सुर्य प्रसाद भुसाल/मध्यान्ह
अर्घाखाँची : अर्घाखाँचीको शितगंगा नगरपालिकामा जिल्लाका महिला सञ्चारकर्मीहरुका लागि एकदिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । शितगंगा नगरपालिकाको सहयोग, कमलपोखरी युवा क्लबको आयोजना तथा न्युज पाना मिडिया प्रा.लि.को सहजीकरणमा सञ्चलालित तालिममा जिल्लाका विभिन्न मिडियामा कार्यरत ३२ जना महिला सञ्चारकर्मी सहभागी थिए ।
कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य बिजुला रायमाझीले अहिले पनि महिला सहभागिता ३३ प्रतिशतकै आधारमा हुन नहुने बताउँदै सक्रियताको आधारमा हरेक क्षेत्रमा समान सहभागितामा महिला सक्रिय हुनुपर्नेमा जोड दिइन् ।
नगर प्रमुख छबिलाल पौडेलले हरेक क्षेत्रमा महिला सहभागिताका लागि नगरपालिकाले निरन्तर सहयोग गरिरहेको बताउँदै नगरको विकास अवस्थाका बारेमा सुझाव दिन र समाचार उठान गर्न महिला पत्रकारलाई अनुरोध गरे ।
पत्रकारिता क्षेत्रमा महिलाको सक्रियता बलियो बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको नगर उपप्रमुख गीता भाटले बताइन् । सञ्चार क्षेत्रमा लागेका महिलाको अवस्था र सक्रियताको बारेमा यो तालिमबाट जानकारी प्राप्त भएको र सञ्चार क्षेत्रमा महिलालाई आवाजविहीन समुदायको आवाज ल्याउन यो तालिमले सहयोग गर्नेमा आफू आशावादी रहेको उपप्रमुख भाटले बताइन् ।
तालिमले न्यूनतम आचारसहिंताबारे धेरै कुरा सिक्न पाएको भएको बताउँदै महिलालक्षित यस्ता कार्यक्रमहरु नगरपालिकाले निरन्तर प्रदान गर्नुपर्ने तालिममा सहभागी सरस्वती पुरीले बताइन् । तालिममा सहभागी महिला सञ्चारकमीहरुले कलमको माध्यमबाट महिला हिंसा उत्पीडनका आवाज बुलन्ध गर्नुपर्नेमा जोड दिए ।
महिला सशक्तीकरण, पत्रकारिता आचारसंहिता, महिला र सञ्चारलगायतका विषयमा प्रशिक्षक हृदय भुसाल, मधु श्रेष्ठ तथा बिजुला रायमाझीले प्रकाश पारेका थिए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा, योजना अधिकृत नुमलाल खनाललगायतको उपस्थिति रहेको थियो । सचिन बोहराको अध्यक्षतामा भएको कार्यक्रम विक्रम आर्चायले सञ्चालन गरेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies