दिवाकर अधिकारी/मध्यान्ह
काठमाडौं : सभापति शेरबहादुर देउवाले राखेको प्रस्तावमा अरु नेताले असहमति जनाएपछि उपनिर्वाचनका लागि बुधबार पनि नेपाली कांग्रेसले उम्मेद्वार चयन गर्न सकेन । संसदीय बोर्डको बैठकमा सभापति देउवाले इलाम–२ मा डम्बर खड्का र बुझाङ (क) मा अभिषेक सिंहलाई उम्मेद्वार बनाउनेबारे प्रस्ताव गरेका थिए ।
तर सभापति देउवाको प्रस्तावमा अरु नेताहरुले असहमति जनाए । विशेषगरी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले असहमति जनाएको बैठकमा सहभागी एक नेताले बताए । ती नेताका अनुसार, महामन्त्रीहरु थापा र शर्माले इलाममा भेषराज आचार्यलाई टिकट दिनुपर्ने अडान राखेका थिए ।
सभापति देउवाले भने गत चुनावमा सुवास नेम्वाङसँग कडा प्रतिस्पर्धा गरेका खड्कालाई टिकट दिनुपर्ने प्रस्ताव गरेका थिए । ‘अस्ति थोरैले मात्रै हारेको हो, अब जित्छ’ देउवाको तर्क थियो । जिल्ला सभापति समेत रहेका खड्का एमालेका तत्कालीन उपाध्यक्ष एवं संविधानसभाका अध्यक्ष सुवास नेम्वाङसँग ११४ मतले पराजित भएका थिए ।
तर ३० हजार २० मत ल्याएर गत वर्षको आमनिर्वाचन जितेका नेम्वाङको निधन भएपछि आगामी १५ वैशाखमा उपनिर्वाचन हुँदैछ । उक्त उपनिर्वाचनका लागि २४ चैतमा उम्मेद्वारी दर्ता हुने कार्यतालिका निर्वाचन आयोगले सार्वजनिक गरेको छ । यो उपनिर्वाचनका लागि कांग्रेस इलामले खड्का र आचार्य सहित केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बु र शान्तिकला राईको नाम सिफारिस गरेको छ ।
सिफारिस भएका सात मध्ये अरु पाँच जनाले टिकट नपाउने लगभग पक्का जस्तो छ । किनकि सभापति देउवाले खड्का र संस्थापन इतर पक्षले आचार्यको अडान लिएको छ । महामन्त्री थापा र शर्माले आचार्यलाई टिकट दिदा उपनिर्वाचन जितिने तर्क गरेका छन् ।
स्रोतका अनुसार बझाङको प्रदेशसभाबारे भने धेरै मतभेद छैन । गत आमचुनाव जितेका सांसदकै छोराको नाम सिफारिस भएकाले उनकै संभावना बलियो छ । तर इलाममा भने नेताहरुको अडानका कारण कांग्रेसले उम्मेद्वार टुंग्याउन सकेको छैन ।
जबकी अरु दलहरुले भने उम्मेद्वार टुंग्याएर प्रचार अभियान नै थालिसकेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गत १७ फागुनमा आमसभा गरेरै मिलन लिम्बुलाई उम्मेद्वार घोषणा गरेको छ । त्यसअघि नेकपा एमालेले उम्मेद्वार टुंग्याएको थियो । एमालेले सुवासकै छोरा सुहाङलाई उम्मेद्वार बनाएको छ । सुहाङ चुनावी अभियानमा जुटिसकेको छ ।
राप्रपाले लक्ष्मी गुरुङ, नेकपा एकीकृत समाजवादीले जीतबहादुर राई र पहिचान पक्षधरहरुले थेकेन्द्रसिं थेगिमलाई साझा उम्मेद्वार बनाएको छ । थेगिमले बुधबार चुनावी सभा गरेको थियो । तर सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रसँगै कांग्रेसले भने अझै उम्मेद्वार समेत घोषणा गर्न सकेको छैन ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies