मुकुन्द लामिछाने/मध्यान्ह
काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग नछाड्ने भएको छ । छानबिन समितिको मागमा कांग्रेस अडिग रहँदा प्रतिनिधिसभाको चौथो अधिवेशन पनि सौहार्द हुनेमा संशय पैदा भएको छ । संसद् सहज नचले नीति तथा कार्यक्रम र बजेट ल्याउनै समस्या हुने भएपछि सत्तारुढ दलहरु पनि दबाबमा परेका छन् ।
सभामुख देवराज घिमिरेले मंगलबार प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेता र दलका प्रमुख सचेतक र सचेतकहरुलाई बोलाइएका थिए । उक्त छलफलमा सहभागी कांग्रेस सहित प्रतिपक्षी राप्रपाका नेताहरुले सहकारीमा भएको अनियमिततामा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने अडान दोहोर्याए ।
सरकारको नेतृत्वकर्ता नेकपा माओवादी केन्द्र, सत्ता साझेदार नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरुले छानबिन समिति आवश्यक नभएको बताएका थिए । बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न दिनुपर्ने मत राखेका थिए ।
‘संसदीय छानबिनको माग राखेका छौं । आशा छ, आगामी अधिवेशनमा प्रस्तुत हुँदा सरकारले सम्बोधन गर्छ’ बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले पत्रकारहरुसँग भने ।
छानबिन समिति गठन नभए के हुन्छ भन्ने पत्रकारहरुको प्रश्नमा लेखकले थपे, ‘उपप्रधान तथा गृहमन्त्री कानूनभन्दा माथि हो ? संविधान भन्दा माथि हो ? होइन भने उहाँमाथि पनि संसदीय छानबिन हुन सक्छ, हुनुपर्छ ।’
सत्तारुढ दलहरुले समग्रतामा सहकारीको समस्या समाधानका लागि संसदीय छानबिन समिति गठन गर्न सकिने प्रस्ताव राखेका थिए । समग्रतामा सहकारीमा भएको हिनामिना, ठगी, दुरुपयोगको छानबिन नगरौं भनेर आफूहरुले नभनेको कांग्रेस सचेतक लेखकले बताए । उनले अगाडि भनेका छन्, ‘अरु सबै कुरामा गर्ने, उपप्रधान तथा गृहमन्त्रीमाथि प्रश्न उठ्दा छानबिन नगर्ने ? यस्तो हुन सक्दैन ।’
यही वैशाख २८ गतेबाट संघीय संसदको अधिवेशन सुरु हुँदैछ । त्यसअगाडि सभामुखले शीर्ष नेताहरुसँग समेत छलफल गरेका हुन् । सभामुख देवराज घिमिरेले बोलाएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहभागी थिए । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका उपाध्यक्ष ध्रुव प्रधानलाई पठाएका थिए ।
सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा बसेको बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, माओवादीका मुख्य सचेतक हितराज पाण्डे, एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, रास्वपाका प्रमुख सचेतक सन्तोष परियार, राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाही पनि सहभागी थिए ।
प्रतिनिधि सभाको चौथो अधिवेशनका सम्बन्धमा छलफल गर्न बसेको बैठक झण्डै तीन घण्टा चल्यो । तर छलफल सहकारीको रकम अपचलनमा संलग्न भएको आरोप लागेका गृहमन्त्री लामिछानेमाथि लागेको आरोपका सम्बन्धमा छानबिन समिति गठन गर्नुपर्ने कांग्रेसको मागमा केन्द्रित भएको थियो ।
बैठकपछि एमाले प्रमुख सचेतक महेश बर्तौलाले सहकारीको समग्र विषयमा संसदीय समिति बनाउने वा भएकै समितिबाट छानबिन गर्न सकिने निक्र्योल नभएको बताए । ‘गृहमन्त्री लक्षितमात्र रहेर समितिको कुरा गरिरहुनुभएको छ, त्यो सम्भव छैन’ उनले भने ।
आफूमाथि प्रश्न उठेपछि गृहमन्त्रीलाई जवाफ दिन दिनुपर्ने एमाले प्रमुख सचेतक बर्र्तालाको भनाइ छ । उनी थप्छन्, ‘पहिला गृहमन्त्रीलाई सुनौं, त्यसपछि के गर्ने भन्ने छलफल गरौंला ।’
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies