दिवाकर अधिकारी/मध्यान्ह
काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री बन्ने चाहना रहेको बताएका छन् । तर, आफू र आफ्नो पार्टीलाई प्रधानमन्त्री बन्न नदिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लागि परेको उनको गूनासो छ ।
सोमबार पार्टी निकट अखिल नेपाल महिला संघ समाजवादीले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूले पार्टीका लागि अनुकूल वातावरण बनाउने कुरामा ध्यान दिने बताए ।
‘हामी प्रधानमन्त्री बन्छौं भनेर कतिपयलाई पोल्न थाल्या छ । कतै प्रधानमन्त्री बनिहाल्छ कि भनेर पनि पोल्न थाल्या छ’ अध्यक्ष नेपालले भने, ‘परिस्थितिलाई हामीले आफ्नो अनुकूल बनाउने कुरामा हाम्रो ध्यान जानुपर्छ ।’
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि एकीकृत समाजवादीका अध्यक्ष नेपालको आलोचना गर्दै आएका छन् । सुदूरपश्चिम प्रदेश सरकार निर्माणका बेला मुख्यमन्त्री नपाए कांग्रेससँग गठबन्धन गर्ने एकीकृत समाजवादीको तयारी थियो । त्यसलाई रोक्न ओली एकीकृत समाजवादीलाई नै मुख्यमन्त्री दिन तयार भए । तर, एकीकृत समाजवादीले उठाएको उम्मेदवारमा असहमति जनाए ।
एकीकृत समाजवादीले दीर्घ सोडारीलाई मुख्यमन्त्री बनाउन तयार नभए कांग्रेससँग गठबन्धन गर्ने भन्यो । त्यसपछि एमाले सोडारीलाई नै मुख्यमन्त्री मान्न तयार भयो तर, सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी भएको छैन ।
माधव नेपालले गठबन्धनको सबैभन्दा ठूलो दललाई समेत दबाबमा राखेपछि एमाले अध्यक्ष ओलीले सार्वजनिक रुपमै एकीकृत समाजवादीको आलोचना गरेका थिए । पछिल्लो समय अोली पनि सांकेतिक रुपमा नेपालको आलोचना गर्दछन् । ओली र नेपालको सम्बन्धमा रहेको चिसोपनाका कारण कतिपयले सत्ता गठबन्धनमाथि नै समेत आशंका गर्ने गरेका छन् ।
नयाँ गठबन्धन बनेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ३० फागुन २०८० विश्वासको मत लिँदा १५७ मत ल्याएका थिए ।
१० पुस २०७९ मा प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा तीन पटक विश्वासको मत लिइसके । २५ पुस २०७९ मा पहिलो पटक विश्वासको मत लिएका प्रचण्डलाई त्यतिबेला प्रतिनिधिसभामा रहेका राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीबाहेक सबै दल र स्वतन्त्र सांसदले विश्वासको मत दिएका थिए ।
२०७९ फागुनमै एमालेसँग सहकार्य तोडेर कांग्रेससँग गठबन्धन बनाएका प्रचण्डले ६ चैत २०७९ मा विश्वासको मत लिएका थिए । त्यतिबला उनले १७२ मत पाएका थिए ।
तेस्रो पटक विश्वासको मत लिँदा समेत प्रचण्ड नेतृत्वको सरकारको भविष्यमाथि अनेकन कोणबाट प्रश्न उठाउने गरिएको छ । यस्तोमा एमाले र एकीकृत समाजवादीको सम्बन्धको विषयले प्रतिपक्षी दलहरुलाई उतसाहित र सत्तारुढ दलहरुलाई झस्काउने गरेको छ ।
संघीय संसदमा एमालेको ७९ र नेकपा एकीकृत समाजवादीका १० जना सांसद छन् । ३२ सिट रहेको माओवादी केन्द्रका अध्यक्ष प्रधानमन्त्री छन् । सत्तारुढ गठबन्धनमा यी तीन वटा बाहेक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा), र नागरिक उन्मुक्ति पार्टी छ । केही स्वतन्त्र सांसदले पनि सरकारलाई समर्थन दिएका छन् ।
तर, एमाले र एकीकृत समाजवादीको सम्बन्ध कसिलो हुँदा नयाँ सत्ता समीकरणको सम्भावना कम हुन्छ । यी दुई दल नमिल्दा नयाँ समीकरण बनाउन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका लागि ठाउँ मिल्छ । यसकारण ओली र नेपालको सम्बन्धमा सरकारको भविष्य समेत जोडिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies