सुर्य प्रसाद भुसाल/मध्यान्ह
अर्घाखाँची : लामो समयदेखि विवादमा रहँदै आएको बुटवल राजमार्ग चौराहादेखि चिडिया खोलासम्मको सडकको ठेक्का सम्झौता खारेज भएको छ । ठेकेदार कम्पनीसँगको ठेक्का सम्झौता सडक डिभिजन कार्यालयले औपचारिक रुपमा खारेज गरेको हो ।
पटक–पटक ठेकेदार कम्पनीलाई ताकेता गर्दा पनि सो सडकको निर्माण गर्ने जिम्मेवारी लिएको कञ्चनजंघा बिरुवा जे.भी ले अटेर गरी काम नगरेको र कम्पनीका प्रतिनिधिसँग प्रशासनमा बसेर पटक–पटक लिखित सम्झौता गर्दा पनि काम सम्पन्न नगरेको कारण ठेक्का सम्झौता खारेज गरिएको सडक डिभिजन कार्यालय बुटवलका सिनियर डिभिजन इन्जिनियर बिसुनदास लामाले बताए ।
ठेकेदार कम्पनीलाई कार्यालयबाट गत चैत्र २६ गते ठेक्का अन्त्य गर्ने आशयको पत्र पत्राचार गरिएकोमा निर्धारित समय अवधिमा कार्य सम्पन्न हुन नसकेको तथा सम्पन्न गर्नेबारे कुनै कारण र कार्य सम्पन्न गर्न स्रोत परिचालनको भरपर्दो योजना र कार्य सम्पन्न गर्ने प्रतिबद्धतासहित उपस्थित भए कार्य सुचारु गर्ने कम्पनीबाट तदारुकता नदेखाइएकाले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ को उपदफा (७) र (८) तथा सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १२८ र ठेक्का सम्झौताको जिसीसी क्लजको ५७.२ को प्रावधान बमोजिम ठेक्का सम्झौता अन्त्य गरिएको समेत डिभिजन प्रमुख लामाले बताए ।
‘यस पश्चात सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४१ र ठेक्का सम्झौताको जिसीसी क्लज ५९ को प्रावधान बमोजिम कालो सूचीमा राख्न सिफारिस गरिने तथा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ को उपदफा ८ र ठेक्का सम्झौताको न्जिसीसी क्लज ६० को प्रावधान बमोजिम कार्य सम्पादन जमानत, धरौटी वापतको रकम र यस अधि पेश्की जफत नगरेको भए पेश्की रकम जफत गरिने छ,’ सूचनामा भनिएको छ, ‘सार्वजनिक खरिद ऐन २०६३ को दफा ५९ (८) बमोजिम बाँकी कार्य गर्न लाग्ने खर्च, त्रुटिपूर्ण कार्य सच्याउन लाग्ने खर्च, भुक्तानी भइसकेको तर बिग्रिए भत्केको कारण पुनः निर्माण गर्नुपर्ने अवस्थाको परिमाण बापतको रकम, बनेको संरचना संरक्षण गर्न लाग्ने खर्च, पेश्की जफत भएको भए ब्याज १० प्रतिबत, अन्य आनुमानित खर्च आदि सरकारी बाँकी सरह असुल उपर गर्नेतर्फ कारबाही गरिने व्यहोरा जानकारी गराइन्छ ।’
२०७३ साल चैत्रमा ठेक्का सम्झौता भएपनि स्थानीयको अवरोध र साइड खाली हुन नसकेको बहानामा काम नगरी बसेको कन्चनजंगा बिरुवा जेभीले साइड खाली भएर पुनः शिलान्यास भएको ४ वर्ष बित्दा काम सम्पन्न नगरी झारा टार्दै बस्दै आएको थियो । कम्पनीले त्यसयता पनि धेरै पटक कम सम्झौता अनुसार गर्ने प्रतिबद्धता व्यक्त गर्दै आएको थियो ।
पटक–पटक अदालती मुद्दाका कारण काम गर्न नपाएको भन्दै म्याद थपाउँदै आएको कन्चनजंगा जेभीले सोही सडक देखाएर करोडौंको निर्माण सामग्री बेचेर करोडौं कमाएको स्रोतको दाबी छ ।
२०७७ माघ १४ गते तत्कालिन अर्थमन्त्री पौडेलले बुटवलको राजमार्ग चौराहामा शिलान्यास गर्दा समेत ठेकेदार सुवित श्रेष्ठले मञ्चबाट भाषण गर्दै सोही दिनबाट काम शुरु गर्ने र एक वर्षमा काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएका थिए ।
सडकको सबै प्रक्रिया पु¥याएर ठेक्का कायम राख्नुको औचित्य समाप्त भएपछि ठेक्का अन्त्य गरिएको सडक डिभिजन बुटवलका प्रमुख विसुनदास लामाले बताए । उनले ठेकेदारलाई आसयसहितको योजना प्रस्तुत गर्न पत्राचार गर्दापनि सम्पर्कमा नआएको र १, २ जना लेबर लगाएर काम गरे जस्तो पनि गर्ने र काम सम्पन्न नगर्ने गरेपछि ठेक्का अन्त्य गरिएको बताए ।
यो सडक निर्माणका लागि कन्चजंगा बिरूवा जेभीले २०७३ चैत्र १७ ठेक्का पाएको थियो । बुटवल राजमार्ग चौराहदेखि गोलपार्कसम्म करिब ३ किलोमिटर लामो यो सडकको लागत अनुमान करिव ६० करोड रहेकोमा कञ्चनजंगा विरुवा जेभीले ४० करोड बढीमा ठेक्का कबुल गरेको थियो ।
सडक कार्यालय रुपन्देहीले अहिले गुणस्तरीय काम नगर्ने निर्माण व्यवसायीलाई समेत निगरानीमा राखेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies