख कागजात हो राहदानी (पासपोर्ट) । अझै यसलाई प्रष्ट बुझ्दा कुनै सार्वभौम मुलुकको सरकारले आफ्ना नागरिकलाई विदेश यात्रा गर्न वा यात्राका क्रममा बाहकलाई संरक्षण प्रदान गर्न निजको परिचयसहित जारी गरेको आधिकारिक कागजात हो राहदानी । राहदानीले बाहकको परिचय दिने हुँदा अन्तर्राष्ट्रिय यात्राका लागि अन्यथा व्यवस्था भएमा बाहेक राहदानी आवश्यक हुन्छ नै । नेपालको राहदानी ऐन, २०२४ अनुसार राहदानी भन्नाले विदेश भ्रमणमा जाने नेपाली नागरिकलाई त्यस्तो भ्रमण गर्न अनुमति प्रदान गरी त्यस्तो भ्रमणमा जाने देशहरू तथा समय तोकी नेपाल सरकारबाट दिइने लिखत सम्झनुपर्छ ।
राहदानी नियमावलीअनुसार कुटनीतिक (रातो रंग), विशेष (निलो रंग) र साधारण (हरियो रंग) गरी तीन प्रकारका राहदानी प्रचलनमा छन् । यसका अतिरिक्त विभागले यात्रा अनुमति पत्र (कालो रंग) पनि जारी गर्छ । राहदानीको वर्गीकरणले यसभित्रको सार्मथ्य अर्थात् बलियोपनलाई दर्शाउछ । यसबाट के बुझ्न सकिन्छ भने राहदानी पनि कोही कमजोर र कोही अली बढी शक्तिशाली हुन्छन् ।
अहिले बहसको विषय हो– समग्रमा विश्व समुदायमा नेपाली राहदानीको शक्ति कति ? अर्थात् नेपालको राहदानी कति बलियो छ ? ‘द हेन्ली पासपोर्ट इन्डेक्स’ले गरेको २०२४ को ताजा सर्वेक्षणलाई आधार मान्दा नेपालको राहदानी विश्व समुदायमा कमजोर कहलिएको छ । विभिन्न आधारमा तयार पारिएको २०२४ को ताजा प्रतिवेदनले के देखाएको छ भने विश्वका शक्तिशाली पासपोर्ट (राहदानी)हरूको सूचीमा नेपाल १०३ औं स्थानमा परेको छ । यो स्थानको विशेष आधार भनेको सबैभन्दा बढी मुलुकमा पाउने अन एराइभल भिसाको मूल्यांकन हो । ‘द हेन्ली पासपोर्ट इन्डेक्स’ प्रतिवेदनअनुसार हाल १०३ औं स्थानमा रहेको नेपालको पासपोर्टमा ४० वटा मुलुकमा मात्रै अनरआइभल भिसा पाउने व्यवस्थालाई महत्वका साथ स्थान दिइएको छ । ‘द हेन्ली पासपोर्ट इन्डेक्स’ प्रतिवेदनको सूचीमा सबैभन्दा शक्तिशाली पासपोर्टको पहिलो स्थानमा फ्रान्स, जर्मनी, इटाली, जापान, सिंगापुर र स्पेनको नाम छ । ती सबै देशका पासपोर्ट बाहकले १९४ मुलुकमा अनअराइभल भिसा पाउँछन् ।
हुनत, यस अध्ययनले पार्सपोर्ट बलियो मान्ने समग्र आधारमाथि अध्ययन गरेको छैन । यसमा राजनीतिक र कूटनीति अध्ययनको पाटो नसमेटिएको हुनाले पनि यही नै सम्पूर्ण हो भन्न मिल्दैन तर, विश्व समुदायमा नेपाल कति शक्तिशाली छ भन्ने विश्लेषण हुँदै गर्दा यस अध्ययनले प्रभाव भने राख्छ ।
नेपाली राहदानी बाहकको विदेश अवस्था
अध्यागमन विभागको तथ्यांकअनुसार नेपालबाट पछिल्लो एक वर्षमा ७० हजार नौ सय १५ जना नेपाली स्थायी बसोबासका लागि विदेश गएका छन् । यो संख्या सन् २०२३ मा नेपालबाट स्थायी बसोबास गर्नका लागि विदेश जाने नेपालीको हो । तथ्यांकलाई हेर्दा, नेपाली राहदानीको प्रयोग गरी सन् २०२३ मा १६ लाख तीन हजार आठ सय ३८ जना विदेशीए । पछिल्लो एक वर्षमा विदेश गएकामध्ये तीन लाख ४० हजार तीन सय ६९ जना नेपाली विदेशमा नै बसेको देखिएको छ । यस अवधिमा अध्ययनको कारण देखाएर एक लाख आठ हजार पाँच सय ४२ जना, अस्थायी बसोबास भिसामा ९२ हजार तीन सय ४९, स्थायी बसोबास भिसामा ७० हजार नौ सय १५ जना र विवाह गरेर डिपेन्डेण्ट भिसामा २० हजार छ सय १३ जना नेपाली विदेश गएका छन् ।
पछिल्लो वर्षमा दुई लाख ९२ हजार दुई सय ४० नेपाली कुनै न कुनै रूपमा विदेश बस्नेगरी गएको विभागको आँकडा छ । यो तथ्यांकमा भारतको बाटो भएर तेस्रो देशमा गएका नागरिकहरूको संख्या समावेश छैन । नेपालको जनगणना २०७८ अनुसार नेपालका १५ लाख ५५ हजार नौ सय ६१ घरपरिवारका व्यक्ति विदेशमा छन् । विदेश बस्नेको जनसंख्या २१ लाख ९० हजार पाँच सय ९२ छ । सबैभन्दा धेरै वैदेशिक रोजगारीमा जाने प्रदेश लुम्बिनी देखिएको छ । यहाँका तीन लाख आठ हजार ७३ घरपरिवारका चार लाख २० हजार नौ सय छ जना विदेशमा छन् । यस हिसाबमा लुम्बिनी प्रदेशका १९ प्रतिशत नागरिक विदेशमा छन् ।
वैदेशिक रोजगारी विपन्न र बेरोजगार युवाका लागि रहर मात्र नभई बाध्यता नै बनिरहेको देखिन्छ । त्यसैले पनि देशमा जीविकोपार्जन हुनेगरी रोजगारी नपाउँदा दैनिक गर्जो टार्नकै लागि जोखिमपूर्ण वैदेशिक रोजगारीमा होमिनेको संख्या कम छैन । धेरै कमाउने लोभमा हजारौं नेपाली युवाहरू युद्धग्रस्त क्षेत्रमा समेत होमिएका छन् । पछिल्लो समय रूसी सेनामा भर्ती भएका नेपाली युवाका दर्दनाक कथा व्यथा सार्वजनिक भइरहेका छन् । तर, पनि रोकिएको छैन विदेश यात्रा ।
पछिल्ला वर्षहरूमा यूरोपियन मुलुकमा नेपालीको गन्तव्य बढ्दो क्रममा छ । यहाँबाट श्रमका लागि भन्दै युरोप जानेहरू हजारौं छन् । तर, यहाँबाट एक मुलुकका लागि भिसा लगाउने र युरोप क्षेत्र पुगेको केही महिनामै त्यहाँका अन्य मुलुकमा लुक्ने प्रवृति बढ्दो छ । साथै, युरोपमा शरणार्थी बनेर त्यहाँको नागरिक बन्ने प्रवृति उच्च गतिमा बढेको छ । यसले नेपालको छवि अन्तर्राष्ट्रिय जगतमा कमजोर बनाइरहेको छ । जसको चंगुलमा नेपालको राहदानी परिरहेको छ । केही हप्ता अघि मात्रै परराष्ट्र मन्त्रालयले समेत युरोपमा नेपालीको हरकतले साँच्चै काम परेर युरोप जाने चाहानेलाई अप्ठ्यारोमा पार्नेतर्फ सचेत गराउँदै श्रम मन्त्रालयलाई सुझाव दिएको थियो ।
परराष्ट्रका अधिकारीहरूका अनुसार युरोपमा नेपालीहरू लुकेर बस्ने, शरणार्थी बन्ने प्रवृति उच्च हुँदै गएको छ । युरोप मात्रै होइन अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडालगायतका मुलुकमा पनि एक प्रयोजनका लागि प्रवेश अनुमति लिने तर, अन्य बाटो खोजेर उतै लुकेर बस्ने प्रवृति हाबी छ नेपालीहरूमा । आप्रवासी प्रति कठोर कानूनहरू अख्तियार गर्दै आइरहेका यी मुलुकले नेपालीहरूको यो प्रवृतिलाई राम्रोसँग बुझेका छन् । तर, शक्ति सन्तुलनताका लागि केही लचकता देखाएका मात्र हुन् भन्ने नेपालीले बुझ्न आवश्यक छ । यस्ता प्रवृति मूल्यांकन गर्दै नेपालको राहदानीलाई कम प्रथमिकता दिइरहेको वर्तमान अवस्था छ । यसलाई सुधारमा राज्यबाटै नीतिगत र व्यवहारिक पक्षको व्यवस्थापन आवश्यक छ ।
अन्तर्राष्ट्रिय छवि र राहदानी मूल्यांकन
नेपालको अन्तर्राष्ट्रिय छवि निकै कमजोर बन्ने खतरा छ भनि विभिन्न समयमा चासो र चर्चा हुने गर्छ । विशेषत, प्रमुखरूपमा चलायमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रयोग गरी भइरहेका बढ्दो आपराधिक क्रियाकलापका घटना बाहिरिएका समय अन्तर्राष्ट्रिय छवि कमजोर बनिरहेको छ भनि आवाज उठ्ने गर्छन् । क्वीन्टलका क्वीन्टल सुन अवैधरूपमा भित्रिने, लागुपदार्थ बेचबिखनको धन्दा हुँदासमेत विमानस्थलकै प्रयोग गरिएका घटना, राजनीतिक अस्थिरताले परराष्ट्र नीतिमा खरो उत्रन नसकेको अवस्थाले अन्तर्राष्ट्रिय छविलाई कमजोर सावित गर्ने बाटोतर्फ धकेलिरहेको देखिन्छ । अझै भ्रष्टाचार र अवैध सम्पत्तिको थुप्रदो अवस्था छ । सम्पत्ति शुद्धीकरणको विषय झनै जबरजस्तरूपमा सतहमा छन् ।
कूटनीति कमजोरी
कूटनीति एउटा यस्तो हतियार हो, जसले आफूले प्राप्त गर्न चाहेको कुरा अन्य देशबाट सजिलै पाउन सक्छ । तर, यसका लागि कूटनीतिक धरातल र अभ्यास बलियो हुनुपर्छ । पछिल्ला वर्षमा नेपालले कूटनीतिक अभ्यासमा एकपछि अर्को कमजोरी गर्दै गएको भन्दै विज्ञहरूले टिप्पणी गर्दै आएका छन् । कूटनीतिक अभ्यास केवल अन्तर्राष्ट्रिय क्षेत्रसँगको सम्बन्धमा मात्र सीमित हुँदैन भन्ने तथ्य सायद नेपाली राजनीतिज्ञ र कूटनीतिज्ञ एवम् अन्य सरोकारवालाले बेमतलब गर्दै आएका छन् । कूटनीतिले मुलुकको नेतृत्वमा रहेको परिपक्वतालाई समेत दर्शाउँछ । कूटनीति नेता र सरकार विशेषको हुँदैन । यो त घरेलु नीतिको विस्तार हो । घरभित्रको अवस्था जे–जस्तो होस् मुलुकको हितका निम्ति अन्तर्राष्ट्रिय क्षेत्रमा आवश्यकताअनुसारको कूटनीतिक अस्त्र सन्तुलित गर्नैपर्छ ।
वर्तमान अवस्थामा कूटनीति कमजोर हुनुको प्रमुख कारणका रूपमा देखिएको छ–एकरूपतामा अभाव । सबै दलले कूटनीतिक एकरूपतालाई साझा विषय बनाउन सकेका छैनन् । प्रत्येक दलका आ–आफ्ना स्वार्थ छन्, जो दलीय चरित्र पनि हो र यसलाई स्वभाविक मानिन्छ । तर, अन्तर्राष्ट्रिय क्षेत्रसँग व्यवहार गर्दा सबैको धारणा समान हुनैपर्छ । विश्व शक्ति राष्ट्रका रूपमा कहलिएका मुलुकहरूलाई हेर्दा, उनीहरूको कूटनीतिमा जहिल्यै एकरूपता देखिन्छ । सरकार परिवर्तन हुन्छ यी मुलुकहरूमा पनि तर, पूर्ववर्ती सरकारले लिएको अन्तर्राष्ट्रिय कूटनीतिक बाटोमा मर्म मारेर फरकपन देखिन्न ।
नेतामा हुनुपर्ने प्रमुखमध्येको एक गुण हो–भीडबाट निर्देशित नहुनु र भीडलाई आफूले दिएको धारणाका आधारमा मार्गदर्शन गर्न सक्षम हुनु । तर, नेपालमा सूचनाको तथ्यलाई परिमार्जन गरी सोअनुसार बुझेर उग्रता मच्चाउने भीडले भनेको कुराकै पछि लागेर बोली फेर्ने प्रवृति नेताहरूमा छ । नेताहरू आफूले गरेका सन्धी, सम्झौता र समझदारीको कार्यान्वयनमा प्रतिबद्ध देखिन्न् । कि त समझदारी गर्नु पूर्व नै पर्याप्त विचार पु¥याउनु पर्छ । एउटा सरकारले एक सम्झौता गर्ने अर्को सरकारले फरक मत राख्ने यस्तो प्रवृतिले पनि नेपालको अन्तर्राष्ट्रिय छविलाई मैलो बनाउँदै लैजाने हुन्छ । यी सबैको प्रभाव नेपाली राहदानीमा पर्ने गरेको छ । हाम्रो राहदानी नै कमजोर बनिरहेको छ । सोही कारण नेपाली नागरिकले विदेश भिसा लगाउन अनेकौ दुःख भोग्नु परिरहेको छ ।
त्यसैले मुलुकको भूमि तुलनात्मकरूपमा सानो भए पनि कूटनीतिक अस्त्रलाई जति तिखा¥यो त्यति नै विश्व जगतमा शक्तिशाली बन्ने हो र राहदानीको गरिमा पनि बढ्ने हो । पञ्चशीलका सिद्धान्त, असंलग्नता, संयुक्त राष्ट्रसंघको बडापत्र, अन्तर्राष्ट्रिय कानून र विश्व शान्तिका मापदण्डहरूले अन्तर्राष्ट्रिय मञ्चमा हाम्रो परराष्ट्र नीतिले मार्गदर्शन गर्ने कुरामा ध्यान दिनु नै पहिलो दायित्वको रूपमा लिन आवश्यक छ । सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितको रक्षा हरेक सरकारको सर्वोच्च प्राथमिकता र दायित्व बन्न आवश्यक छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies