तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले नेपाल सरकारले ९८ प्रकारका औषधि निःशुल्क उपलब्ध गराएको बताउँदै नेपालमा विकास नै भएको छैन, खत्तम भयो भन्ने बुझाइ गलत भएको दाबी गरेका छन् । अमेरिकामा भएको विश्व जनसंख्यासम्बन्धी सम्मेलनमा भाग लिएर नेपाल फर्कने क्रममा कतारको भ्रमणमा रहेका मन्त्रीको स्वागतमा आइतबार राति नेपाली दूतावासको सभा हलमा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री यादवले उक्त कुरा बताएका हुन् ।
आइतबार मात्र आफूले नेतृत्व गरेको जनता समाजवादी पार्टी नेपाल (जसपा) फुटेर दुई चिरा परेकोप्रति लक्षित गर्दै मन्त्री यादवले कतारको नेपाली समाज पनि एकै संगठनभित्र नअटेर सयौं बनेको बताउँदै आफ्नो बचाउ गरे ।
कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका मन्त्री यादवले नेपालमा जारी अस्थिर राजनीति नै समृद्धिको बाधक भएको बताउँदै नेपालमा पछिल्लो केही वर्षमा सडक यातायात, सञ्चार, प्रविधि, स्वास्थ्य र शिक्षाको क्षेत्रमा ठुलो परिवर्तन भएको बताए । लामो समयसम्म एउटा व्यवस्था भएका देशमा व्यवस्था परिवर्तन भएपछि स्थिरता आउन केही समय लाग्नु स्वाभाविक भए पनि नेपालमा सत्ता र शक्तिको टसलले केन्द्र सरकार परिवर्तनसँगै प्रदेश सरकारदेखि विदेशी कूटनैतिक नियोगसम्म परिवर्तन हुनु गलत रहेको उनको भनाइ थियो । नेपालको अर्थतन्त्रको ठुलो हिस्सा रेमिट्यान्सले धानेको र त्यसको मुख्य आधार प्रमुख गन्तव्य रहेको खाडी क्षेत्र नै भएकाले सरकारले सदैव विदेशमा रहेका श्रमिकको सम्मान गर्ने गरेको बताउँदै उनले कार्यक्रममा उठेका प्रश्न र जिज्ञासा समसामयिक र सान्दर्भिक रहेकाले तिनलाई सम्बोधन गर्न सक्दो पहल गर्ने बताए ।
विदेशबाट देखेर, सिकेर जाँदा पनि नेताहरूले मातृभूमिमा परिवर्तनका लागि केही नगरेको वक्ताहरूले बताए । वक्ताहरूले सत्ता परिवर्तनसँगै राजदूत परिवर्तन हुँदा श्रमिकहरू थप समस्यामा पर्ने गरेको बताउँदै राजदूतहरुलाई पूर्ण कार्यकाल काम गर्न दिन आग्रह गरेका थिए । स्वास्थ्य क्षेत्रमा आशातीत विकास नभएको गुनासो वक्ताहरूले गरेका थिए । उनीहरुले नेताहरूलाई चुनाव जिताउन मात्र नभइ पाल्ने काम पनि प्रवासी नेपालीले नै गरेको बताउँदै उपप्रधानमन्त्रीकै सामुन्ने सरकारको कडा आलोचना गरेका थिए ।
कार्यक्रममा कतारका लागि नेपाली राजदूत डा. नरेश विक्रम ढकालले भर्खरै सम्पन्न कतारका अमिरको नेपाल भ्रमण ऐतिहासिक र उपलब्धि रहेको बताउँदै दुई देशबीच भएको उच्चस्तरीय समझदारीले नेपालको हितमा काम गर्ने धेरै अवसर खुलेको बताए । श्रमिकसँग सम्बन्धित केही बुँदामा छलफल जारी रहेकाले त्यो सम्झौता पनि निकट भविष्यमा हुने भन्दै ढकालले हाल भएका समझदारी र सम्झौता कार्यान्वयनका लागि आफू इमानदार भएर लागिरहेको बताए । उनले कतारमा ठूलो संख्यामा नेपाली कामदार रहेको र दूतावासमा कर्मचारी अभावलगायतका समस्याले काम गर्न कठिनाइ रहेको भन्दै सम्बोधनका लागि पहल गरिदिन मन्त्रीलाई आग्रह गरेका थिए ।
संघका प्रथम उपाध्यक्ष कृष्ण पन्थीले स्वागत मन्तव्य राख्दै नेपालमा श्रमिक अस्पतालको निर्माणका लागि पहल गर्न आग्रह गरे । उनले श्रमिक अस्पताल बन्न सके कतारका अस्पतालमा उपचाररत बिरामीलाई परिवारको काखमा राखेर उपचार गराउन पाइने र यसले बिरामीमा पनि सकारात्मक ऊर्जा मिल्ने हुँदा छिटो निको हुने विश्वास व्यक्त गरे । सन्तोष क्षेत्रीले सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै कार्यक्रमका सभापतिसमेत रहेका एनसीसी कतारका अध्यक्ष रमेश भट्टले श्रमिकको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्न आग्रह गरे ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies