तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : गैरआवासीय नेपाली संघ, कतारले तत्काल कतारमा श्रमिक डेस्क स्थापना गर्न परराष्ट्र मन्त्रालयसमक्ष माग राखेको छ । करिब साढे तीन लाख नेपाली श्रमिक रहेको कतारमा श्रमिक डेस्क स्थापना गरेर सेवा विस्तार गर्न एनआरएनए कतारले माग गरेको हो ।
एनआरएनए कतारका अध्यक्ष रमेश भट्टको नेतृत्वमा आइतबार सिंहदरबारमा भएको भेटवार्तामा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई श्रमिक डेस्क स्थापनाका लागि माग राख्दै श्रमिकहरूको हितमा सेवा गर्न आग्रह गरेको हो । "हामीले एनसीसीको निर्वाचनमा गरेका प्रतिबद्धता पूरा गर्न परराष्ट्रमन्त्रीसमक्ष श्रमिक डेस्क राख्नका लागि माग राखेका हौं," मध्यान्हसँग कुरा गर्दै भट्टले भने । एनआरएनएको मागप्रति परराष्ट्रमन्त्री सकारात्मक भएको बताउँदै भट्टले श्रमिकको अधिकारका लागि नेपाल सरकारको सदैव प्राथमिकता रहेको मन्त्रीको भनाइ रहेको बताए ।
एनआरएनए कतारले सामाजिक कार्यका साथै कतारमा रहेका नेपालीहरूको सहयोगका लागि कतार र नेपाल सरकारसँग समन्वय गरिरहेको छ । एनआरएनए कतारले भर्खरै कतार च्यारिटीसँग छलफल गरी नेपालका लागि छुट्टै च्यारिटी बक्स राख्नका लागि गृहकार्य थालेको छ भने आगामी दिनमा समस्यामा परेका नेपालीका लागि सहयोगका लागि फण्डको अभाव हुन नदिने गरी काम गरिरहेको छ । परराष्ट्रमन्त्री श्रेष्ठलाई भेट्नका लागि अध्यक्ष भट्टसहित कतारमा कार्यरत प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीका उपमहासचिव चानक पोखरेल, व्यवसायी शंकर प्रसाद न्यौपाने पुगेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies