मनोज साह/मध्यान्ह
रौतहट : रौतहटको गरुडामा रहेको मोटरसाइकल स्पेयर पार्ट्सको होलसेल बिक्रेतामा आगलागी हुँदा पार्टपूर्जासहितका सामनहरु जलेर नष्ट भएको छ । गरुडा नगरपालिका वडा नं. ४ स्थित कुश्वाह इन्टरप्राइजेजमा मंगलबार आगलागी भएको हो । आगलागीबाट मोटरसाइकलका स्पेयर पार्ट्स, मर्मतका लागि राखिएको करिब १० वटा मोटरसाइकल, नगद, ल्यापटप तथा अन्य सामग्रीहरु जलेर नष्ट भएको छ ।
कुश्वाह इन्टरप्राइजेजका सञ्चालक रंधीर साहका अनुसार विद्युत सर्ट भएर आगलागी भएको हो । पसलमा कोही नभएको अवस्थामा राति आगलागी भएकाले क्षति धेरै भएको उनको भनाइ छ । मानवीय क्षति नभएपनि पसलमा गोदाम गरेर राखिएका सम्पूर्ण पाटपूर्जा जलेर काम नै नालग्ने अवस्थामा रहेको उनले बताए । पसल रहेको घरमा पनि आगलागीले क्षति गरेको छ । उनले आगलागीबाट करिब ६ करोडभन्दा बढीको क्षति पुगेको दाबी गरेका छन् ।
सुरक्षाकर्मी, स्थानियवासी तथा वारुण यन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । आगो नियन्त्रणमा लिनका लागि चन्द्रपुर नगरपालिका, गौर नगरपालिका, गरुडा नगरपालिका, हरीवन तथा निजगढको दमकल प्रयोग गरिएको थियो । आगलागी भएको करिब ४ घण्टापछि आगो नियन्त्रणमा आएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक महेन्द्र श्रेष्ठका अनुसार आगलागीको घटनाका बारेमा अनुसन्धान भइरहेको छ । आगलागीबाट करिब ६ करोडको क्षति भएको प्रारम्भिक अनुमान भएपनि यसबारे अनुसन्धानपछि मात्र खुल्ने उनले जानकारी दिए ।
२०७३ सालमा दर्ता भएर सञ्चालनमा रहेको पसलबाट मोटरसाइकलको पार्ट्स बिक्री तथा मर्मतको कार्य हुँदै आएको थियो । आगलागीबाट धेरै क्षति पुगेकाले आफू मर्कामा परेको सञ्चालक साहले दुखेसो गरेका छन् । गरुडा नगर उद्योग वाणिज्य संघले समेत उक्त घटनाले धेरै क्षति भएको उल्लेख गर्दै क्षतिपूर्ति वा अन्य कार्यका लागि आवश्यक सहयोग गर्ने जनाएको छ ।
आगलागीबाट भएको क्षतिका बारेमा कटहरिया नगरपालिकाका पूर्वमेयर सियाराम कुश्वाह तथा उद्योग वाणिज्य संघका पदधिकारीहरुले समेत स्थलगत निरीक्षण गरेका छन् । यस किसिमको घटना हुन नदिनका लागि आवश्यक सतर्कता अपनाउन रौतहट उद्योग वाणिज्य संघले सबै व्यापारी वर्गमा आग्रहसमेत गरेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies