सुर्य प्रसाद भुसाल/मध्यान्ह
अर्घाखाँची : भगवती माध्यमिक विद्यालय सन्धिखर्क–२ कुर शंखेटारीले आगामी शैक्षिक सत्रदेखि अंग्रेजी माध्यममा पठनपाठन सञ्चालन गर्ने भएको छ ।
अभिभावकको आग्रह र विद्यार्थीको चाहनालाई मध्यनजर गर्दै विद्यालयले आगामी शैक्षिक सत्र २०८१ देखि शंखेटारीमा नर्सरी, केजी र कक्षा ६ तथा भगवतीस्थान कुरमा नर्सरी, केजी र कक्षा–१ मा अंग्रेजी माध्यमबाट पठनपाठन गर्ने भएको हो ।
भगवती माध्यमिक विद्यालय कुर,शंखेटारीद्वारा एसईई परीक्षामा समावेश हुने विद्यार्थीको निम्ति आयोजित शुभकामना तथा बधाइ कार्यक्रममा विद्यालयले आफ्नो भावी कार्यक्रमको बारेमा जानकारी गराएको थियो ।
कार्यक्रममा मन्तव्य राख्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामबहादुर भुसालले शैक्षिक गुणस्तर वृद्धिको निम्ति विद्यालय नयाँ योजना निर्माण गरेर अगाडि बढेको बताए । शिक्षा र स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन गर्न नसके ग्रामीण बस्ती मानव विहीन हुन सक्ने उनको भनाइ थियो ।
विद्यालयका प्रधानाध्यापक ध्रुबबहादुर खत्रीले पछिल्लो समय अंग्रेजी भाषाप्रति समुदायको आकर्षण बढेकाले नेपाली र अंग्रेजी दुवै माध्यमबाट पठनपाठन गर्ने तयारी गरेको बताए । उनले शैक्षिक गुणस्तरको निम्ति आफुहरुले ठूलो चुनौतीकाबीच काम गरिरहेको बताए ।
सरकारी विद्यालय प्रतिका आशंका र गुनासा चिर्ने प्रमुख औजार शैक्षिक गुणस्तर र विद्यार्थीमा आउने परिवर्तन भएको भन्दै उनले शिक्षकमा मैले केही गरेर देखाउँछु भन्ने हिम्मत,विद्यार्थीमा जिज्ञासा र अभिभावकमा छोराछोरी प्रतिको कर्तव्यबोध हुन जरुरी रहेको बताए ।
विद्यालय व्यवस्थापन समितिका सदस्य विष्णु ढुङ्गानाले भगवती मध्यमिक विद्यालयलाई नमुना विद्यालयको रुपमा स्थापित गरिने बताए ।
कुरमा विद्यालय स्थापना गर्दा अभिभावकले पुर्याएको योगदानको स्मरण गर्दै उनले शैक्षिक गुणस्तर वृद्धिको निम्ति जस्तोसुकै त्याग र सहयोग गर्न अभिभावक तयार रहेको दावी गरे ।
उनले मन देखिनै गर्छु भनेर लागेमा असंभव भन्ने कुरा केही नभएको भन्दै फेरि एकपटक विद्यालयको निम्ति त्याग गर्न सरोकारवालाको ध्यानाकर्षण समेत गराए ।
कार्यक्रममा मन्तव्य राख्दै विद्यालय व्यवस्थापन समितिका अर्का सदस्य तुल्सी गैरेले सरकारी विद्यायको नतिजा कमजोर आउनु दुःखद पक्ष भएको भन्दै भगवती माध्यमिक विद्यालयले उदाहरण बनेर देखानु पर्नेमा जोड दिए ।
गंगा आधारभूत विद्यालयका प्रधानाध्यापक प्रदिप भण्डारीले जिल्लामा सरकारी विद्यालयले पुर्याएको योगदानको स्मरण गर्दै सरकारी विद्यालयले आफूलाई समय अनुकुल रुपान्तरण गर्दै लैजानु पर्नेमा जोड दिए ।
कक्षा–९ की छात्रा सामना नेपालीको अध्यक्षता, वरिष्ठ शिक्षक डिलाराम पन्थीको स्वागत मन्तव्य र शिक्षक शोभाखर पन्थीले सञ्चालन गरेको कार्यक्रममा सम्पन्न कार्यक्रममा विद्यार्थीहरुले रोचक सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies