मनीषा अवस्थी/मध्यान्ह
काठमाडौं : सत्ताको बागडोर सम्हाल्न यतिबेला माओवादी ‘कमाण्डर’ पुष्पकमल दाहाल प्रचण्ड सिंहदरबार छन् । तेस्रो पटक प्रधानमन्त्री नियुक्त प्रचण्डले गत ३० फागुनमा मात्रै तेस्रोपटक विश्वासको मत लिएका छन् ।
तर माओवादीका सर्वोच्च नेता प्रचण्ड तेस्रोपटक मुलुकको नेतृत्व गरिरहँदा उनका पुराना सहयात्री र उच्च तहका नेताहरू संदिग्ध गतिविधीमा मुछिने क्रम बढिरहेको छ । सोमबार मात्रै पूर्वसभामुख र पटकपटक मन्त्री भइसकेका माओवादीका शीर्ष तहका नेता कृष्णबहादुर महरा पक्राउ परेका छन् । महरा पक्राउ परेकै अघिल्लो दिन पूर्व उपराष्ट्रपति एवं माओवादीका पूर्व कमाण्डर नन्दकिशोर पुनका छोरा एवं अखिल क्रान्तिकारी महासचिव दिपेश पुन पक्राउ परेका थिए ।
महरा दोस्रो पटक पक्राउ
एकताका प्रचण्डका विश्वासपात्र मानिने कृष्णबहादुर महरा दोस्रो पटक सोमबार पक्राउ परेका छन् । यसअघि यौन दुराचारमा जेल नै परिसकेका महरा यतिबेला ठूलो परिमाणको सुन तस्करीका मुछिएका छन् ।
महरालाई २०७९ पुस १० मा दुबईबाट नेपाल भित्रिएको करिब ९ केजी सुन ल्याउने दावा जिनवाङलाई काठमाडौंमा संरक्षण दिएको आरोप छ । गत वर्षको असोज महिनामा नै महरा र छोरा राहुल सहित ४ जनाविरुद्ध संगठित अपराध र भन्सार छलीको अभियोगमा मुद्दा दायर भएको थियो । सो कसुरमा उनका छोरा राहुल हाल पुर्पक्षका क्रममा केन्द्रीय कारागारमा छन् । महरालाई भने यसअघ राजनीतिक दबाबमा पटक पटक बचाउने काम भएको थियो ।
यसपटक भने सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । यसअघि २०६७ भदौ १८ मा उनी चिनियासँग सांसद किनबेचका निम्ति पैसाका मागेको अडियो उनी सभामुख भएको बेला सार्वजनिक भएको थियो ।
संगठित तस्करीमा पुन
संगठित अपराधमा मुछिएका माओवादी उच्च तहका अर्का नेता हुन्, पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन । संगठित सुन तस्करीमा पुनका छोराहरू दिपेश र जितेन्द्र सहित सचिवालयका कर्मचारी पनि मुछिएका छन् । ती मध्ये दिपेश भने गत शुक्रबार पक्राउ परिसकेका छन् भने जितेन्द्र फरार छन् । उनीहरूमाथि सहकारी ठगी लगायतका अन्य मुद्दा पनि छन् ।
दिपेशलाई गत वर्ष हङकङबाट ब्रेक सुमा लुकाएर ल्याएको करिब ६१ किलो सुनमा संलग्नता भएको आरोप छ । उनीमाथि २०७९ पुस १० मा दुबईबाट विद्युतीय चुरोट भेपमा लुकाएर ल्याइएको करिब ९ किलो सुन तस्करीमा पनि संलग्न रहेको आरोप छ । दिपेश फरार रहेका जीबी राई नेतृत्वमा बुटबलमा रहेको सुप्रिम बचत तथा ऋण सहकारीका पनि संलग्नता थियो ।
यसैगरी नन्दबहादुर पुनमा जेठा छोरा जितेन्द्र हालै संगठित सुन तस्करीमा मुछिएका छन् । यति मात्रै होइन, जितेन्द्रले उपराष्ट्रपति कार्यालयबाट बनाएको स्वकीय सचिवको परिचयपत्र र अन्य सरकारी कागजात राखी चिनियाँ बिक्रेतासँग उधारो सुन किनेको प्रमाण पनि भेटिएको थियो । जितेन्द्रले सोही ४ किलो सुनको भुक्तानी नदिएको कसुरमा चिनियाँ अदालतबाट दोषी ठहर भएका छन् ।
जेलमा टोपबहादुर
माओवादीका शीर्ष नेता टोपबहादुर रायमाझी यतबेला कारागारमा छन् । नक्कली भुटानी शरणार्थी काण्डमा मुछिएका उनी पुर्पक्षका लागि थुनामा छन् । रायमाझी अमेरिका लगिदिने भन्दै नक्कली भुटानी शरणर्थी बनाएर ८ सय ७५ नेपालीलाई ठगेको मुद्दामा संलग्न छन् ।
उक्त घटनामा राइमाझीका छोरा सन्दिप पनि मुछिएका छन् । रायमाझी बाबुछोरा सहितका ३० जनालाई प्रतिवादी रहेको उक्त मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ ।
अर्थमन्त्रीकै अपराध ‘कनेक्सन’
प्रधानमन्त्री प्रचण्डले विश्वासपात्रका रूपमा अर्थमन्त्रालय पु¥याएका अर्थमन्त्री वर्षमान पनि उस्तै विवादित छन् । माओवादीका उपमहासचिव एवं अर्थमन्त्री पुन ६० किलो सुन तस्करीमा संलग्न रहेको भेटिैको थियो । सुन तस्कर बेल्जियमा नागरिक दावा छिरिङ पक्राउ परेपछि दावा र उनकी श्रीमती अमला रोकामगरसँग बर्षमानको घनिष्ठ सम्बन्ध रहेका प्रशस्त प्रमाणहरू फेला परिसकेका छन् ।
यसैगरी सुन तस्करीमा मुछिएका पुर्व उपराष्ट्रपति नन्दबहादुर पुनका तत्कालीन परराष्ट्र विज्ञ बनेका जीवनकुमार गुरुङसँग पनि उनको सम्बन्ध रहेका तथ्यहरू आएका छन् । सो प्रकरणमा बर्षमानका भाइ प्रनिश पुन संगठित सुन तस्करीमा पक्राउ परेका दावासँग व्यापारिक साझेदारी गरेको कुरा पनि आएको थियो ।
बादलका काण्डै काण्ड
माओवादी एमालेको एकीकरणपूर्व प्रचण्ड निकट मानिने रामबहादुर थापा बादलको नाम पनि नक्कली भुटानी शरणार्थी काण्डमा मुछिएको छ । बादलका छोरा प्रतिकले गृहमन्त्री भएको बेला काम मिलाइदिने भन्दै नक्कली भुटानी शरणार्थी बनाउने गिरोहसँग रकम असुलेको आरोप छ ।
छोरा उक्त प्रकरणमा मुछिएसँगै पारिवारिक हिसाबले उनको नाम पनि सो अपराधमा मुछिएको हो । प्रतिकमाथी अहिले काठमाडौं जिल्ला अदालतमा संगठित अपराध, राज्य विरुद्वको अपराध, किर्ते, ठगी लगायतका कसुरमा मुद्दा विचाराधीन छ भने उनी हाल फरार छन् । बादल गृहमन्त्री हुँदा उनका सचिवालयका कर्मचारी पनि नक्कली भुटानी शरणार्थी काण्डमा मुछिएका थिए ।
जनार्दनको क्लिन चिट
प्रचण्डका अर्का विश्वास पात्र जनार्दन शर्मा पनि पटक पटक विभिन्न विवादमा मुछिरहेका छन् । पछिल्लो बजेट निर्माणमा अनाधिकृत ब्यक्तिलाई प्रवेश गराई आफु अनुकल करका दर परिवर्तन गरेको आरोपमा निलम्बित भएका छन् । केही समयपछि त्यसमा उनले प्रचण्डको संरक्षणमा क्लिनचिट पनि पाएका थिए । त्यसअघि २०७८ को चैतमा एक युवाले अनाधिकृत रूपमा नेपाल ल्याएको रकम राष्ट्र बैंकले जफत गरेपछि छुटाउनका लागि पटक पटक राष्ट्र बैंकलाई दबाब दिएका थिए । सो विषयम विवाद बढेपछि उनले गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन समेत गरे ।
माओवादीका अर्का चर्चित नेता हाल लुम्बिनी विकास कोषको उपाध्यक्ष रहेका पुर्व सासंद ल्हारक्याल लामा पनि दाहोरो नागरिकताको विवादमा मुछिसकेका छन् । यी बाहेक माओवादीका कयौं शिर्ष नेताहरू केही न केही विवाद तथा अपराधमा संलग्न रहेको विषय बाहिरिरहन्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies