मुकुन्द लामिछाने/मध्यान्ह
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कांग्रेसलाई साथ दिने भएको छ । नेपाली कांग्रेस संघीय संसदमा सबैभन्दा ठूलो दल हो भने अधिकांश प्रदेशसभामा पनि पहलो दल छ । पहिलो दल भएर पनि प्रमुख प्रतिपक्षमा पुगेपछि कांग्रेसले राप्रपाको साथ खोजेको थियो । निरन्तरको प्रयासपछि राप्रपाले कांग्रेसलाई साथ दिने निर्णय गरेको छ ।
बुधबार काठमाडौंमा राप्रपाको पदाधिकारी बैठक बसेको थियो । उक्त बैठकले प्रदेश सरकार निर्माणका क्रममा एमाले नेतृत्वको सत्ता गठबन्धनलाई समर्थन नगर्ने निर्णय गरेको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार, आफूहरुको समर्थनबिना सरकार नै नबन्ने परिस्थिति बनेमा समेत हाल कायम संघीय सरकार चलाइरहेको सत्ता गठबन्धनलाई समर्थन नगर्ने निर्णय भएको छ । अर्थात् प्रदेश सरकार निर्माणमा राप्रपाले कांग्रेस नेतृत्वमा बन्ने विपक्षी गठबन्धनलाई साथ दिनेछ ।
यो सँगै राप्रपाले राष्ट्रिय राजनीतिमा आफ्नो कित्ता फेरेको छ । ४ मंसिर २०७९ मा भएको आमचुनावमा चुनावी तालमेल गर्दै लामो समयदेखि एमालेसँग साझेदारीमा रहँदै आएको राप्रपाले बुधबार संघीय संसद र प्रदेश सभामा कांग्रेससँग सहकार्य गर्ने निर्णय लिएर कित्ता फेरेको हो ।
१० पुस २०७९ एमाले पहलमा प्रचण्ड प्रधानमन्त्री बन्दा राप्रपाले साथ दिएको थियो । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी भएका थिए । पछि प्रचण्डले कांग्रेससँग गठबन्धन गरेपछि एमालेसँगै राप्रपा पनि सरकारबाट बाहिरिएको थियो ।
गत २१ फागुनमा प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको गठबन्धन फेरेर फेरि एमालेसँग नयाँ समीकरण बनाएपछि राप्रपाले कुनै निर्णय लिएको थिएन । एमालेले आफू नेतृत्वको सत्ता गठबन्धनमै रहन गरिरहेको आग्रह अस्वीकार गर्दै आएको राप्रपाले केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट प्रदेश सरकारलाई पार्टीले समर्थन गर्नुपरेको खण्डमा परिस्थिति हेरेर मत दिने तर सरकारमा भने नजाने निर्णय गरेको थियो ।
तर बुधबार राप्रपाले सरकार बनाउन आवश्यकताअनुसार मत दिने, तर एमाले नेतृत्वको गठबन्धनलाई नदिने निर्णय गरेको छ । यो निर्णयसँगै राप्रपा कांग्रेसको कित्तामा पुगेको हो ।राप्रपाको यस्तो निर्णयसँगै संघीय सरकारमा प्रतिपक्षमा रहेका दलहरुको प्रदेश सभामा सरकार बन्ने अवस्थाको सिर्जना गरिदिएको छ ।
गण्डकी प्रदेश सरकार बनाउन राप्रपा निर्णायक दल रहेको छ । यो प्रदेशमा ठुलो दलको हैसियतमा कांग्रेस छ । कांग्रेसले नै सरकार निर्माणको पहल गरिरहेका बेला राप्रपाले एमाले नेतृत्वको गठबन्धनलाई मत नदिने निर्णय लिएको हो ।
बुधबारको निर्णयमा राप्रपा अडिग रहे गण्डकी प्रदेशमा सरकार बनाउने एमालेको सपना पूरा नहुन सक्छ । संघीय सत्ता गठबन्धनमा गण्डकी प्रदेशको नेतृत्व एमालेले लिने सहमति छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले राजीनामा दिएसँगै गण्डकीका प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि यही चैत २७ गतेसम्मको समय दिएका छन् । ६० सदस्यीय गण्डकी प्रदेश सभामा सरकार बनाउन आवश्यक ३१ मत आवश्यक पर्छ ।
संघीय सत्ता गठबन्धनमा रहेका दलहरु एमालेका २२, माओवादीका ८ जना सांसद छन् । तर गत चुनावमा संयुक्त चुनाव लडेका नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटाले कांग्रेसका लागि फ्लोरक्रस गर्ने तयारी गरेको बताइन्छ । यसो भएको खण्डमा नयाँ गठबन्धनसँग २९ मत मात्रै हुनेछ ।
स्वतन्त्र चुनाव जितेका दिपक मनाङे यसअघि नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । तर हाल एकीकृत समाजवादी छाडेर कांग्रेस नेतृत्वको सरकारमा सहभागी भएर उनले आफूलाई कांग्रेसको कित्तामा प्रस्तुत गरेका छन् ।
कांग्रेससँग २७ सांसद छन् । राप्रपासँग दुई जना सांसद छन् । दिपक मनाङेको साथ पाउँदा कांग्रेसको पक्षमा ३० मत पुग्छ । फ्लोर क्रस गरेर नेसपाका फणीन्द्र देवकोटाले साथ दिए कांग्रेसको पक्षमा ३१ सांसद पुग्छ ।
त्यसपछि फ्लोरक्रस गरेका फणीन्द्र देवकोटाको पद गए पनि सरकार बनाउन आवश्यक ३० संख्या कांग्रेससँग रहनेछ । तर यसका लागि कांग्रेसले राप्रपाको साथै दिपक मनाङेको पनि विश्वास जितिरहनु आवश्यक हुन्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies