काठमाडौं : पश्चिम एशिया फुटबल एशोसिएसनको आयोजनामा साउदी अरेबियामा जारी वाफ च्याम्पियनसिप महिला फुटबल प्रतियोगितामा नेपालले समूह चरणमा लगातार दोस्रो जित निकालेको छ । नेपालले इराकलाई ५–० गोल अन्तरले पारजित गरेको हो । नेपालका लागि सबै गोल सावित्रा भण्डारी 'साम्बा'ले गरेकी हुन् ।
खेलको १३औं मिनेटमा सावित्राले नेपाललाई शुरुवाती अग्रता दिलाएकी थिइन् । त्यसको दुई मिनेटमै सावित्राले नेपालको अग्रता दोब्बर पारिन् । खेलको ३६औं मिनेटमा सावित्राले ह्याट्रिक गरेकी थिइन् । पहिलो हाफ सकिन एक मिनेट अघि उनले नेपालका लागि चौथो गोल गरिन् ।
दोस्रो हाफमा नेपालले गोलका पर्याप्त अवसर सिर्जना गरेपनि सफल हुन सकेन । खेलको ८० औं मिनेटमा गोल गर्दै सावित्राले नेपाललाई ५–० को शानदार जित दिलाइन् ।
नेपालले २ खेलमा ६ अंक जोडेको छ । नेपालले समूह चरणको पहिलो खेलमा सिरिया माथि ४–१ को शानदार जित हात पारेको थियो । नेपालले अब समूह चरणको अन्तिम खेलमा प्यालेस्टाइन विरुद्ध शनिबार खेल्ने छ ।
अर्को समूहमा साउद अबर, लेवनान, जोर्डन र ग्वाम रहेका छन् । दुवै समूहका शीर्ष २ टिमले सेमिफाइनलमा स्थान बनाउने छन् । नेपाल यो प्रतियोगितामा आमन्त्रित टोलीको रुपमा सहभागिता जनाएको हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies