तिलु शर्मा पौडेल/मध्यान्ह
जापान, टोकियो : जापानको टोकियोमा अवस्थित खामी इतावासी हेवा क्वोइन (पार्क) मोना (म्याग्दी) फेस्टिभल शनिबारबाट शुरु भएको छ । इतावासी नगरपालिका तथा म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानले संयुक्तरुपमा आयोजना गरेको फेस्टिभलको पहिलो दिनको नगरपालिकाका मेयर तथा कार्यक्रममा प्रमुख अतिथि सकामातो ताकामासी र नेपाली नियोग जापानका नियोग उपप्रमुख तथा का.वा राजदूत अम्बिका जोशीले रिवन काटेर संयुक्त रूपमा उद्घाटन गरेका छन् ।
नेपाली कला, संस्कृति एवम् पर्यटनका साथै म्याग्दी जिल्लाका धार्मिक, ऐतिहासिक, सामाजिक, सांस्कृतिक एवम् गन्तव्यहरूको बारेमा जापानी समुदायकाबीच प्रवर्द्धन गर्ने र नेपालको पर्यटन क्षेत्रमा टेवा पुर्याउने उद्देश्यले आयोजना गरिएको फेस्टिभलको पहिलो दिन विभिन्न झाँकीसहित कार्यक्रम स्थल परिक्रमा गरिएको थियो । जापानिज गीत संगीत र नेपाली गीत संगीतमा कलाकारहरूले दिएको प्रस्तुतिले कार्यक्रमको पहिलो दिन संगीतमय बन्यो ।
फेस्टिभलमा जापानका विभिन्न कलाकारले नेपाली, अङ्ग्रेजी तथा मातृभाषामा प्रस्तुति दिए । जापानका चर्चित रेस्लरहरुद्घारा रेस्लिङ खेल प्रस्तुत गरे जुन आकर्षणको केन्द्रबिन्दु बन्यो । दर्शकहरूले रेस्लिङको भरपुर मनोरञ्जन लिए । लाखे नाच, धिमे नृत्य तथा तमु धि का कलाकारको प्रस्तुति अर्को आकर्षणको केन्द्र बनिरहँदा अवि पुर्जाको थाली नृत्यले माहोललाई जुरुक्क बनाएको थियो ।
विभिन्न स्टलहरू रहेको कार्यक्रम स्थललाई धर्ज्यु (तोरन)ले सजाइएको थियो । कार्यक्रम संयोजक ज्ञानेन्द्र कार्कीले स्वागत मन्तव्य राखेको कार्यक्रममा बोल्दै प्रमुख अतिथि ताकामासीले नेपाली समुदायसँग मिलेर पहिलो पट्क कार्यक्रम आयोजना गरेको बताउँदै भविष्यमा पनी सहकार्य गर्ने बताए । उनले
हालको आँकडा अनुसार उदाबासीमा विदेशीको संख्या बढ्दै गएको जसमध्ये नेपालीहरू तेस्रो स्थानमा रहेको बताए । दुई देशबीचको सम्बन्ध र संस्कृतिको आदान-प्रदान गर्न कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दै ताकामासीले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरे ।
कार्यक्रममा भजन समूहको भजन, पञ्चेबाजा तथा पहिलो दिनको अन्त्यमा गाईको प्रत्यक्ष दोहोरीले सबैलाई नचाएको थियो । संघ जापानका अध्यक्ष तथा कार्यक्रमका सभापति विशाल केसीले नगरपालिकासँग सहकार्य गरेर कार्यक्रम गर्न पाउँदा खुसी लागेको बताउँदै नगरपालिका तथा फेस्टिभल आयोजक मूल समारोह समितिलाई आभार प्रकट गरेका थिए ।
आइतबार साँझ समापन गरिने फेस्टिभलमा सहभागी जनाउन कतार, कोरिया, नेपाल तथा हङकङदेखि पाहुनाहरू जापान आइपुगेका छन् । मोनाको संस्थापक अध्यक्ष प्रकाश पुन, मोना आईईसीका अध्यक्ष ददिवल खड्कालगायत जापानमा स्थापित विभिन्न सामाजिक तथा वैचारिक संस्थाहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा नेपालीहरूसहित जापानीजहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies