काठमाडौं : शेयर बजारमा उत्साह आउन नसकिरहेकोबेला सरकारले शेयर कारोबारमा दलाल कमिसन घटाउने निर्णय गरेर लगानीकर्तालाई राहत दिने काम गरेको छ । नेपाल धितोपत्र बोर्डको निर्णयअनुसार सरकारले सेयर कारोबार गरेबापत दलाल कम्पनीले लिँदै आएको कमिसनमा १० प्रतिशतले घटाउने निर्णय गरेको हो ।
सरकारको निर्णयसँगै हाल कायम ०.२७ प्रतिशतदेखि ०.४० प्रतिशतसम्मको दलाल कमिसन न्यूनतम ०.२४ प्रतिशतमा झर्ने भएको छ । बोर्ड सञ्चालक समितिको आइतबार बसेको बैठकले जेठ १ गतेदेखि लागु हुने गरी दलाल कमिसन घटाउने निर्णय गरेको हो ।
हालको दलाल कमिसनको दर अनुसार ५० हजार रुपैयाँसम्मको कारोबारमा ब्रोकर कम्पनीहरुले ०.४० प्रतिशत र ५० हजारदेखि ५ लाखसम्मको कारोबारमा ०.३७ प्रतिशत कमिसन लिने गरेका छन् । नयाँ निर्णयअनुसार १० प्रतिशतले कमिसन घट्दा यस्तो कमिसन क्रमशः ०.६६ प्रतिशत र ०.३३ प्रतिशतमा झर्नेछ ।
यस्तै हालसम्म पाँच लाख भन्दा माथि २० लाख रुपैयाँसम्मको कारोबारमा ०.३४ प्रतिशत, २० लाख भन्दा माथि १ करोड सम्मको कारोबारमा ०.३० प्रतिशत र १ करोड भन्दा माथि जतिसुकैको कारोबारमा ०.२७ प्रतिशत दलाल कमिसन लाग्दै आएको छ । अब भने सो परिमाणको कारोबारमा क्रमशः ०.३१ प्रतिशत,०.२७ प्रतिशत र ०.२४ प्रतिशत कायम हुनेछ । धितोपत्र बोर्ड अधिकारीकाअनुसार नयाँ कमिसन दर नेपाल स्कट एक्सचेञ्ज (नेप्से) र सीडीएर एण्ड क्लियरिङ लिमिटेडलाई व्यवस्थापन गर्न समय दिइएकाले जेठ १ गतेदेखि लागू हुनेछ ।
लामो समयदेखि शेयर बजार २ हजारको बिन्दु वरिपरि घुमिरहेको छ । गत साता ३३ अंकले घटेको नेपाल स्टक एक्चेञ्ज (नेप्से) यो साताको आइतबार २४.५८ र सोमबार १५.६२ अंकले घटेको छ । समग्रमा गत सातामा बढेको नेप्से यो साताको दुई दिनमै त्यसभन्दा धेरै घट्न पुग्यो । बजारमा उत्साह नभएपनि कारोबारको परिमाण भने राम्रै भइरहेको छ । पछिल्लो समय निरन्तर घटिरहेको बजारमा दलाल कसिमन घटेसँगै लगानीकर्ताहरुलाई राहत हुने देखिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies