काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आयोजनामा आगामी मार्च महिनाको पहिलो हप्ता यूएईमा हुने रोजगार मेला ‘जव तथा बिजनेश फेयर’मा ५ दर्जन बढी वैदेशिक रोजगार व्यवसायीले भाग लिने भएका छन् ।
आइतबारसम्म ६० भन्दा बढी व्यवसायीले रोजगार मेलाका लागि स्टल बुकिङ गरेको रोजगार तथा बिजनेस मेलाका लागि संघले प्रथम उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय कोअर्डिनेटर डिक बहादुर खत्रीको संयोजत्वमा गठन गरेको मूल आयोजक समितिका सदस्य कर्णराज कटुवालले जानकारी दिए ।
मेलामा भाग लिन व्यवसायीहरुले ९६ हजारको हाराहारीमा शुल्क बुझाएका छन् । यूएईको होटल मरिनामा हुने तय भएको जव फेयरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी, सचिव केवलप्रसाद भण्डारी, वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेती सहभागी हुने तय भएको पनि कटुवालले जानकारी दिए ।
यूएईस्थित नेपाली दूतावासको सहकार्य रहने जव फेयरमा यूएईस्थित रोजगारदाताहरु, सबै स्टेटका चेम्बर, इन्डियन इन्भेष्टमेन्ट ग्रुप, सबै बिजनेस कम्युनिटी, एचआर एशोसिएसन र आधिकारिक नेपाली चेम्बरहरुलाई सहभागी गराउने तयारी रहेको संघका महासचिव तथा सदस्य सचिव मेघनाथ भुर्तेलले जानकारी दिए ।
यूएईमा नेपाली कामदारका लागि धेरै क्षेत्रमा रोजगारीको सम्भावना भएपनि बिचौलियाहरुका कारण समस्या रहेकाले रोजगारदाताहरुसँग नेपाली म्यानपावर व्यवसायीहरुको प्रत्यक्ष सम्बन्ध स्थापित गर्न जव फेयर आयोजना गर्न लागिएको संघले बताएको छ । मेला मूल आयोजक समितका संयोजक खत्री तथा संघका यूएई संयोजक नारायण भुसाललगायत व्यवसायी तयारीका लागि यूएई पुगिसकेका छन् ।
नेपालले १७ वर्षअघि २००७ को जुन ६ तारिकमा दुबईको ग्रान्ड हयात होटलमा जव फेयर गरेको थियो । उक्त जव फेयरका कारण नेपालमा कामदारहरु अदक्ष मात्र उपलब्ध छन् भन्ने यूएईका रोजगारदाताहरुको सोचाइ नै परिवर्तन भएको थियो । पछिल्ला महिनाहरुमा यूएई धेरै नेपाली कामदार जाने श्रम गन्तव्य मुलुकको शीर्ष स्थानमा रहेको छ ।
यूएई र नेपाल सरकारबीच यसअघि भएको सम्झौताअनुसार नेपाली कामदारको खर्च रोजगारदाताले नै व्यहोर्नुपर्ने व्यवस्था छ । सम्झौतामा कामदारले कुनै पनि शुल्क भुक्तानी गर्नु नपर्ने भएपनि रोजगारदाताको कमीकमजोरीका कारण कतिपय अवस्थामा कामदारहरु शुल्क तिरेर जाने गरेका छन् ।
म्यानपावर कम्पनी र रोजगारदाता कम्पनीको प्रत्यक्ष सम्पर्कको अभावका कारण बिचौलियाले फाइदा लिएको र उनीहरुलाई कामदार भर्ना प्रक्रियाबाट पन्छाएर म्यानपावर कम्पनी र रोजगारदाताको प्रत्यक्ष सम्बन्ध स्थापित गर्नका लागि जव फेयर आयोजना गर्न लागिएको संघको भनाइ छ । संघले बृहत् रुपमा कार्यक्रम सफल बनाउन सल्लाहकार समिति, मूल समिति र ५ वटा उपसमिति गठन गरिसकेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies