भरत प्रधान/मध्यान्ह
लिस्बन : वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगल आएकी एक नेपाली महिलाले झुण्डिएर आत्महत्या गरेकी छिन् । पोर्चुगलको मदेइरा बस्दै आएकी पाँचथर फाल्गुनन्द गाँउपालिका–५ की २७ वर्षीया झरना चेम्जोङले झुण्डिएर आत्महत्या गरेकी हुन् ।
चेम्जोङले गत शनिबार बेलुका आफू बस्ने कोठाको डबलडेकर बेडमा सलको पासो लगाइ झुण्डिएर आत्महत्या गरेको गैरआवासीय नेपाली संघ पोर्चुगलका पूर्वमहासचिव निराजन सुवेदीले जानकारी दिए ।
बिदाको दिन एक्लै कोठामा रहेकी उनले ढोका बन्द गरेर आत्महत्या गरेको उनले बताए । सँगै बस्ने साथीहरु कामबाट आएर राति ढोका खोल्न खोज्दा नखुलेपछि प्रहरीलाई खबर गरेको र प्रहरी आएर ढोका खोल्दा चेम्जोङ झुण्डिएको अवस्थामा फेला परेको प्रहरीलाई उद्धृत गर्दै सुवेदीले बताए ।
रोजगारीका सिलसिलामा साइप्रस हुँदै १५ महिनाअघि पोर्चुगल आएकी चेम्जोङ मदेइरास्थित एक होटलमा कार्यरत थिइन् । उनी होटलले उपलब्ध गराएको कोठामा अन्य साथीहरुसँगै बस्दै आएकी थिइन् ।
चेम्जोङले के कारणले आत्महत्या गरेको हो भन्ने विषय भने खुलिनसकेको पोर्चुगलका लागि अवैतनिक नेपाली महावाणिज्यदूत मकरबहादुर हमालले जानकारी दिए । उनको शव परीक्षणका लागि मदेइरास्थित एक अस्पतालको शवगृहमा राखिएको महावाणिज्यदूत हमालले बताए ।
घटनाको विषयमा परिवारलाई जानकारी गराइसकिएको र उनको शव नेपाल पठाउने वा यहीँ अन्त्यष्टि गर्ने भन्ने विषयमा छलफल भइरहेको उनले बताए । चेम्जोङकी ८ वर्षीया छोरी र श्रीमान नेपालमा रहेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies