नेपालगन्ज : बाँकेमा ५ सय ३९ जना क्षयरोगी थपिएका छन् । स्वास्थ्य कार्यालय बाँकेका अनुसार चालु आर्थिक वर्षमा मात्रै ५ सय ३९ जना क्षयरोगी थपिएका हुन् ।
१४१ औं विश्व क्षयरोग दिवसका अवसरमा बाँकेमा आयोजित सचेतनामूलक कार्यक्रममा क्षयरोग फोकल पर्सन रविन्द्र कुमार साहले बाँकेमा क्षयरोगीको संख्या बढ्दै गएको जानकारी गराए ।
हरेक वर्ष मार्च २४ मा विश्व क्षयरोग दिवस मनाउने गरिन्छ । ‘हो हामी क्षयरोग अन्त्य गर्न सक्छौँ’ भन्ने यस वर्षको विश्व क्षयरोग दिवसको नाराका साथ नेपालगन्ज र कोहलपुरमा सचेतनामूलक र्याली, अन्तरक्रिया तथा सभाको आयोजना गरिएको थियो ।
स्वास्थ्य कार्यालय बाँकेको आयोजना तथा नेपालगन्ज उपमहानगरपालिका र नेपाल क्षयरोग संस्था बाँके लगायत विभिन्न स्वास्थ्यसंग सम्बन्धित संघसंस्थाहरूको सहकार्यमा नेपालगन्जमा जनचेतनामूलक र्यालीमा स्वास्थ्यकर्मी र सरोकारवालाहरु क्षयरोग सम्बन्धी विभिन्न सन्देशमूलक नारा लेखिएको सचेतनामूलक प्लेकार्डसहित सहभागी भएका थिए ।
सो अवसरमा विभिन्न संघसंस्थाहरुको तर्फबाट नेपाल क्षयरोग संस्था बाँकेका पूर्व अध्यक्ष पूर्ण लाल चुकेले स्वास प्रश्वासबाट फैलिने यो रोगबाट अहिले पनि हरेक वर्ष १७ हजारको अकालमा ज्यान गइरहेकोतर्फ गम्भीर हुँदै सरकारले उच्च प्राथमिकता दिएर यसको नियन्त्रणका लागि प्रभावकारी योजना ल्याएर कार्यान्वयन गर्नु आवश्यक रहेको बताए ।
भेरी अस्पतालबाट शुरू भएको सो र्याली नेपालगञ्ज उपमहानगरपालिका कार्यालय अगाडि पुगेर समापन कार्यक्रममा परिणत भएको थियो । समापन कार्यक्रम स्वास्थ्य कार्यालयका प्रमुख अंगदबहादुर शाहीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ महाशाखा प्रमुख रामबहादुर चन्दले नेपालगन्ज उपमहानगरमा सबैभन्दा धेरै क्षयरोेगी पत्ता लागेको बताउँदै सहकार्य बिना एकल प्रयासले मात्र क्षयरोगी पत्ता लगाउन र उपचारमा ल्याउन कठिन भएको बताए । क्षयरोग नियन्त्रणका लागि जनचेतना र परीक्षण आवश्यक रहेको उनको भनाई थियो ।
स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख अंगदबहादुर शाही क्षयरोगमध्ये सबैभन्दा बढी ८५ प्रतिशत क्षयरोग फोक्सोको हुने गरेको बताउँदै लगातार दुई साता बढी समयसम्म खोकी लाग्ने, खानामा अरुचि हुने, दुब्लाउँदै जाने र कमजोर हुने लक्षण क्षयरोगको हुनसक्ने बताए ।
सो अवसरमा जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका पूर्व प्रमुख धीर जंग शाह, नेपाल क्षयरोग संस्था बाँकेका अध्यक्ष बदरुद्दीन अन्सारी, महिला स्वास्थ्य स्वयम्सेवीकाहरु, स्वास्थ्यकर्मीहरु लगायतको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रमको सहजीकरण जिल्ला स्वास्थ्य कार्यालय, बाँकेकी मलेरिया निरीक्षक दुर्गा गौतमले गरेका थिए । सोही दिवसको अवसरमा अपरान्ह स्वास्थ्य कार्यालय, बाँकेले पत्रकार अन्तरक्रिया कार्यक्रमको पनि आयोजना गरेर बाँके जिल्लामा क्षयरोगको अवस्थाको बारेमा जानकारी दिइएको स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख अंगदबहादुर शाहीले जानकारी दिएका थिए ।
यसैगरी बाँकेको कोहलपुरमा पनि विश्व क्षयरोग दिवस र्यालीसहित कोणसभा गरी मनाइएको छ । कोहलपुर नगरपालिका नगर स्वास्थ्य शाखाको आयोजनामा आयोजित र्यालीमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी र सरोकारवालाहरुको सहभागिता थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies