–कौशल गोपालवंशी
नेपालमा ठूलो संघर्षपछि बल्लतल्ल स्थायी हुँदै आएको पहिचानको मुद्दालाई मुख्य एजेन्डा बनाई आफूलाई राष्ट्रिय पार्टीको रूपमा स्थापित गर्न लागेको जनता समाजवादी पार्टी (जसपा) नेपाल पार्टीको महाधिवेशनको मुखमा पुनः विभाजन भएको छ । जसपा नेपाल अध्यक्ष विदेश भ्रमणमा रहेको बेला कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएको राजेन्द्र श्रेष्ठको नेतृत्वमा विभाजन हुनु जसपाको लागि यो संयोग मात्र हुन भन्न सकिने कुनै अवस्था छैन । देशमा स्थायी राजनीतिक नेतृत्वको विकल्प खोजिरहेको बेलामा सत्तामै रहेको पार्टी यसरी फुट्नुलाई राजनीतिक विशेषज्ञहरूले विभिन्न दिशाबाट दिशानिर्देश भएको भनेर अभिव्यक्त दिइरहेको बेला यहाँ यसभित्रको अन्तर्य केलाउने प्रयास गरिएको छ ।
जसपा नेपाललाई फुटाउन गरिएको प्रयास यो पहिलो पटकमै सफल भएको छ । तर संस्थापक पक्षलाई नै संसदीय अङ्कगणितका कमजोर बनाउने गरी विभाजन भएको यो जसपाको इतिहासमा मात्र नभई नेपालकै राजनीतिक दलको इतिहासमा यो पहिलो पटक होला । उपेन्द्र यादव नेतृत्वकै पार्टी बारम्बार विभाजनको डिलमा पुग्नु पक्कै पनि आम मधेस जनताको लागी निकै निराशाजनक अवस्था हो ।
जसपा नेपालको करिब ९० प्रतिशतभन्दा बढी जनआधार मधेस क्षेत्रमा नै रहेको तथा यो शक्तिको निर्माण र राष्ट्रिय स्तरमा पहिचानको स्थायित्वको लागि मधेसी जनताकै सहादत रहेको सबैलाई थाहा नै छ । अथवा यो पार्टी मधेसी सहिदको बलिदानीको जगमा बनेको र सहिदको रगतमा हुर्केको पार्टी हो, जसपा नेपाल अर्थात् यो पार्टीको कण कणमा मधेस÷मधेसीको त्याग, तपस्या, विश्वास र बलिदानको झझल्को पाइन्छ । तर यसरी कण कणमा मधेसीपन झल्किने पार्टीको कणहरू बेलाबेला उछिट्एर अलग–अलग हुनु वा जसको कारणले कणकणमा सहिदको रगत छ, त्यस्ता शक्तिसँग मिलेर आफ्नो अस्तित्व नै हराउनुले हरेक मधेस÷मधेसी जनताको भावनाप्रतिको खेलवाड भएको मान्न सकिन्छ । जनताको भावनासँग यसरी गरिने खेलवाडलाई मधेस÷मधेसी जनतालाई पक्कै पनि स्वीकार्य छैन । तर, यसपालिको विभाजन भने निकै अनौठो खालको छ ।
वरिष्ठ नेता अशोक राईले गरेको विभाजनले आम मधेसका जनतामा पहाडको जनतासँग बढ्दो विश्वासको वातावरणको बीचमा एउटा अविश्वासको रेखा कोरिदिएको छ । नेपाली राजनीतिमा पहिचानको मुद्दा राष्ट्रियकरण हुँदै गरेको बेलामा यसरी पार्टी फुटाउनुलाई मधेस बाहेकको क्षेत्रमा उठ्न सक्ने पहिचानको मुद्दालाई एक पटक फेरि ब्रेक लाग्ने देखिन्छ । पहाड र मधेसको जनताका बिचमा बनाउन लागेको अविश्वासको वातावरणले अन्य क्षेत्रमा हुने सक्ने पहिचानको आन्दोलनलाई मधेसबाट हुने समर्थन घुमाउँदैछ । तर, नेपालमा पहिचानको मुद्दालाई मधेसी जनताले समर्थन नगरे सफल हुन असम्भव नै हुन्छ ।
यतिको चुनौती हुँदाहुँदै पनि यसरी आत्मघाती विभाजनको आत्मबल के हो भन्ने कुराको खोज गर्नैपर्ने हुन्छ । वर्तमान परिस्थिति र भर्खरै सम्पन्न उपनिर्वाचनले अशोक राईसहितका नेताहरूलाई अक्सिजन दिएको प्रष्ट छ । उपनिर्वाचन सम्पन्न भए लगत्तै पहिचान पक्षधरले पाएको मतलाई धेरै राजनीतिक विश्लेषकले आगामी दिनमा पहिचानको मुद्दा बलियो हुने र मूलधारका शक्तिलाई समेत विस्थापित गर्नसक्ने अनुमानलाई नै आधार बनाएर यो विभाजनको कदम चालिएको छ । अर्थात् मधेस प्रदेशमा जस्तै कोशीमा पनि पहिचानको मुद्दा उठाएको जसपा नेपालको पक्र बलियो हुने देखिन्छ । तर, अशोक राईसहितको पक्षलाई भने यो कुरा खास पचेको देखिएन । उनले उम्लिँदै परेको पहिचानको मुद्दामा आफ्नो छुट्टै पार्टी बनाएर होमिए । मधेस प्रदेशमा जसपाको जस्तै कोशीमा आफ्नो अस्तित्व बलियो बन्न सकिने काल्पनिक आधारमा रहेर यो कदम चालिएको देखिन्छ ।
विभाजित जसपाको राजनीतिक केन्द्र कोशी प्रदेश नै रहने देखिन्छ । तर, दुःखद कुरा त यो छ कि राईका पछि बाटो बिराएका मधेसी नेताको यो कुरा बुझ्न सकिन्न । राई पक्षका नेताले सरकार परिवर्तन भनी विभाजन गरेको कुरालाई जसपा अध्यक्ष यादवले यो सरकारमा समर्थन कायम रहने अभिव्यक्तिले निराधार रहेको प्रष्ट पारेको छ । बाहिर जे तर्क गरे पनि पनि मधेस आन्दोलनको जगबाट उठेको पहिचानको मुद्दालाई कोशी प्रदेशमा आफ्नो नियन्त्रणमा लिनकै लागि यो कदम चालिएको देखिन्छ ।
जसपा जसरी विभाजन भएको छ, यसलाई केलाउँदा कारण व्यक्तिगत स्वार्थ नै हाबी भएको देखिन्छ । यहाँ एजेन्डा प्राथमिकतामा परेको छैन । यसले एकातिर पहिचान पक्षधरको मतमाथि लात्ति प्रहार गरेको छ भने अर्कोतिर पार्टीहरूमा फुट राजनीतिको मनोविज्ञान पनि विकास गराएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies