कृष्णानन्द भट्ट/मध्यान्ह
काठमाडौं : दक्षिण कोरियाले नेपाललाई दिँदै आएको सहयोगलाई थप वृद्धि गर्दै लैजाने भएको छ । नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्धको ५० वर्ष पुगेको अवसरमा नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताई योङले नेपाललाई उपलब्ध गराउँदै आएको सहयोगमा आगामी दिनमा वृद्धि गर्दै जाने बताए ।
गणतन्त्र कोरियाले नेपाललाई विशेष गरी स्वास्थ्य, शिक्षा, कृषि र सुशासनका क्षेत्रमा सहयोग गर्दै आएको छ । राजदूत पार्कले अन्य मुलुकको तुलनामा कोरियाले नेपाललाई गरेको सहयोग नमूनाको रुपमा रहेको उल्लेख गर्दै सन् २००७ मा नेपालसँग रोजगार अनुमति प्रणाली इपिएस सम्झौता भएदेखि अहिलेसम्म एक लाखभन्दा बढी नेपालीले दक्षिण कोरियामा रोजगारी पाएको बताएका छन् ।
हाल दक्षिण कोरियामा इपिएस प्रणाली अन्तर्गत ४३ हजार नौ सय ६३ नेपालीहरु विभिन्न क्षेत्रमा रोजगारी गर्दै आएको बताए । कोरियामा जन्मदर न्यून भएकोकारण श्रमिकको खाँचो रहेकोे र सोको लागि नेपालबाट श्रमिक कामदार लैजाने प्रक्रियाअन्तर्गत आगामी दिनमा अझ वृद्धि गर्दै जाने लक्ष्य रहेको राजदूत पार्कले बताए ।
दक्षिण कोरियाको उत्पादनमूलक, कृषि, पानीजहाज लगायत क्षेत्रमा नेपाली श्रमिक कार्यरत छन् । आगामी वर्ष दक्षिण कोरियाले वन्यजन्तु र वन क्षेत्रमा समेत नेपाली श्रमिक लैजाने योजना रहेको राजदूत पार्कले बताए। दक्षिण कोरियाले १६ देशबाट वार्षिक एक लाख श्रमिक माग गर्दै आएको छ । जसमध्ये नेपाल पहिलो स्थानमा छ ।
सोही अवसरमा कोरिया अन्तर्राष्ट्रिय सहयोग एजेन्सी कोइकाको नेपाल प्रमुख मोहन कोङले नेपालको विकास निर्माणमा कोइकाले गर्दै आएको सहयोगबारे जानकारी गराउँदै उनले नेपालको शिक्षा, स्वास्थ्य, कृषि, सुशासन, उद्यमशीलता लगायतको क्षेत्रमा सहयोग गर्दै बताए ।
कोइकाले गरिबी निवारण, दिगो विकास लक्ष्य हासिल गर्ने उद्देश्य राखेको छ । कोइका अन्तर्गतको ‘के हामी’ परियोजनाका अधिकृत किम दोअले कोरियाबाट फर्केका नेपाली कामदारलाई नेपालमा स्वरोजगार बनाउन सञ्चालन गरिएको उद्यमशीलताको विषयमा जानकारी गराएका थिए । सन् १९९१ मा स्थापना भएको कोइकाले अहिले ४७ देशमा विभिन्न क्षेत्रमा काम गर्दै आएको छ । नेपाल र गणतन्त्र कोरियाबीच सन् १९७४ मे १५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies