दिलमाया शाही/मध्यान्ह
जुम्ला : नेपालकै पहिलो अन्तर्राष्ट्रिय सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन जुम्लामा सम्पन्न भएको छ । जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पहलमा शनिबारदेखि शुरु भएको ‘सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ आइतबार सकिएको हो । यो सम्मेलनले जुम्ला घोषण पत्र जारी गरेको छ । घोषण पत्रमा मानसिक स्वास्थ्य समस्याको ठूलो खाडल र देशमा उपलब्ध सेवा र विशेष मानसिक स्वास्थ्य जनशक्तिको अभावलाई पहिचान गर्दै त्यसलाई पूरा गर्न नवप्रवर्तन र सहकार्यको गर्ने लगायतका विषय उल्लेख गरिएको छ ।
‘सबैको मानसिक स्वास्थ्यका लागि नवप्रवर्तन तथा सहकार्य’ नारासहित नेपालमा पहिलो पटक जुम्लामा यो सम्मेलन गर्न सफल भएको प्रतिष्ठानका उपकुलपति डाक्टर मंगल रावलले बताए ।
उनले भने,‘यो सम्मेलनले समग्र कर्णालीको लागि केही महत्वपूर्ण काम हुने देखिएको छ । यहाँ धेरै मानसिक रोगका समस्या देखिन थालेका छन् । उपकुलपति रावलका अनुसार सम्मेलन हावर्ड युनिभर्सिटी म्यासाचुसेट्स जनरल हस्पिटल साइक्याट्रिक डिपार्टमेन्ट अमेरिका र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको सहकार्यमा भएको हो ।
त्यस्तै यो प्रतिनिधिसभा सदस्य विनिता कठायत, जिल्ला समन्वय समितिका प्रमुख गौरी नन्द आचार्यले संयुक्त रुपमा उद्घाटन गरेका थिए । उनले कर्णाली प्रदेशकै दुर्गम मानिएको जुम्लामा सामुदायिक मानसिक स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ हुनु अपरिहार्य भएको प्रतिनिधिसभा सदस्य विनिता कठायतले बताइन् । उनले सबै भन्दा ठूलो कुरा मानिस स्वस्थ रहनु हो । खासै राज्यले मानसिक समस्यालाई पहिलो प्राथमिकता दिनुपर्ने आवश्यक छ ।
त्यस्तै जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले ,‘जीवनको सबैभन्दा महत्वपूर्ण स्वास्थ्य हो । स्वास्थ्य राम्रो भए सबै राम्रो हुन्छ ।’ डाक्टरको अभाव भइरहने जुम्लाले आफैं डाक्टर उत्पादन गर्न थालेको बताए । उनले जुम्लामा बनेको कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान एक पर्यटकीय गन्तव्य भएको बताए । उनले सामुदायिक मानसिक स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ बाट धेरै बिरामी लाभान्वित हुने विश्वास व्यक्त गरे ।
त्यस्तै डा.श्रीधर पौडेलले कर्णाली जस्तो दुर्गममा यस्तो सराहनीय कार्य गर्न आउन पाउँदा गौरव लागेको बताए । उनले यो समस्या नेपालभरि फैलिएको छ । कर्णालीको अवस्था, दुर्गम क्षेत्रमा देखिएको मानसिक स्वास्थ्य समस्यालाई प्रत्यक्ष बुझ्न र अध्ययन गर्न पाएकोमा खुसी व्यक्त गरे ।
उनले भने, ‘यो सम्मेलनले सुगम हावर्ड युनिभर्सिटी र दुर्गममा अवस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान मिलेर गर्न थालिएको मानसिक स्वास्थ्यसम्बन्धी काम गर्ने अवसर जुटाएको बताए ।
त्यस्तै यसपटक जुम्लामा भएको यो सम्मेलनबाट रुढिवादी सोच र चिन्तनले थलिएका मानसिक बिरामीका लागि केही राहत पुग्ने देखिएको छ । यससम्मेलनले कर्णालीका नागरिकका लागि मानसिक स्वास्थ्य र सेवाको पहुँच पु¥याउने उद्देश्यले जुम्लामा आयोजना गरिएको बुझिएको छ ।
त्यस्तै सम्मेलनमा अमेरिकाबाट चार र नेपालभरिबाट दर्जनभन्दा बढी मानसिक रोग विशेषज्ञ, मनोवैज्ञानिक तथा मनोपरामर्शदाताको सहभागिता रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले जनाएको छ । सम्मेलनमा करिब ५० वटा मानसिक रोगसम्बन्धी कार्यपत्र प्रस्तुत गरिएको थियो । सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव, कर्णाली प्रदेश सरकारका सामाजिक विकास सचिव, स्थानीय सरकारका प्रमुख तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधिको सहभागिता रहको थियो । त्यस्तै यता मानसिक विशेषज्ञ डा. विद्यादेव शर्माले दुर्गम क्षेत्रका नागरिकको मानसिक स्वास्थ्य अवस्था सुधार चुनौती रहेको बताए ।
उनले विभिन्न चुनौतीका बाबजुद पनि जुम्लामा सम्मेलन गर्न सफल भएको आधार व्यक्त गरे । सम्मेलनका लागि नेपाली समुदायमा आधारित मानसिक स्वास्थ्य क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाले समेत सहकार्य गरेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies