दिवाकर अधिकारी/मध्यान्ह
काठमाडौं : मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाको अवरोध हटाउने प्रयास गरे । यसका लागि उनी सभामुख देवराज घिमिरेसहित राजनीतिक दलका शीर्ष नेताहरुलाई प्रधानमन्त्रीनिवास वालुवाटार बोलाए ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने लगायतका नेताहरु सहभागी बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा गएनन् । देउवाको आग्रहमा कांग्रेसका महामन्त्री गगन थापा र नेता कृष्ण सिटौला बालुवाटार पुगे ।
यसअगाडि पनि प्रधानमन्त्री प्रचण्डले कृष्ण सिटौलासँग संवाद गरेका छन् । प्रतिनिधि सभाकै विषयमा समेत उनले सिटौलाको साथ खोज्ने गरेका छन् । नेताहरुका अनुसार कांग्रेस र माओवादीको सत्ता समीकरण फेरिएपछि पनि प्रधानमन्त्रीसँग निरन्तर संवादमा रहेका नेता हुन कृष्ण सिटौला ।
२१ फागुनमा कांग्रेस र माओवादीबीच सत्ता समीकरण तोडिनु अगाडि सिटौला राष्ट्रिय सभाको अध्यक्ष हुने तयारी थियो । गठबन्धन फेरिएपछि सिटौला राष्ट्रिय सभा अध्यक्ष हुन पाएनन् । यसपछि सिटौला फेरि राजनीतिमै सक्रिय हुन खोजेका छन् । यही क्रममा सिटौलाको प्रचण्डसँग भेटघाट बाक्लिएको हो । कांग्रेस सभापति देउवाका विश्वासपात्र सिटौला प्रचण्डसँग पनि नजिक मानिन्छन् । उनको सक्रियताले दिर्घकालीन अर्थ राख्ने नेताहरु बताउँछन् ।
नेताहरु माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन भूमिका खेल्दा पार्टीका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाका विश्वास पात्रका रुपमा काम गरेका थिए । त्यसबेला देखि नै प्रचण्डसँग उनको हार्दिकता उत्तिकै रहेको बताइन्छ । त्यही कारण २०६२÷०६३ सालको दोस्रो जनआन्दोलनपछि बनेको अन्तरिम सरकारमा सिटौलाले उपप्रधानमन्त्री तथा गृहमन्त्रीको जिम्मेवारी पाए भने दोस्रो संविधानसभामा संविधान मस्यौदा समितिको सभापति भएर भूमिका खेले ।
संसदीय चुनावमा भने सिटौला असफल हुँदै आएका नेता हुन् । २०४८ को चुनावमा पराजित भएका उनले एमालेका द्रोणाचार्य क्षेत्रीको निधनपछि भएको उपनिर्वाचन भने जिते । २०५१ को चुनाव हारेका उनले २०५६ मा फेरि जिते । ०६४ मा हारेका उनले २०७० मा चुनाव जितेका थिए । २०७४ र २०७९ सालमा भने राप्रपाका राजेन्द्र लिङ्देनसँग पराजित भए ।
२०८० मा कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्य जिते । हाल उनी राष्ट्रिय सभामा कांग्रेस संसदीय दलका नेता रहेका छन् ।
कांग्रेसको महामन्त्री भइसकेका उनी २०७२ फागुनको १३ औं महाधिवेशनमा सभापति लडेका थिए । तर तेस्रो भएयता सभापति देउवालाई सहयोग गर्दै आएका छन् ।
कांग्रेसका प्रचार विभाग प्रमुख मिन विश्वकर्मा सिटौलाको सक्रियता स्वभाविक रहेको बताउँछन् । उनी थप्छन्, ‘शान्ति प्रक्रियामा महत्वपूर्ण भूमिका खेल्नुभयो । संविधान निर्माणमा भूमिका रह्यो, पार्टीमा पनि महत्वपूर्ण योगदान छ । राष्ट्रलाई अझै योगदान गर्ने उहाँको चाहना देखिन्छ ।’
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies