सत्येन्द्र प्रताप सिंह/मध्यान्ह
रौतहट : रौतहटमा पछिल्लो समय आत्महत्याका घटना बढ्दै गएको एक तथ्यांकले देखाएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटको तथ्यांकअनुसार आत्महत्या गर्नेमा १३ देखि २० वर्ष उमेर समूहका बढी रहेको पाइएको छ ।
रौतहटको दुर्गा भगवती गाउँपालिका वडा नम्बर २ भलोहियामा एक जना ७५ वर्षीय वृद्धले आत्महत्या गरेका छन् । ७ वर्षीया नातिनीसँग बस्दै आएका ती वृद्धले बिहान बेलुकाको छाक टार्न नै गाह्रो परेपछि आत्महत्याको बाटो रोजेको बुझिएको छ । ती वृद्धकी नातिनीको लालनपालको जिम्मेवारी स्थानीयहरुले लिएका छन् ।
यस्तै दुर्गा भगवती २ भलोहियाका नुनिया टोलकी १५ वर्षीया आँचलकुमारी दासले पनि आत्महत्याको बाटो रोजिन् । घरपरिवारका सदस्यले गाली गरेकै निहुँमा उनले आत्महत्याको बाटो रोजेको बुझिएको छ । प्रायः कम उमेरकी किशोरी वा युवतीहरुले प्रेममा परेको कुरा घरपरिवारका सदस्यहरुले थाहा पाएपछि सामान्य गाली गरेकै भरमा आत्महत्याको बाटो रोज्ने गरेको पाइएको छ ।
यसै महिनामा रौतहट जिल्लामा १५ जनाले आत्महत्या गरिसकेको प्रहरीको तथ्यांकमा उल्लेख छ । जसमा १३ देखि लिएर ७५ वर्ष उमेर समूहका पुरुष तथा महिलाहरु रहेको बुझिएको छ । आत्महत्या गर्नबाट रोक्न व्यापकरुपमा जनचेतनाको खाँचो रहेको र समयमै आ-आफ्ना बालबालिकाहरुलाई सही शिक्षादिक्षा दिइ निगरानीमा राख्न जरुरी रहेको समाजसेवीहरु बताउँछन् ।
जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार ५ जना पुरुष र १७ महिला गरेर २२ जनालाई आत्महत्या गर्नबाट जोगाउन सफल भएको उल्लेख गरिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक एलिजा गिरीले मध्यान्हसँग कुरा गर्दै शिक्षाको कमी, बेरोजगारी, घरेलु हिंसा, प्रताडना नै आत्महत्याको प्रमुख कारण रहेको बताइन् । उनले आत्महत्याका घटना न्यूनीकरण गर्न यहाँका स्थानीय तहहरुबाट जनचेतना अभियान सञ्चालन गर्नुपर्ने बताइन् ।
जिल्ला प्रहरी कार्यालयले पनि आत्महत्या रोकथाम गर्नेसम्बन्धी जनचेतनामूलक एवम् विभिन्न सन्देशमूलक कार्यक्रमहरु सञ्चालनमा ल्याउने प्रवक्ता गिरीले प्रतिबद्धता जनाइन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies