भरत प्रधान/मध्यान्ह
लिस्बन : पोर्चुगलमा राहदानी सम्बन्धी समस्यामा परेका नेपालीलाई राहदानी सेवा दिन शुरु गरिएको छ । लिस्बनस्थित अवैतनिक नेपाली महावाणिज्यदूतावासको समन्वय र सहजीकरणमा नेपाली दूतावास फ्रान्सबाट आएको टोलीले आइतबारबाट राहदानी सेवा दिन शुरुवात गरेकोे हो । दूतावासकी नियोग उपप्रमुख सीता बस्नेत नेतृत्वको टोलीले राजधानी लिस्बनमा इनरोलमेन्ट सेन्टरको स्थापना गरी विद्युतीय राहदानीका लागि दरखास्त संकलन गर्न शुरु गरेको हो ।
आइतबार पहिलो दिन राहदानीको म्याद सकिसकेका, क्षति भएका, राहदानी हराएका, पोर्चुगलको अध्यागमन निकाय (आइमा)मा बायोमेट्रिकका लागि समय लिइसकेका र पोर्चुगलमा जन्मेका बालबालिकाका गरी ५४ जनाको विद्युतीय राहदानीका लागि जैविक तथ्यांक संकलन गरिएको टोलीले जनाएको छ ।
टोलीले राहदानी हराएका, क्षति भएका, २०२३ डिसेम्बर ३१ सम्म म्याद सकिएका, पोर्चुगलको अध्यागमन निकाय (आइमा)मा २०२४ अप्रिल ३० सम्म बायोमेट्रिकका लागि समय लिइसकेका तथा पोर्चुगलमा जन्मेका बालबालिकाको प्राथमिकताका आधारमा विद्युतीय राहदानीका लागि जैविक तथ्यांक संकलन गर्ने टोली प्रमुख एवं नेपाली दूतावास, फ्रान्सका नियोग उपप्रमुख सीता बस्नेतले जानकारी दिइन् ।
शिविर अवधिभर दैनिक एक सय जनाका दरले सात सय जनाको विद्युतीय राहदानीका लागि दरखास्त संकलनको लक्ष्य रहेको बस्नेतले बताइन् । टोलीले प्राथमिकताका आधारमा जैविक तथ्यांक संकलनका लागि आवेदकको नामावली प्रकाशित गर्ने जनाउँदै उनले सोही बमोजिम इनरोलमेन्ट सेन्टरमा उपस्थित हुन आवेदकलाई आग्रह समेत गरेकी छिन् ।
पोर्चुगलमा राहदानीविहीन बनेका, राहदानी नभएकै कारण समस्यामा परेका र पोर्चुगलको अध्यागमन निकाय (आइमा)मा बायोमेट्रिकको समय लिएका लगायत राहदानीको अत्यावश्यक परेकाका लागि तत्कालको राहतका लागि दूतावासले शिविरको व्यवस्था गरेको नियोग उपप्रमुख बस्नेतले बताइन् ।
एक सातासम्म सञ्चालन हुने राहदानी सेवा शिविरमा गैर आवासीय नेपाली संघ पोर्चुगलसहित यहाँ क्रियाशील नेपाली संघ–संस्थाले समन्वय र सहजीकरण गरेका छन् ।
टोलीले आगामी मार्च ३१ सम्म राजधानी लिस्बनमा रहेर राहदानी सेवा प्रवाह गर्ने जनाएको छ । गत वर्ष पनि फ्रान्सस्थित नेपाली दूतावास र राहदानी विभाग काठमाडौंको टोली आएर राजधानी लिस्बनमा करिब एक महिनासम्म राहदानीसम्बन्धी सेवा प्रदान गरेको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies