लक्ष्मण यादव/मध्यान्ह
सर्लाही : सर्लाही प्रहरीले दुई भारतीय डाकालाई अमेरिकन पेस्तोल र गोलीसहित नियन्त्रणमा लिएको छ । विशेष सूचनाका आधारमा प्रहरीले सर्लाहीको बरहथवा नगरपालिका–६, मगर टोलबाट एक थान अमेरिकन पेस्तोल र ६ राउण्ड गोलीसहित भारतको सितामढी थाना सैयारा ग्राम सैयारा बस्ने २८ वर्षीय सन्नीकुमार सिंह र मोतिहारी गंगापिपरा बस्ने २४ वर्षीय जितेन्द्र कुमार राउतलाई पक्राउ गरेको हो । उनीहरू दुवै भारतीय प्रहरीको ‘मस्ट वान्टेड अपराधी’ को सूचीमा रहेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
सोमबार राति पौने ९ बजेतिर सन्नीकुमार र जितेन्द्रको बरहथवास्थित कोठामा प्रहरी पुगेर खानतलासी लिन खोज्दा जितेन्द्रले आफ्नो साथमा रहेको पेस्तोलबाट एक राउण्ड गोली फायर गरेका थिए । तत्कालै इलाका प्रहरी कार्यालय बरहथवाबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) मुक्तिनाथ सापकोटाको नेतृत्वमा खटिएको प्रहरी टोलीले घर घेरा हालेर दुवै जनालाई नियन्त्रणमा लिन सफल भएको हो ।
घटनास्थलबाट एक थान अमेरिकन पेस्तोल, त्यसमा लाग्ने एक थान म्याग्जिन, ६ राउण्ड गोली र फायर भएको गोलीको एक थान खोका बरामद भएको प्रहरीले जनाएको छ । दुवै जनालाई पक्राउ गरी सदरमुकाम मलंगवास्थित जिल्ला प्रहरी कार्यालयतर्फ लैजाँदै गर्दा बसबरिया गाउँपालिका–६, पोखरियाबाट जितेन्द्रकुमार प्रहरीको नियन्त्रणबाट भाग्न खोज्दा गोली प्रहार गर्नुपरेको प्रहरीले जनाएको छ । गाडीबाट भाग्ने क्रममा जितेन्द्रलाई पाँच राउण्ड गोली फायर गरी नियन्त्रणमा लिइएको सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) दयानिधि ज्ञवालीले जानकारी दिए । जितेन्द्रको बायाँ घुँडा र दाहिने तिघ्रामा दुई राउण्ड गोली लागेको छ ।
घाइते जितेन्द्रलाई प्रादेशिक अस्पताल मलंगवामा सामान्य उपचारपश्चात जनकपुर रिफर गरिएको प्रहरी उपरीक्षक ज्ञवालीले बताए । जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा रहेका सन्नीकुमार सिंहलाई भने मंगलबार बिहान पत्रकार सम्मेलन गरी बरामद पेस्तोल र गोलीसहित सार्वजनिक गरिएको छ ।
नरेन्द्र र सन्नीकुमार भारतमा दुई वटा कर्तव्य ज्यान, एउटा ज्यान मार्ने उद्योग र एउटा लागुऔषध मुद्दामा फरार अपराधी रहेको प्रहरीले जनाएको छ । नेपाली भूमिमासमेत उनीहरूले बैंक तथा सहकारी लुटपाटमा संलग्न भएको तथा कसैको हत्या गर्न ‘सुपारी किलर’को रूपमा समेत आएको हुनसक्ने आशंकासहित सूक्ष्म ढंगले अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक ज्ञवालीले बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies