काठमाडौं : उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले रुसी सेनामा रहेका नेपालीलाई उद्धार गर्न अन्तरदेशीय समन्वय प्रभावकारी नहुँदा जटिलता देखिएको बताएका छन् । विभिन्न कारणले रुसी सेनामा भर्ना भइ जीवन जोखिममा पारेका नेपालीको ‘जीवन रक्षा अभियान’ले शुक्रबार गृहमन्त्री लामिछानेलाई भेटेर रुसी सेनामा रहेका नेपाली युवाहरुको जीवन रक्षा गरिदिन माग गरेको हो ।
जवाफमा गृहमन्त्री लामिछानेले रुसी सेनामा रहेका नेपाली युवाहरुको समस्याबारे प्रधानमन्त्रीसँग पनि तत्काल समन्वय गरी समस्या समाधानका लागि छलफल गर्ने बताए । गृहमन्त्री लामिछानेले रुसी सेनामा पठाउन रकम असूली गर्नेलाई पनि कानूनी दायरामा ल्याउने आश्वासन दिए ।
अभियानले गृहमन्त्री लामिछानेलाई रुसी सेनामा भएका ६ सय २० जना नेपालीको विवरण हस्तान्तरण गरेको छ । त्यसमध्ये ३९ जनाले रुस–युक्रेन सिमानामा ज्यान गुमाएको अभियानको दाबी छ ।
अभियानले सामाजिक सञ्जालमार्फत रुसी सेनामा आवद्ध ४ सय २० जना नेपाली दैनिक सम्पर्कमा रहेको र उनीहरुले प्रत्येक दिन युद्धस्थलबाट श्रव्यदृश्य सामग्रीमार्फत जानकारी पठाउने गरेको बताएको छ ।
अभियानले रुसले नेपाली युवाहरुलाई भाडाका सिपाहीका रुपमा भर्ती गरेपछि सिर्जना भएको समस्याका सम्बन्धमा सरकार, राजनीतिक दल, गैरसरकारी संस्था र सम्पूर्ण नेपालीको चिन्ता र सरोकारको विषय बन्नुपर्ने माग गरेको छ ।
परराष्ट्र मन्त्रालयले भने रुसी सेनामा भर्ती भएका १८ जनाको मृत्यु भएको पुष्टि गरेको छ । रुसी सेनामा रहेका युवाका परिवारले हालपनि नेपालीलाई अवैधानिकरुपमा रुस पठाउने गरेको र बिचौलियाहरुले रुस युक्रेन युद्धमा फसेका युवालाई उद्धार गरिदिन्छु भन्दै रकम मोलमलाइ गरेर शोषण गर्ने गरेको भन्दै अभियानले बिचौलियाहरुलाई कारबाही गर्न गृहमन्त्रीसमक्ष माग गरेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies