नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले ‘एनसीआईसीके डिजिटल एक्स्पो, २०८१’ को शुरु गरेको छ । निजी क्षेत्रका व्यवसायीलाई डिजिटल प्रविधिको प्रयोग गर्दै आफ्नो व्यापार व्यवसाय विस्तार गर्ने उद्देश्यले एक्स्पो शुरु गरिएको आयोजकले जनाएको छ । देशभर रहेको घरेलु, साना तथा ठूला उद्योगी व्यवसायीहरुको वस्तु तथा सेवाको उत्पादन र व्यापार व्यवसायलाई डिजिटल बजारतर्फ नेपाली उत्पादनको विश्वव्यापीकरण गर्नका लागि पहिलो प्रयास डिजिटन एक्स्पो शुरु गरिएको हो । प्रस्तुत छ, समसामयिक सन्दर्भमा नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठसँग मध्यान्हका छबि सापकोटाले गरेको कुराकानीको सम्पादित अंश :
एनसीआईसीके डिजिटल एक्स्पो कस्तो कार्यक्रम हो ?
यो नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले अहिलेको परिस्थितिलाई सुहाउँदो डिजिटल प्रविधिको माध्यमबाट उत्पादन र उपभोक्ताबीचमा समन्वय गर्ने कार्यक्रम हो । पछिल्लो समय एक्स्पोमा स्वयं उपस्थित हुने संख्या कम हुँदै जाने, पसलमा समेत उपभोक्ता समेत नआउने जस्ता कारणले साना तथा मझौला व्यवसायी समस्यामा छन् । त्यसैले हामीले सानो व्यवसाय गर्नेहरुलाई प्रविधिमा जोड्नका लागि गाह्रो अवस्था भएको कारणले सजिलो गर्नका लागि हामीले डिजिटल एक्स्पोको अवधारणा बनाएका हौं ।
यो अवधारणा कसरी आयो ?
अबको युग प्रविधिको युग हो । संसारभर प्रविधिमा क्रान्ति भएको छ । हामी अझै पछाडी नै छौं । त्यसैले प्रविधिसँग व्यवसायी जोड्नका लागि डिजिटल एक्स्पोको शुरुवात गरेको हौं ।
एनसीआईसीके डिजिटल प्लेटफर्म हो, जहाँ व्यवसायीले स्टल लिन सक्ने छन् भने प्रदर्शनी गर्न आउनेले विभिन्न सेक्टरअनुसार उत्पादनहरु डिजिटल रुपमा भिजिट गर्न सक्नेछन् । त्यसभित्र उत्पादनको आधारमा के हेर्ने, उत्पादनको बारेमा जानकारीदेखि मूल्यसमेत हेर्न सक्नेछन् । प्रदर्शनीमा डिजिटल रुपमा स्टलहरु रहने छन्, जहाँ आफनो इच्छा भएको समान मात्र हेर्छाैं त्यसैगरी डिजिटल रुपमा आफूले चाहेको सामग्री हेर्न सकिन्छ ।
डिजिटल व्यापार गरौं भन्ने सन्देश दिन यो एक्स्पोको शुरुवात गरिएको हो ?
यो शुरुवात हो । यो सबै व्यवसायीअनुसार वेभसाईट बनाएर खर्च गर्ने भन्दा एकै स्थानमा व्यापार गर्न सहज गराउने प्रयास हो । मेलामा जान फुर्सदसमेत नहुने उपभोक्ता नै हाम्रो टार्गेट हो । इन्टरनेटको पहुँच हुनेका लागि बिहान, दिउँसो, राति जतिबेला समेत स्टलहरु अवलोकन गर्न सकिन्छ । अहिले हामीले शुरुवातको चरणमा एक महिना एक्स्पोको रुपमा शुरुवात गरेका छौं । विस्तारै सुुधार गर्दै अझै व्यवस्थित बनाएर लौजाने सोच बनाएका छौं । भविष्यमा यो प्लेटफर्मलाई सधैँ स्थानीय उत्पादनको विश्वव्यापीकरण गर्नका लागि सधैँ नै खुल्ला गर्ने नै हो ।
काठमाडौंले शुरु गरेर अहिले अन्य जिल्लाका व्यवसायीसमेत जोडिदै जानुभएको छ । अब यो देशव्यापी उत्पादनलाई व्यापार गर्ने थलोको रुपमा विकसित गर्ने छौं । पछिल्लो समय भएको केही व्यावसायिक प्रदर्शनीमा मानिसहरुको उपस्थिति कम रह्यो । कोभिडको बेलादेखि अहिलेसम्म उत्पादनको सामग्री बिक्री नहुने र उत्पादनमा समेत गिरावट आइरहेको छ । तर, उपभोक्ताहरु भने बढी मूल्यमा सामग्री किन्न बाध्य छन् । बजारको ग्यापलाई हामीले कसरी सहज, सरल बनाउन सकिन्छ भन्ने सोचको साथ डिजिटल बजार शुरु गरेका हौं । अब हामी व्यवसायीले समेत डिजिटल प्रविधि प्रयोग गरेर कम मूल्यमा उपभोक्तालाई कसरी सामग्री बिक्री गर्न सकिन्छ भनेर प्रविधिसँग नजिक हुने प्रयास हो ।
यस्तै, अहिले एक्स्पो गर्दासमेत ठूलो लगानी गर्नुपर्ने हुन्छ । एक्स्पोबाट समेत फाइदा हुन्छ की हुँदैन भन्नेमा समस्या देखिन्छ । अहिले प्रविधिलाई जति सक्यो त्यति प्रयोग गर्दै आफ्नो उत्पादनलाई एकै स्थान घरबाटै किनबेच गर्नका लागि पहिलो शुरुवात गरेका हौं । यो एक्स्पोले उद्यागी, व्यवसायी उपभोक्ताबीच समन्वय गरेर आर्थिक चलायमान गराउने अपेक्षा लिएका छौं ।
डिजिटल एक्स्पोबाट के फाइदा हुन्छ ?
डिजिटल प्रविधिका कारण नेपाल जस्तो अल्पविकसित मुलुकले विश्वव्यापी बजारमा पहुँच बढाउन सक्छ । प्रविधिमा पहुँच जति धेरै भयो त्यति नै व्यापारलाई विविधिकरण गर्न सकिन्छ । प्रविधिको पँहुचलाई ग्रामिण क्षेत्रसम्म पु¥याउन सक्ने हो भने स–साना तथा मझौला व्यवसायीले पनि लाभ लिन सक्छन् । अहिले अनलाईनबाट किनमेलदेखि खानेकुरा मगाएर खाने प्रचलन बढ्दो छ । अब हाम्रो उत्पादनलाई समेत अनलाईन डेलिभरी गर्नेतर्फ जोड दिन आवश्यक छ । सबैको सहज र सरल प्रविधिमा पहुँच बनाउनेगरी निजी क्षेत्रले काम गर्नु नै पर्ने हुन्छ । हामीले सरकारसँग समेत सहयोगको अपेक्षा गरेका छौं । स्थानीय निकाय, प्रदेशदेखि संघ सरकारसँग समन्वय गरेर आर्थिक चलायनमान गर्ने मुख्य उद्देश्य एक्स्पोले लिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies