खोटाङ - सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा १३ वटा घर खरानी भएका छन् । बराहपोखरी सामुदायिक वनमा लागेको डढेलोले १३ वटा घर, सातवटा मचान, दुईवटा गोठ खरानी पारेको हो । क्षतिको विस्तृत विवरण प्राप्त भएको छैन । बराहपोखरी–१ का वडाध्यक्ष ढकबहादुर कार्कीका अनुसार भिरगाउँका मोहनलाल थापामगरको दुईवटा घर र मचान, पूर्णबहादुर मगरको एउटा घर र तीन मचान, भद्रसिंह मगरको घर र दुईवटा गोठ, सुवास थापामगरको घर र मचान तथा मदन थापामगरको घर जलेको छ । यस्तै, डढेलोले डान्सिङटारका गङ्गामायाँ मगरको दुईवटा घर र दुईवटा मचान, ४० वटा बाख्रा, आधा तोला सुन, नगद रु ५० हजारलगायत जलेको छ ।
यसैगरी खोर्साने गाउँका सुमन मगर र गहतेका लेखराज खतिवडाको घर जलेको छ । डढेलोले डाँडाखर्क गाउँका होमबहादुर कटवाल र पदमबहादुर कटवालको बसोबास नभएको घर जलेको छ । खोर्सानेकै छकुमार राईको पनि बसोबास नभएको घर जलेको छ । रक्तमाला सामुदायिक वनमा लागेको डढेलोले भञ्ज्याङका बमबहादुर मगरको भान्छा घर र बाख्रा खोर खरानी भएको जनाइएको छ । डढेलो डाँडाखर्क र खाल्लेबीच, पोखरी–राँकुली क्षेत्र तथा चुइयाँटार र रानाछापमा फैलिरहेको स्थानीय बासिन्दाले बताएका छन् । सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीय बासिन्दाले डढेलो निभाउने प्रयास गरिरहेको भए पनि त्यो सफल नभएको स्थानीय भुवन श्रेष्ठले बताए ।
गत साउनदेखि हालसम्म जिल्लामा एक सय नौ वटा आगलागीका घटना हुँदा रु चार करोड नौ लाख २२ हजार छ सय बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies